भ्रष्टाचारको तौर तरिका अहिले पूरै फेरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि अहिले सोही भ्रष्टाचारलाई नियन्त्रण गर्न फेरिदो शैलीलाई पिछा गरिरेहेको छ ।
असार मसान्त सकिए लगतै भ्रष्टाचार विरुद्ध आएका उजुरीहरु छानविन गर्न अहिले अख्तियारलाई भ्याइ नभ्याई छ । बारा, पर्सा, रौतहट भ्रष्टाचारको अखडा बन्न लागेको गुनासोसंग अख्तियार आफैले चनाखो भएर काम गर्न थालेको छ । पर्साको पनि काम कार्वाहीहरु नियालिरहेको अख्तियारले ११ वटा जिल्ला हेर्दै आएको हेटौँडा स्थित कार्यालयले तीनवटा जिल्लाका लागी मात्रै छुट्टै कार्यालय नै स्थापना गरी छानविन गर्नुपर्ने परिस्थिति बनेको अख्तियारको भनाइ छ । भ्रष्टाचार संगसंगै अख्तियारको छानविन र अख्तियारलाई समेत औँला ठड्याउने बारे मध्य नेपाल सन्देशले अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय हेटौँडामा पुगेर अख्तियारका प्रवक्तासंग शिवराज रेग्मी (प्रवक्ता) गरेको विशेष कुराकानी :-
१) अषारे बजेट भर्खरै सकियो, यो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसरी नियाली रहेको छ ?
आयोगको कार्यालय हेटौँडाले आफना काम कार्वाहीहरु नियमित रुपमा नै बढाउँदै आएको छ । मुलतः अयोगले निरोधात्मक, प्रवर्धनात्मक र दण्डनात्मक रणनीति अन्तरगत रहेर आफना काम कार्वाहीहरु गर्ने देखि हामी माझ आएका गुनासोहरु सुन्ने र त्यसै अनुरुप तहकिकात र कार्वाहीका कामहरु गर्दै आएका छौँ ।
२) यहाँहरुको कार्यालयले ११ वटा जिल्ला हेर्दे छ । तर बारा, पर्सा र रौतहटको कुरा गर्ने हो भने, यहाँहरुको चासो बढि यी जिल्लाहरुमा छ, किन ?
कोहि पनि त्रासमा रहनु पर्ने अवस्था छैन । संविधानले दिएको संवैधानिक दायित्व अन्तरर्गत सार्वजनिक पद धारण गरेका पदाधिकारीहरुले गरेका अनियमिता, भ्रष्टाचारजन्य उजुरीहरुका सम्बन्धमा अनुसन्धान र तहकिकात गर्ने लगायतका जिम्मेवारी आयोगलाई प्राप्त भए अनुरुप आयोगका सातवटै प्रदेशमा कार्यालयहरु छन् । त्यहि अनुरुप प्रदेश ३ को कार्यालय हेटौँडामा छ । सोही अन्तरर्गत पर्ने बारा, पर्सा रौतहट जिल्ला समेत छन् । सोही अन्तरर्गत भ्रष्टाचार तथा अनियमितताको गुनासाहरु हामीले बुझ्ने गरेका छौँ । असल नियतका साथ सहि काम गर्ने कोही पनि व्यक्ति संविधानले दिएको अधिकार र निति नियम भित्र रहेर काम गर्छ भने त्यसलाई त्रासमा रहनुपर्ने अवस्था छैन ।
३) भर्खरै असार मसान्त सकियो, कस्ता खालका गुनासाहरु आयोगसम्म पुगेका छन् ?
अहिले प्रायः कामै नगरी कागज मिलाएर गर्ने कामहरुको गुनासो, उजुरीहरु आएको छ । अनियमित रुपमा काम गर्ने जसरी भए पनि कागज मिलाएर भ्रष्टाचार अनियमितता गरेर काम गर्ने जस्ता गुनासाहरु बढी मात्रामा आएको देखिन्छ । पहिलेभन्दा अहिले असार मसान्तमा स्वभाविक रुपमा उजुरीको संख्या बढेको हो । सहि अर्थमा हाम्रा प्रायः कर्मचारीहरु पनि बढि फिल्डमा खटिनु भएको छ ।
४) त्यसो हो भने असार मसान्तमा भ्रष्टाचार रोक्न अख्तियारलाई भ्याई नभ्याई भएको हो ?
हैन हाम्रो सधैको काम यहि हो । पक्कै पनि हामी सदैव सक्रिय छौँ । तर असार मसान्तमा सर्व सधारणहरुले बढी मात्रामा गुनासो गर्ने गरेको हामीलाई महशुस भएको हो ।
५) यस कार्यालयले हालसम्म कति उजुरीको अनुसन्धान गरेको छ ?
हामी कहाँ आएको उजुरी मध्ये करिब ६५ प्रतिशत उजुरी फर्छौट गरेका छौँ । जेठ मसान्तसम्म १ हजार ४४ वटा उजुरी परेको मध्ये ६४९ वटा फर्छौट भएर ३९५ वटा अनुसन्धान भईरहेको छ । अहिले असार मसान्तमा थप उजुरीहरु आएका छन् त्यो अनुसन्धानकै क्रममै छ । हामीबाट प्रारम्भिक उजुरीको अनुसन्धानबाट अनियमितता र भ्रष्टाचार भएको आशंका भएको अवस्थामा मात्रै विस्तृत अनुसन्धानको लागी जाने गर्दछ । हामीले १३० वटा जति फाईलहरु विस्तृत अनुसन्धानको लागी गएकोमा यस कार्यालयबाट १०५ वटा उजुरीहरुमा विस्तृत अनुसन्धान अनुसन्धान भइसकेकोे छ । २५ वटा फछ्र्यौट भएका छन् भने बाँकी समेत हुने क्रममा रहेको देखिन्छ ।
गत आर्थिक वर्षको हकमा ६ सय ७९ वटा उजुरी परेकोमा ४ सयवटा फछ्र्यौट भएको छ अर्थात ५९ प्रतिशत फछ्र्यौट भएको थियो भने, गतवर्ष वर्दिवास आयोगको कार्यालय हेर्ने कार्यालय समेत यही कार्यालय माफर्त रहेको अवस्थामा २ सय ५९ वटा उजुरी अलग्ग छुट्याएर अनुसन्धानको काम अगाडी बढाइएको छ ।
६) उजुरीको अनुसन्धान ढिलाई हुनुमा मुख्य कारण के होला ?
