भीषण वर्षा र बाढीका कारण प्रदेश नं. २ का जिल्लाहरुमा भएको क्षति बारे जानकारी गराउँदै सहयोग जुटाउने उदेश्यले मुख्यमन्त्री लालबाबु राउत काठमान्डौ पुगी छलफल गरेका छन् ।
मुख्यमन्त्री राउतको सर्वदलिय टोली आज ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनसंग छलफल गरेको छ ।
मन्त्रालयको सभाकक्षमा भएको छलफलमा मुख्यमन्त्री राउतले बाढीबाट भएको क्षति भयावह रहेकोले तत्कालिन र दीर्घकालिन योजना बनाएर तटबन्ध मर्मत तथा निर्माणमा सहयोग गर्न आग्रह गरेका हुन् ।
कटानका कारण नदीको पानि सोझै गाँउमा पसि रहेकोले त्यस्ता ठाँउहरुमा तत्काल मर्मतको काम गर्नु जोड दिएका थिए । हाल मर्मत कार्यका सहयोग गर्न संघीय मन्त्री संग आग्रह गर्दै उनले दीर्घकालिन रुपमा चुरे संरक्षण, चुरेमा भई रहेको अनियन्त्रित बसोवासको नियन्त्रण, नदीहरुमा पक्की तटबन्धको निर्माण सहितको योजना बनाउनु पर्ने कुरा राखेका छन् ।
मुख्यमन्त्री राउतले दीर्घकालिन योजना अनुरुप कार्य नभए मधेश मरुभूमिमा परिणत हुने भएकाले संघीय मन्त्रालयलाई तत्काल यस विषयमा सोच्नु पर्ने आवश्यक रहेको बताएका छन् ।
छलफलमा उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले आवश्यक रकम अर्थमन्त्रालयसंग मांग गरेर तत्काल गर्न सकिने कामहरु अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको मुख्यमन्त्री राउतले बताएका छन् ।
छलफलमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, राजपा संसदीय दलका सचेतक परमेश्वर साह, उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका सचिवका साथै प्राविधिक टोलीको समेत सहभागिता रहेको थियो ।