प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य भिमा यादवले व्यक्तिगत खर्चबाट आफ्नो ६० औँ जन्मदिनको अवसरमा मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकालाई एक थान कम्प्युटर प्रदान गरेकी छन् । महिलाहरुले मात्र वीरगंजबाट प्रकाशित गरिरहेको मध्य नेपाल सन्देश पत्रिकालाई उनले एक थान कप्यूटर प्रदान गरेकी हुन् । उनले मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्कालाई उनको कार्यालयमा नै पुगी कम्प्यूटर प्रदान गरिन् ।
कम्प्यूटर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य यादवले महिलाहरुको हकहितका लागी जहिले पनि आफूलाई केही गरौं भन्ने सोच भइरहेकोले आफ्नो जन्मदिनको अवसर पारेर मध्य नेपाललाई आफ्नै खर्चबाट कम्पयुटर प्रदान गरेको बताईन् । राजधानी बाहिर नेपालमै महिलाहरुको सक्रियतामा प्रकाशित दोस्रो पत्रिका भएकाले पनि अर्थ अभावमा महिलाहरु पछाडी नपरुन भन्ने उद्देश्यले महिला सञ्चारकर्मीहरुको हौसला बढाउन उप्रेरित भएको उनको तर्क छ ।
कम्प्यूटर वितरण कार्यक्रमका बिशेष अतिथि नेपाल पत्रकार महासंघ २ नम्बर प्रदेशका उपाध्यक्ष केसी लामिछानेले पर्सामा धेरै नेता तथा सभाषद भए पनि पत्रकारहरुको संस्थागत हितको लागि खासै कोही अघि नसरेको समयमा संचारकर्मीहरुको हितमा प्रदेश सभा सदस्य यादवले अनुकरणीय काम गरेको बताए ।
कार्यक्रममा बेटी बचाऊ बेटी पढाऊ अभियान पर्सा जिल्लाकी संयोजक पुष्पा पाण्डे, नेपाल पत्रकार महासंघका सभाषद तुलसी भण्डारी, चेली कृषि सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरे, संस्कृतिका अध्यक्ष आशु सर्राफ, सञ्चारकर्मी सुरेश विडारी, नेहाल खान, निलम पन्त, ईश्वरी श्रेष्ठ, सन्धया पौडेल, शोभा धमला, बलिराम यादव, सबु कडेल खनाल लगायतको उपस्थिति रहेको थियो ।
विगत २ वर्षदेखि महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित हुदैँ आएको पत्रिका तथा अनलाईनले महिलाहरुको हक हित तथा खोज मुलक सामाचारका लागी निरन्तर समसामयिक विषयलाई उजागर गर्दै आइरकेको छ ।