अनिता कुँवर उर्फ एनी कुँवर वीरगंजको पत्रकारिता क्षेत्रमा खासै नयाँ नाम होइन । रेडियो वीरगंजको सुरुवातसंगै रेडियो वीरगन्जबाट सुरुवात भएको उनको मिडियाको यात्रा अहिले सम्म अविच्छिन्न छ । वि.सं. २०३५ सालमा नवलपरासीमा साबिकको सुपौलि गा.वि.स मा जन्मिएकी उनी अझै मिडिया क्षेत्रलाई चटक्कै छोड्न सक्ने अवस्था नरहेको बताउँछिन् । स्व.पिता वकिल बहादुर कुँवर र स्व.माता मिरा कुँवरका तीन सन्तानहरु मध्ये एनी सबैभन्दा कान्छी सन्तान हुन् । शिक्षा क्षेत्रमा जोडिएका बुबा र व्यापारिक पृष्ठभूमिकी आमा भएको कारण माध्यमिक शिक्षा प्राप्तिसम्म उनलाई कुनै समस्या आइपरेन । बुबाआमाको राम्रो साथ थियो नै । तर आमा बुवाको देहान्त पछि भने उनको शिक्षाले निरन्तरता पाउन नसकेको एनीले बताइन् । घरायसी कारणले २ दशक पहिला रोजगारीको शिलशिलामा वीरगंज झरेकी कुँवर २०६९ सालमा भने पोखरा निवासी संदिप हमालसंग वैवाहिक बन्धनमा बाधिन पुगेको उनको भनाइ छ । मिडिया तर्फ व्यवसायिक यात्रा भने २०६२ सालदेखि सुरु भएको उनको भनाइ छ । घरका छोरीचेली बाहिर निस्किएर काम गरेको मन नपराउने हाम्रो समाजमा महिला भएर पत्रकारिता गर्नु चुनौति कै विषय हो । विभिन्न चुनौतिका बाबजुद लामो समयदेखि आफूलाई पत्रकार महिलाको रुपमा उभ्याउन सफल उनै एनी कुँवरसंग मध्य नेपालले गरेको बिशेष कुराकानी ः
१) पत्रकारिता पेशामा कसरी प्रवेश गर्नु भयो ?
म सानैदेखि रेडियो प्रेमी थिए । पहिला रेडियो नेपालमा बाल कार्यक्रम आउँथ्यो । रेडियोमा अरुले नै कार्यक्रम प्रस्तुत गरेको सुन्दा मलाई पनि रहर हुन्थ्यो । म पनि एकदिन त्यो स्थानमा पुग्न पाए यसरी नै रेडियोमा बोल्न पाउने थिए । यस्तै कुरा मनमनै सोच्थेँ । बुवा आमाको स्वर्गारोहण पछि म सानीमासंगै बस्नका लागि वीरगंज आए । त्यसताका केही समय मैले अन्तै काम गरे । पछि रेडियो वीरगंजबाट अफर आयो र म रेडियो वीरगंजमा आवद्ध भए । भोजपुरी कार्यक्रमबाट बि.सं. २०६२ सालमा सुरु गरेको पत्रकारिता आज यहाँ सम्म आई पुग्यो ।
२) पत्रकारिता पेशामा महिला पत्रकारकालागि अवसर र चुनौति कत्तिको छ ?
पत्रकारिता सजिलो पेशा भने पक्कै होइन । चुनौतिको सामना नगरी अवसर प्राप्त गर्न सकिदैन । एक त यो क्षेत्रमा महिलाहरुको सहभागिता नै कम छ भने अर्को तिर यहि पेशालाई निरन्तरता दिन नसक्नु पनि चुनौतिको रुपमा छ । त्यसमाथि म नयाँ थिए । पत्रकारिता पेशामा आफूलाई स्थापित गर्न प्रेरणा, हौसला, साथ, सहकार्य संगसंगै चुनौतिहरुको पर्खाल पनि थियो । म एउटा महिला पत्रकार, पत्रकारिता पेशा आफैमा एउटा चुनौतिपूर्ण हो । त्यसमाथि पनि तराई क्षेत्रमा अलि गाह्रै थियो र छ पनि । अहिले जिल्लाका सञ्चार माध्यमहरुमा पुरुष र महिलाको संख्या हेर्ने हो भने पुरुषकै संख्या धेरै देखिन्छ । शारिरीक बनोट लगायत नै महिलाको प्रगतिमा शत्रु जस्तो लाग्छ । महिला पत्रकार पीडित महिलाहरुको आवाज बन्दा बन्दै कतिखेर कहाँ आफै हिंसामा पर्न सक्छ थाहै हुँदैन । तर चुनौति नभई अवसरहरु कहाँ सृजना हुन्छन् र ? अवसरसंगै चुनौति पनि गाँसिएर आएको हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । त्यसैले पत्रकारितामा आवद्ध भइसकेपछि आफू सुरक्षित हुँदै आफु जस्तो सुकै परिस्थितिमा विचल्लित नहुने दरिलो आँट लिएर मात्रै पत्रकारीतामा लाग्ने गर्नु पर्छ । यसो भए अवसरका ढोकाहरु आफै खुल्दै जान्छन् भन्ने लाग्छ ।
३) पत्रकार महिला र पुरुष बराबर क्षमता भएता पनि कुनै सभा समारोहमा पुरुषलाई मात्रै स्थान दिईन्छ किन ?
