वीरगंज महानगरपालिका अन्तर्गत रहेका सार्वजनिक सम्पतिहरु वेवारिसे अवस्स्थामा रहेका छन् ।
वीरगंजको पहिचानको रुपमा रहेको घडिअर्वा पोखरी, स्वीमिङ्ग पुल, भिष्वा, शंकरचार्य द्वार, लक्षुमनवा पार्क, नारायणी रंगशाला, आदर्शनगर रंगशाला लगायतका सार्वजनिक सम्पतिहरु यतिवेला वेवारिसे अवस्थामा रहेका हुन् । मुख्यतयाः पब्लिक पार्टनरसिपका नाममा वीरगन्ज महानगरपालिकाले दिएका सार्वजनिक सम्पतिहरु पनि यतिवेला वेवारिसे अवस्थामा देखिएको महानगरपालिकाले आफै भन्न थालेको छ । तथापि त्यसको उचित हेरचाहमा भने महामनगरको सकृयता भने भएको छैन ।
वेवारिसे अवस्थामा रहेका सार्वजनिक सम्पतिहरु मध्ये वीरगंजको घडिअर्वा पोखरी परिसरमा जडित नेपालकै पहिलो म्यूजिक फाउन्टेन पनि एकको हो । यो विगत ७/८ वर्षदेखि विग्रेर जिर्ण बन्दा समेत सम्बन्धित पक्ष मौन बसेको स्थानीयको भनाइ छ । वि.सं.२०५६ साल पौष १३ गते मंगलबारका दिन तत्कालिन राजा वीरेन्द्र शाहले उद्घाटन गरेको घडिअर्वा पोखरी वीरगंजको एक पर्यटकीय स्थल हो । पर्यटक लोभ्याउने फाउन्टेन, पोखरीमा चल्ने डुङ्गाहरु पनि अहिले विग्रेर नचल्ने अवस्थामा पुगेकाले आन्तरिक तथा बाह्य पर्यटकहरु पहिले जस्तो घडिअर्वा पोखरी परिषरमा जान छोडेको वीरगंज महानगरपालिका वडा नम्बर १० का सुगेश कर्णले बताए । आफूले पहिलो पटक भारतका केही साथीहरुलाई पोखरी घुमाउन ल्याएका थियौँ । तर पोखरीमा रहेको फाउन्टेन नचलेर नरमाईलो लागेको उनले बताए । ‘वीरगंजको पर्यटकीय स्थल घडिअर्वा घुमाऊ मानिसलाई आकर्षित गर्ने न त, पोखरीको ढुङ्गा चल्छ न त, म्यूजिक फउन्टेन’ नै चलेको छ उनले भने । घडिअर्वा पोखरी छठ पर्वकै पूजाका लागि लक्ष्य गरी निर्माण गरिएकाले बर्षेनी छठका बेला यसको चर्चा हुने गर्दछ । तर अन्य दिनमा समेत महानगरमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यसले लोभ्याइरहेका हुन्छन् । तर महानगरपालिकाको स्वयम् उदासिनताका कारण अहिले घडिअर्वा पोखरी जिर्ण र जर्जर अवस्थामा पुगेको छ ।
पोखरी भित्र रहेको सूर्यमन्दिर र गंगा माताको मूर्ति समेत जिर्ण अवस्थामा पुग्दा पनि महानगरपालिका र ठेक्का लिएका ठेक्केदारको ध्यान पुग्न नसकेको स्थानीयले गुनासो गरे । औद्योगिक नगरीका रुपमा परिचित यस शहरमा पर्याप्त पर्यटकीय स्थल र पार्क नभएको भने होइन । तर अधिकांशको रोजाईमा घडिअर्वा पोखरी पर्ने गर्दछ । शनिबार सार्वजनिक विदा होस् या साझको समय स्थानीयहरुलाई समय विताउने राम्रो थलोको रुपमा रहेको पोखरी अहिले आफै दयनीय अवस्थामा पुगेको उनीहरुको तर्क छ ।
मुलुककै पहिलो म्युजिकल फाउन्टेनको रुपमा उक्तिबेला देशभित्र र बाहिर समेत चर्चा कमाएको घडिअर्वाको म्यूजिक फाउन्टेन हेर्न आउने आगन्तुक पर्यटकहरुको पहिलो रोजाई ७/८ वर्षदेखि हेर्ने अवस्थामा छैन । फाउन्टेनको रंगिन पानी त परै जाओस् पोखरीको पानीमा देखिने बत्तिको छायाँले बनाउने आकषर्क दृश्य पनि आगन्तुकले अब देख्न पाएका छैनन् ।
यता, २०७३ साल भदौँ २२ गते ठेक्कामा लिएको दिपु कलवारले पोखरीभित्र हालसम्म पोखरी स्थलको शौचालय, शौर्यबती, क्यान्टिन र पोखरीस्थलको दृष्य अकर्षक बनाएको दाबी गरे । उनले भने, मैले ठेक्का लिएको बखत शौचालय जिर्ण अवस्थामा र प्रयोग गर्न नसक्ने अवस्थाबाट अहिले आधुनिक अवस्थामा ल्याएको उनले तर्क गरे । पोखरीस्थललाई आकर्षण बनाउन आफ्नै खर्चमा सोलारबती समेत जडान गराएका छौँ । रह्यो कुरा म्युजिक फाउण्टेनको त्यसका लागी हामीले दशैं अगाडी सञ्चालनमा ल्याउने गरी काम थालेको उनले बताए । म्यूजिक फाउण्टेन भित्रको आधुनिक बति र साउण्ड बिग्रेकाले हामीले प्राविधिकसंग सम्झौता गरे अनुसार दशंै अगावै सञ्चालनमा ल्याईसक्ने उनले दाबी गरे ।
यता महानगरपालिका मेयर विजय सरावगीले हामी आउनुभन्दा पहिला गरेको ठेक्का भएकाले हामीले नगरसभाको निर्णय कार्यन्वयनमा लागेकाले यतातर्फ कडाई गर्न नसकेको बताए । उनले भने, हामीले सम्पति व्यवस्थापन गर्न लागेकाले महानगरपालिका भित्र रहेको सार्वजनिक स्थलहरु अहिले बहसको विषय बनेको छ । करारमा गरिएको सम्झौता अनुसार काम नभएको सन्दर्भमा हामीले कार्वाहीको दायरामा ल्याउन लागिएको समेत उनले बताए । महानगरपालिकाले हाल स्वीमिङ्ग पुल र नगरसभागृहलाई कार्वाहीका लागी पत्र पठाएको बताउँदै उनले छिटै नै घडिअर्वा पोखरीलाई समेत अनुगमन गरेर काम नभएको अवस्थामा कार्वाहीको दायरामा ल्याउने दावी गरे । २०६७ साल माघ १ देखि यो परिसर पोखरी निजी क्षेत्रलाई सञ्चालन गर्न साविकको वीरगन्ज उपमहानगरपालिकाले दिएको थियो । ठेक्का सम्झौताअनुसार, ठेक्का अवधिभर पार्कको भौतिक संरक्षण र मर्मत सम्भार ठेकेदार पक्षले नै गर्नुपर्ने शर्त थियो । तर सो अनुसार काम नभएको भन्दै स्थानीयवासिन्दाहरु भने रुष्ट बनेका छन् ।