मठ मन्दिरमा दान गर्न भने पछि मानिसहरु खासै पछि पर्दैनन् । वीरगन्जको अलखिया मठ मन्दिरमा दान गर्नेहरुको संख्या पनि घट्दो छैन । तर पन्जाब बस्ने भैरो गिरीले विक्रम सम्बत १९७३ सालमा वीरगन्जमा स्थापना गराएको अलखिया मठको भौतिक सम्पति माथि आँखा गाड्नेको पनि अझै कमी रहेनछ भन्ने खुलेको छ । मठको नाममा रहेको जग्गा हडप्ने काममा केही तल्लिन देखिएका छन् । त्यस्ता व्यक्तिहरुको कारण मठको दानपेटीमा दान गर्ने दानवीर बढे पनि मठको जग्गामा ¥याल काड्नेको कमी रहेन छ भन्ने खुलेको हो । मठकै जग्गा आफ्नो नाममा गराउन सर्वोच्च सम्मको लडाई लड्नु परेको मठ सञ्चालक समितिको भनाइले यसको पुष्टि गरेको छ ।
अलखिया मठको स्वामित्वमा रहेको अलखिया मठको नामको साविक वडा नं. ७ को ‘ख’ किता नम्बर ४६ मा ०१५७.८ वर्गमिटर र सोही वडाको ‘क’ किसिमको जग्गा किता नम्बर १६० को ००१६०.४ वर्गमिटर र यस्तै अलखियामठ काली मन्दीरको नाममा वडा नम्बर ७ कै ‘ख’ किसिमको जग्गाको किता नम्बर ४३ मा ००५५०.२० र किता नम्बर ४४ को ०००४२.६ वर्गमिटर क्षेत्रफल जग्गा मठको स्वामित्वमा रहेको खुल्द छ । पर्सा जिल्लाको साविकको गाविस विरुवागुठीमा शिवचरण गिरिको नाममा रहेको वडा नम्बर १ ‘क’ को किता नम्बर ९६ को २ विगहा ४ का १० धुरको जग्गा र मधुवन मथवल वडा नम्बर ५ मा भैरेश्वर महादेवको नाममा रहेको किता नम्बर ७२ को ४ विगहा ३ का ९ धुर र किता नम्बर ७३ को १ विग्हा ७ धुरको जग्गा र यस्तै पचरुखी वडा नम्बर ९ को अलखिया बाबाको नाममा रहेको किता नम्बर ४४ को १ विगहा र किता नम्बर ७२ को १५ काको जग्गा समेत अलखिया मठ वीरगंजको स्वामित्वमा रहेको तथ्याँकले देखाउँछ । तर ती जग्गाहरु मध्ये वीरगंज अलखिया मठको नाममा रहेको जग्गाबाट अतिथि सदनदेखि पुर्वपट्टिको पौने ६ धुरको जग्गा आफ्नो नाममा पार्न सुनिल मुनी शाक्यले वार लगाएर हडपेका छन् ।
आजभन्दा १५ वर्ष अगाडी सञ्चालक समितिसँग जग्गाको भाडा दिने गरी लिएको जग्गा अहिले आफ्नो भन्दै उनले बार लगाएर मुद्दा लडिरहेको संचालक समितिले बताएको छ । उनले आफ्नो जग्गा भएको भन्दै जिल्ला अदालत पर्सा र पुनरावेदन अदालत हेटौंडाबाट समेत अलखिया मठ सञ्चालक समितिसँग हारेको समितिको भनाइ छ । हार लगतै उनले सञ्चालक समितिलाई २५ लाख रुपैयाँ प्रलोभन दिएर मिलाउन खोजेकोमा उनी असफल भएको सञ्चालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठले बताए । यता कुरा नमिलेपछि उनले सर्वोच्चमा मुद्दा दिएर पहँुचको बलमा मुद्दालाई मुल्तबीमा राख्न समेत सफल भएका थिए । हाल ति मुद्दा सुनवाई हुने प्रक्रियामा रहेको अलखिया मठ सञ्चालक समितिले जनाएको छ । सर्वोच्च सम्म पुगेको मुद्दालाई स्थानीयले समेत साथ दिनुपर्ने समितिको भनाई रहेको छ ।
