नेपालमा चुराको प्रचलनको इतिहास हेर्ने हो भने राजा पृथ्वीनारायण शाहसंग जोडिएको देखिन्छ । पुजाको समयमा गोरखकालीलाई चुरा चढाउन पर्ने प्रसंग पृथ्वीनारायणको जीवनीमा पढन पाइन्छ । त्यसको प्रसंग यस्तो छ– राजा पृथ्वी नारायण शाह गोरखकालीकाका भक्त थिए । उनलाई एक दिन गोरखकालीले सपना दिइन् । सपनामा पृथ्बीनारायणलाई कालीले भनिन्–तिम्रो पूजाआजा बाट म प्रशन्नछु । तर तिम्रो पूजाआजा पूर्ण छैन । किन भने मलाई पूजा गर्दा चूरा र धागो चढाउनु पर्दछ । भनेपछि पृथ्बीनारायण शाहले आफ्नो ससुराली भारतको बनारस गएको बेला चार घर चूरा र धागोको ब्यापार गर्ने मुस्लिम समूदायका मानिसहरु ल्याएर गोरखा बजार नजिकै रहेको ताप्ले भन्ने गाउँमा बस्ती बसाली चूरा र धागो उपलब्ध गराएको इतिहास छ ।
यसरी इतिहास पढ्दा त्यती बेला नेपालमा चूराको प्रचलन रहेनछ भन्ने कुरा बुझिन्छ । आधुनिक यूगमा चुरा श्रृङ्गारको रुपमा नारीहरुले लगाउने प्रचलन भएपनि हाम्रो संस्कृति र कुनै पनि धार्मिक ग्रन्थहरुमा हरियो चूरा श्राबर्ण महिनामा लगाउनु पर्ने देखिदैन । हिन्दु धर्म अनुसार श्राबर्ण महिनामा हरियो चुरा र हरियो बस्त्र लगाएर शिबजीको आराधना गरे बिबाहित महिलाहरुले आफ्नो पतिको आयू बढ्ने र अबिबाहित महिलाले आफूले खोजेको जस्तो पति पाईने बिस्वासका साथ ब्रत लिने चलन बढेको छ । संस्कृत, आध्यात्मिक शास्त्रका बिद्धानहरु भन्दछन्– ‘श्राबण भगबान शिबजीको अबतार भएको महिना हो । धार्मिक हिसाबले लिदा पूजाआजामा पहेलो र रातो रंग शुभ मानिन्छ । तर हरियो रंग किन प्रचलनमा आयो । धार्मिक रुपमा हरियो चूराको बर्णन कही कतै छैन । तर हरियो रंगलाई प्राण जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवन शक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ । हरियो रंग मन पराउने मानिसहरु प्रकृतिलाई माया गर्ने खालका हुन्छन् ।
साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । प्राकृतिक रुपमा पनि साउन हरियो नै हुन्छ । वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ साउनमा । गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ । हाम्रो संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन ।
पहाडी जिल्लाका धेरै ठाउँमा भने साउन महिनालाई किसानहरुको कोदो रोप्ने महिनाको रुपमा लिने गर्दछन् । हुनपनि असार र साउन महिना कृषकहरुको वर्षभरिको लागी पुग्ने अन्न उब्जाउन दुःख गर्ने महिना हो । तर खेती किसानी संगै पछिल्लो समय साउन महिनामा महिलाहरुले हरियो पहिरन र चुरापोते लगाउने प्रचलन बढ्दै गएको छ ।
घर देखी शहर बजार सबैतिर साउन सुरु भएसंगै महिलाहरुको गला हरियो पोतेले सजिएको हुन्छ भने हातहरु हरिया चुराले भरिएका हुन्छन् अनि पहिरन पनि हरिया हुन्छन् । विशेष गरी हरियो चुरा, पोते र मेंहन्दीले शहरबजारमा साउनको रौनक दिन्छ भने व्यापार पनि बढाउँछ । साउन महिना शुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । शहरबजारमा आजभोलि हरियो चुरा र लुगा साउन महिनाको विशेष पोशाक जस्तै बनिसकेका छन् ।
वनजंगलदेखि खेतवारीसम्म हरियो हुने साउन महिनामा प्रकृतिको रंङ सँग तालमेल मिलाउने गरी महिलाको पोशाक हरियो देखिन्छ । तर साउनमा हरियो चुरा र मेहन्दी लगाउनुको खासै धामिर्क कारण भएको पाइदैन तरपनि विवाहित हिन्दु महिलाहरु पतिको दिर्घायुको लागी साउन महिनामा हरियो चुरा र हरिया पहिरनहरु लगाउने गर्दछन् ।
हरियो चुरा र पहिरनहरुको खासै धामिर्क महत्व नभए पनि साउनमा प्रकृति र पोशाकको तालमेल चाख लाग्दो देखिन्छ । त्यसो त साउनमा हरियो पोशाककै नाममा चुरा, मेहन्दी र हरिया लुगाको व्यापार पनि अघिल्ला वर्षहरुको तुलनामा बढ्दै गएका छन् । साउन महिनामा महिलाहरुको हरियो चुरा र पोशाक प्रतिको आकर्षण देखेर अहिले बजारमा साउन सुरुहुनु पहिले देखी नै हरिया चुरा र पहिरनहरु सजाएर राख्ने गरेको पाईन्छ ।
विवाहित हुन या अविवाहित, हरिया पहिरनमा सबै युवतीहरुको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवती पनि आर्कषण र रमाईलोको लागी हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गर्दछन् । पछिल्लो समय धेरै सेलिब्रेटीहरुले पनि साउनलाई फेसनको रुपमा लिएका छन् भने मेहेन्दी, चुरा र हरिया पहिरन लगाएर साउनलाई फेसन मय बनाएका छन् ।
विभिन्न कारणले साउन अहिले हरियालीमय बनेको छ । हातमा मेहेन्दी, हरियो चुरा र हरिया पहिरन नलगाइ हिड्ने महिलाहरु विरलै देख्न पाइन्छ ।
वर्षा, प्रेम र झरीको सँगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागी अर्को महित्वको महिना हो । साउन लागेपछि वर्खा सकिएर चाडवाड पनि सुरु हुन्छ । साउन महिनामा हरिया चुराको पहिरन र मेहेन्दी मात्र होईन विवाहित देखि अविवाहित महिलाहरुसम्म सोमवार व्रत वस्ने गर्दछन् ।
विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै र अविवाहित युवतीहरुले राम्रो वरको कामना सहित साउनको सोमवार व्रत बस्ने प्रचलन रहिआएको छ ।
धामिर्क कथन अनुसार साउन महिनामा भगवान् कृष्ण र राधाले रासलीला रचाएको र भगवान शिवको अति प्रिय महिना पनि साउन नै भएको हुनाले भगवान शिवलाई खुसी बनाउन साउन महिनामा शिवको बिशेष पूजा आराधना गर्ने र शिव मन्दिरहरुमा धाउने प्रचलन पनि छ । सौजन्य