जति सुकै अनुभवी र क्षमतावान भए पनि पुरुषको तुलनामा पत्रकार महिला कमजोर हुन्छन् भन्ने मानसिकताले जरो गाडेको छ समाजमा । जति सुकै उल्लेखनयि काम गरे पनि महिलाहरुको क्षमतामा प्रश्न उठाइन्छ । आवाज बिहिनहरुको आवाज बनी आफ्नो कार्यमा सफल भए पनि महिला पत्रकारहरु प्रतिको विश्वासको डोरी अझै बलियो हुन सकेको छैन । अझैसम्म पनि कतिपय व्यतिm र संस्थाले महिला पत्रकारलाई पत्रकार नै स्वीर्कान नसकेको अवस्था रहेको जस्तो लाग्छ । त्यसैले पनि महिलाहरुको लागि भन्दा बढी पुरुषहरुको लागि स्थान प्राप्त भएको हुनसक्छ ।
४) पत्रकारिता छोडेर साइड बिजनेस गर्ने योजना बनाउनु भएको छ की ?
साचो अर्थमा भन्नु पर्दा पत्रकारिताको लत नशालु पदार्थ खाए जतिकै रहेछ । एकचोटी खाने बानी लागे पछि छुट्दै नछुट्ने । एक पटक पत्रकारिता गरिसकेपछि पत्रकारिता पेशालाई त्यागेर अन्य व्यवसाय गर्ने कुरा सोच्न सम्म पनि गाह्रो हुँदो रहेछ । यसमा अन्य पेशामा जस्तो आर्थिक उपलब्धता छैन । तर पनि यो पेशा छाड्न नसकी यतिका बर्ष बसिएको छ । अहिले सम्म अर्को पेशा वा व्यवसायको सोच बनाएको छैन ।
५) नेपाल पत्रकार महासंघ र सरकारले कस्तो नीति ल्याउँदा महिला पत्रकारहरुलाई सहज हुन्छ ?
पहिलाभन्दा अहिले पत्रकार महिलाहरुको संख्यामा वृद्धि भएको छ । यो उत्साहको कुरा हो । तर पत्रकारिता पेशामा प्रवेश गर्दा पत्रकार महिलाहरु जुन जोश, जाँगर र उत्साहका साथ आउँछन् । काम गरेको वर्ष दिन नपुग्दै पलायन हुन्छन् वा पेशा परिवर्तन गर्छन् । यो रहर होइन बाध्यता हो । किनकी उनीहरुले अवसर पाउँदैनन् । यहाँ भखैरै पत्रकारितामा लागेको पुरुष र ७ / ८ वर्षदेखि निरन्तर रुपमा पत्रकारिता गरिरहेकी पत्रकार महिला बिच तुलना गरिन्छ । एक त पारिश्रमिक कम, त्यसमाथि पत्रकार महिलाहरुको अनुभवको कदर नै हुदैन । समयमा पारिश्रमिक पाइदैन । त्यसैले पेशागत क्षमता र दक्षताको आधारमा पत्रकार महिलालाई अवसर दिने र सञ्चारगृह महिला मैत्री बनाउने, श्रमको कदर र उचित पारिश्रमिकको व्यवस्था, साथै पत्रकारिता सम्बन्धी विभिन्न तालिम लगायतको व्यवस्था भने गर्नुपर्ने देखिन्छ । यो कुरामा नेपाल पत्रकार महासंघ र राज्यले सहकार्य गरी काम गर्न सके पत्रकारिता क्षेत्रमा महिलाको उल्लेखनिय सहभागिता र निरनतरता हुन सक्छ ।
६) पत्रकारितामा आउन चाहने नयाँ महिला पुस्तालाई के सुझाव दिनु हुन्छ ?
पत्रकारिता एकदमै संम्वेदनशिल र शक्तिशाली पेशा हो । यसको शक्तिको सदुपयोग र दुरुपयोग कसको पक्षमा प्रयोग गर्ने भन्ने कुरा एक पत्रकारको कलम र बोलिमा निर्भर हुन्छ । पत्रकारितामा आएका वा आउँन चाहाने हरेकले यसको मर्मलाई बुझेर आउँनु पर्छ । यदि तपाई मिडिया खोज्दै आउनु भयो भने तपाईले गरेको श्रमको उचित मूल्य कहिल्यै पाउनु हुन्न । त्यसैले तपाईलाई मिडियाले खोज्ने वातावरण बनाएर आउँनु होस् । लहैलहै र रहरमा भन्दा पनि पत्रकार र पत्रकारिताको मूल अर्थ र मर्मलाई बुझेर मात्र आउनु होस् ।