अलखिया मठको स्वामित्वमा रहेको जग्गाको भरपर्दो सरकारी कागजात केही समय अगाडी मात्रै फेला परेको सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले बताए । उनले भने, १९८३ सालको उक्त कागजातमा प्रष्ट रुपले जग्गाको स्वामित्व अलखिया मठको हुने र यस जग्गामा पंजाब बस्ने भैरो गिरीले आफनो खर्चमा अतिकला जङ्ग र बिजुली बति नहुँदै बसालेको भनिएको छ । उक्तिबेला मठलाई शुरुवातमा भैरव गिरी, शिवचन्द्र गिरी लगायत महन्तले आरती, पुजा, पाठ गर्दै आएको भनिएको छ । यसपछि मनिराज गिरी र वहाँपछी हाल महन्त अशोक पुरीले आरती, पुजा पाठ गर्दै आएका छन् ।
उक्त सरकारी कागजात अनुसार विरुवागुठीको किता नम्बर ९६ को २ विग्हा ४ का १० धुर जग्गा गुठिले बेचेको पाइएको छ । २०६८ साल साउन १५ गते उक्त जग्गा प्रतिका २ हजार ६ सय २५ रुपैयाँका दरले खहरु दास थारुका श्रीमति भंगिया थरुनीलाई बेचिएको पाइएको सञ्चालक समितिको भनाइ छ । जग्गा बेचिएको बेला मठको सञ्चालक समितिमा उत्तिबेला लक्ष्मण डंगोल अध्यक्ष रहेको देखिन्छ । हाल उनी दिवंगत भएकाले जग्गा के कसरी गुठि संस्थानले बेचेको भन्ने श्रोत पता नलागेको सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको तर्क छ ।
दानविर बढे
अलखिया मठलाई साउनमा बर्षेनी गरिने रंङ्ग रोगन, विजुली बती, लाइटिङ्ग, झालरबती र सरसफाईले दानविर बढेको देखिन्छ । महिनाको ४ देखि ७ हजार मात्रै हुने दानपेटीमा हाल यो महिनामा मात्रै १० हजार रुपैयाँ कटिसकेको छ । साउन महिनामा महिला तथा पुरुषले समेत भगवान शिवको व्रत लिने हुदाँ दर्शनार्थी बढेसँगै दानपेटीमा दानको रकम समेत बढेको समिमितको भनाइ छ ।
सटर भाडा न्यून, अलख सदनले आयश्रोत बढ्यो
मठको आय श्रोतबाट आर्थिक वर्ष २०७४/०७५ देखि मन्दिरको पछाडीपट्टि अलख अतिथि सदन सञ्चालनमा आएको छ । पुर्व सभासद राजेन्द्र बहादुर अमात्यको १० लाख रुपैयाँको संसदीय कोषको रकम र अलखिया मठ सञ्चालक समितिमा आएको सहयोग, चन्दा, मठको सटर र खेतको कुतबालीको रकमबाट अतिथि सदन निर्माण गरिएको छ । वीरगंजमै सर्वशुलभ ११ हजार रुपैयाँ मात्रै भाडा दर राखेर सञ्चालनमा आएको सदनले वर्षेनी एक लाख बढी आम्दानी गर्ने गरेको छ ।
यसैगरी मठको सटरबाट प्रति महिना ९० हजार रुपैयाँ र खेतको कुतबाट बर्षेनी ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ । दानपेटीबाट समेत समयानुसार ५ देखी १० हजार सम्म महिनाको आम्दानी हुने गरेको छ । विभिन्न समयमा हुने रंग रोगन, श्रीगार, खर्च र व्यवस्थापनमा खर्च गरेर बर्षेनी ५ लाख रुपैयाँ मठको आम्दानी हुने गरेको अलखिया मठ सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले बताए ।