देशकै आर्थिक राजधानीको उपमा पाएको वीरगंज महानगर । सुन्दर सफा हराभरा व्यवस्थित होस भन्ने चाहाना हरेक वीरगंज बासीको छ । तर यो चाहना यथार्थमा नभइ सपनामै सिमित छ । चाहनालाइ यथार्थमा परिणत गर्न कर्म गर्नु अपरिहार्य छ ।
वीरगंजलाइ व्यवस्थित शहर बनाउन मुख्य भुमिका वीरगंज महानगरपालिकाको र त्यसपछी यहाँका आम सर्वसाधारण, राजनीतिक दल, नागरिक संघ संस्था एवं स्थानिय प्रहरी प्रशासन समेत सबैको हो । तर यी कुनै पनि निकायले अपेक्षित भूभिका बहन गरेको वा गर्न सकेको देखिदैन । कथनी र करनीमा फरक छ । जब सम्म सरोकारवाला सबै पक्षले सकारात्मक सहकार्यका साथ काम गर्दैनन, तव सम्म व्यवस्थित वीरगंज बन्न सक्दैन । व्यवस्थित सफा सुन्दर हराभरा वीरगंजका लागी ठुलो धनराशीको आवश्यक्ता भन्दा पनी इच्छाशक्तीको अभाव प्रष्टै देखिन्छ ।
भारतको रक्सौलबाट प्रवेश गर्ने वीरगंज वित्तिकै श्रीसिया नदीको दुबै साइडमा देखिने फोहरै फोहरको थुप्रोले वीरगंजको प्रतिको दृष्टिकोणनै नराम्रो बनाइदिन्छ । नेपाल प्रवेशद्धारको रुपमा रहेको शंकराचार्य गेटमा लगाइएका वत्तिहरु विग्रिइसकेका छन् । त्यहाँ लगाइएको स्टिलको रेलिङ सरसफाइ अभावका कारण खिया लागीसकेको भने बोट विरुवाहरु संरक्षणका अभावमा मरिसकेका छन् । त्यस भन्दा अगाड बढेपछी घामलाग्दा चौविसै घन्टा धुलो र पानी पर्दा हिलाम्य रहने भन्सार यरिया देखेर अझ बढी दिक्क लाग्छ । अनी भन्सार देखी गण्डक सम्मनै सडकको दुबै तर्फ वेग्रल्ती खडा भएका ट्रक लरी टिपर बस इत्यादी । लाग्छ यो सडक नै स्थायी पार्कीङ हो । त्यतीमात्र कहाँ हो बसपार्क देखी गण्डक सम्म रहेका बस ट्रक इत्यादी मर्मम गर्ने बेढङगी शौचालय विहिन ग्यारेज र ति ग्यारेजहरु अगाडी सडकमानै छरपस्ट रुपमा राखीएका विग्रिएका सवारी साधन खडा गरेर मर्मत गरीरहेको दृश्य, त्यतिमात्र कहाँहोर कतिपय व्यवसायिक गोदाम अगाडी सडक मालवाहक गाडी रोकेर मालसमान लोड अनलोड गरिरहको दृश्य, हेर्दानै अत्यास लाग्ने । अझ निमार्ण सामाग्री (बालुवा गट्टी इट्टा माटो) सडकमा पोख्दै झार्दै तिव्र गतिमा कुदने ढुवानीका साधनहरु ट्रयाक्टर र टिपरहरुको त कुरै नगरौ, लाग्छ वीरगंजको सम्पुर्ण सडक उनिहरुकै मात्र हो ।
त्यसै गरी वीरगंजको प्रवेशद्धार शंकराचार्य गेट देखी गण्डक सम्मै स्थानिय माछा मासु व्यवसायीहरुले जहाँ जहाँ मन लाग्यो त्यही त्यही त्यही सडकमा कुखुरा खसी काटेर झुन्डाइ विक्री वितरण गर्ने गरेको दृश्यले सारा शहरनै वधशाला हो की जस्तो लाग्छ । त्यो मात्र कहाँ हो र मुख्य वजार देखी भित्री गल्ली जताततै खुलेका सेकुवा पसलहरु जसले सडककै पेटीमा खुल्लमखुल्ला मासु सेकिरहेका देखिन्छन् । त्यसैको धुवाँले वरपर वातवरणनै प्रदुषित भइरहेको हुन्छ । त्यसैगरी ससाना मिठाइ पसल तथा होटलहरु जसको किचेन सडक पेटी नै देखिन्छ । सडक पेटीमा तयार भएका खाजा खानाहरु दिनभर त्यही सडककै पेटीमा खुल्लै रही रहेका हुन्छन । जस्का कारण खाजा खानाको वास्तविक स्वरुप धुलो र माखाले छोपीएको देखिन्छ ।