खासमा हामीसंग भएको स्रोत साधन र जनशक्तिबाट गर्न प्रयत्न छौँ र गरेका पनि छौँ । तर कतिपय अवस्थामा हामीले जोसंग विवरण सूचना मागेका हुन्छौँ । समयमा न आउनेले गर्दा ढिलाई हुने गरेको छ ।
७) बारा, पर्सा, रौतहट, हेटौँडा, मकवानपुर लगायत यहाँको क्षेत्र अधिकार भित्रमा कस्ता खालका उजुरीहरु आउने गरेको छ ?
विभिन्न सेवा प्रवाहमा गुनासोदेखि लिएर विकास निर्माण, नाला, सडक लगायतमा गुणस्तरीय काम नगरेको, कामै नगरी हिनामिना गरेको, कागज मिलाएर मात्रै हिनामिना गरेको भन्ने खालका उजुरीहरु बढि आउने गरेको छ । अझै बारा, पर्सामा नगरपालिका, गाऊँपालिका, वडा महानगरपालिकाबाट समेतबाट हुने विकास निर्माणका कामहरुमा उपभोक्ता समितिमा आफ्नो मान्छे राखेर भ्रष्टाचार गरेको भन्ने खालको उजुरीहरु बढी आउने गरेको छ । हामीलाई त लागेको छ, बारा, पर्साका लागी छुट्टै कार्यालय नै खोल्नुपर्ला । अझै अहिले एउटा समान खरिदमा अरुको भ्याट विलबाट काम गरेको पनि देखिन्छ । त्यस सन्दर्भमा समेत हामीले अनुसन्धान अगाडी बढाएका छौँ ।
८) अख्तियारले समय समयमा स्ट्रिङ्ग अपरेसन समेत गर्ने गरेको सुनिन्छ यो भनेको चाँही के हो ?
खासमा यो भनेको सार्वजनिक पद धारण गरेका कर्मचारीले नियमित रुपमा हुनु पर्ने कामहरु बाधा पारी पैसा खाने नियतले काम कार्वाहीमा बाधा पु¥याइरहेको अवस्थामा हामीले रंगे हात पक्राउ गरी विशेष अदालतमा मुद्दा चलाउने गर्छौ । यसवर्ष हामीले गत आर्थिक वर्षभन्दा दोब्बर स्ट्रिङ्ग अपरेशन गरेका छौँ । गतवर्ष ९ वटा गरिएको स्ट्रिङ्ग अपरेशन यसवर्ष हाल सम्म १८ वटा पुगेको देखिन्छ । कार्यालयको सक्रियता बढेकाले पनि अहिले हतपत तुरुन्तै पैसा लिइनै सक्दैनन् । केही दिन पछि कुर्नु परेको हुन्छ ।
९) अख्तियार माथि पनि सर्वसधारणहरुले औला ठड्याउने गर्छन् नि ? यसमा कति प्रतिशतसम्म सहि छ ?
यसमा आयोगले गरेका उजुरीको अनुसन्धान र तहकिकात गरेर अनियमितता भ्रष्टाचार भएको देखिएमा नियमानुसार विशेष अदालतमा मुद्दा दायर गर्दै आएको छ । अब न्यायिक प्रकृयामा गइसकेपछि सम्मानित अदालतबाट भएका फैसलालाई सबैले मान्नै पर्छ । अब आयोगको तर्फबाट भन्नु पर्दा अनुसन्धानलाई अझै बढी प्रभावकारी बनाएर जानु पर्ने देख्दछु । हाम्रो तर्फबाट अनुसन्धानमा कमी कमजोरी नहोस् भनेर हामी प्रयत्नरत छौ । अब मुद्दा जित्ने हार्नेमा विभिन्न पक्षहरु हुन्छ । त्यसमा मुद्दा वयान दिने पक्ष लगायतका कुराहरु हुन्छ । हाम्रो विचारमा त अधिकांश मुद्दामा त आयोगले सफलता नै पाएको देखिन्छ । सर्वसाधारणको ठम्याइ पनि पूरै सहि होइन ।
१०) आयोगमा उजुरी गर्दा कुन कुन माध्यमबाट उजुरी गर्न सकिन्छ ? यसको प्रावधानहरु के के छ ।
आयोगले सार्वजनिक स्थान, बढी जमघट हुने ठाऊँ, सरकारी कार्यालय लगायतमा होङ्गिग बोर्डहरु लगाएका छौँ । त्यसमा समेत सबै उल्लेख छ । यसका प्रावधानहरु पनि छन् । यससंगै हाम्रो टेलिफोनको हटलाइन १०७, आयोगको ईमेल, फेसबुक र आफै आएर पनी उजुरी गर्न सकिन्छ । उजुरी गर्ने व्यक्तिको नाम, ठेगाना अति गोप्य समेत राख्ने गरी हामीले अनुसन्धान गर्ने गर्छौं ।