यतिमात्र कहाँ हो र वीरगंजका किराना पसल हुन वा अन्य पसल सबैले आफनो पसल अगाडीको सडकपेटी अबरुद्ध गरी समान राखेका छन् । अपबाद बाहेक सबैजसो पसलले आफना पसलबाट निस्केन फोहर राख्न डस्टविन राखेका छैनन । उनिहरुका पसलबाट निस्कने फोहर सोझै सडक र सडक किनारामा फाल्दछन् । शहरको जुनसुकै कुनामा गएपनी पलास्टिक यत्रतत्र छरिरहेको देखिन्छ । अटो रिक्सा इ रिक्सा टाँगा जस्ता सवारी साधनको जहाँ मन लाग्यो त्यही रोक्ने र हीडने गर्दछन् । अपबादमा बाहेक वीरगंजको कुनै पनि चोकमा ट्राफिक पुलीसहरु देखिदैन ।
कहिलेकाँही देखिने ट्राफिक प्रहरी पनी सडक छेउमा बसेर रमिता हेरिरहेका देखिन्छन् । छव महिना वर्ष दिन सम्म सडकमै निर्माण सामाग्री राखेर सार्वजनिक आवगमननै अबरुद्ध गरिएका दृश्य पनि अनगिन्ती छन् यी र यस्ता अनेक कारण छन् जसले वीरगंज लाइ गिज्याइरहेका छन् । उपरोक्त समस्या सम्बोधन गर्ने चाहिने आवश्यक कानूनहरु महानगरपालिकाले निर्माण गरिसकेको छ । यि स साना कुराहरु मात्रै पनि सम्बोधन हुने हो भने महानगरको स्वरुपनै परिवर्तन हुन्छ । यसका लागी अलग्गै वजेटको आवश्यकता किमार्थ छैन । खाली जिम्मेवारी पाएको पक्षले आआफनो कर्तव्य इमान्दारी साथ गर्नु मात्र पर्छ । हामीले यस तर्फ गंभिर भएर आत्म समिक्षा गर्न जरुरी छ । नगर प्रमुख वा महानगरपालिकाको कुनै एक शाखाले मात्र चाहेर यी कुराहरु सम्बोधन हुन सक्दैन । सम्बन्धीत वडा अध्यक्षहरुले आफनो वडाभित्र देखिने उपरोक्त समस्या समाधानका लागी काम गर्न अग्रसर हुनैपर्छ । मेरो र तेरोको भावना छोडनै पर्छ ।
कानून विपरित काम गर्ने जो सुकैलाइ पनी कानूको दाएरमा ल्याउने र ल्याउन सहयोग गर्ने गर्नु पर्छ । आज वडा अध्यक्षहरुमाथी खाली बाटो ग्राभेल गर्ने, ढलान गर्ने, माटो भर्ने, नाला बनाउने, धर्मशाला र मन्दीर बनाउने जस्ता योजना ल्याउने र त्यसबाट कमिशन लिने गरेको आरोप छ । हुनत निर्माणका यि सबै काम गर्नै पर्ने हुन्छ । तर यो भन्दा महत्वपुर्ण पक्ष माथी उल्लेख गरिएका काम हुन जसले शहरको मुहार फेर्छ ।
महानगरपालिकाको नगर सभा र महानगरपालिकाले निर्माण गरेको कानूनहरु जस्तै फोहर मैला व्यवस्थापन ऐन २०७५, स्वास्थ सम्बन्धी ऐन २०७५ , वजार व्यवस्थापन कार्य्विधि अक्षरस लागु हुने हो भने माथी चर्चा गरिएका सबै समस्या समाधान हुनेछन् । यसका निम्ती प्रत्येक वडा अध्यक्षले आफनो वडा भित्र आफनै अगुवाइमा महानगरपालिकाका कार्यालयका कर्मचारीको सहयोग लिइ स्थानिय सर्वसाधारण सँग हातेमालो गरी उपरोक्त उल्लेख गरिएका कामहरु लाइ सम्बोधन गर्ने गरी अनुगमन कारवाही सुपरिवेक्षण गर्न अपरहार्य छ । यो काम गर्न दुइचार जना नगरप्रहरी बाहेक न त कुनै छुट्टै जनशक्तीको जरुरी पर्छ न ठुलो धनराशीको ।
केवल खाँचो छ त समन्वय सहकार्य इमान्दारीता लगनशिलता एवं कानून कार्यान्वयन । विगतमा व्यवस्थित वीरगंजका नाममा सचेतना जगाउने गरी भएका कामहरु सकारात्मक हुँदाहुँदै पनी समन्वय र सहकार्यको अभाव एवं सम्बन्धित वडाका जनप्रतिनिधि तथा राजनीतिक दलको पर्याप्त सहयोग नभएकै कारण प्रभावकारी हुन नसकेको तितो अनुभव छ । त्यसैले अब वडा वडा बाट वडा अध्यक्षहरुको नेतृत्वमा स्थानिय कानूनको कार्यान्यवनका निम्ती जोड दिउँ । सबै नगरबासीले सहयोग गरौ । अनि मात्र व्यवस्थित वीरगंजको लक्ष्यमा हामी अगाडी बढने छौ ।