पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले कस्मिरमा दुई देशबीचको लाइन अफ कन्ट्रोल (एलओसी) मिचेर निहत्था नागरिकमाथि आक्रमण गरेको बताएका छन् ।
आइतबार दिउँसो ट्विट गर्दै प्रधानमन्त्री खानले सन् १९८३मा भएको निश्चित परम्परागत हतियारसम्बन्धी सम्झौतामा आफूले गरेका प्रतिवद्धता र अन्तर्राष्ट्रिय मानवीय कानुनको समेत उल्लंघन गरेको आरोप लगाएका छन् ।
उनले भारतको यो आक्रमणलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतराका रूपमा लिनु पर्ने बताएका छन् ।
ट्रम्पले अहिले कस्मिरका बासिन्दाको लामो पीडाको अन्त्य गर्ने बेला आएको उल्लेख गर्दै उनीहरूले आफ्नो अधिकारको प्रयोग गर्न पाउनु पर्ने बताएका छन् ।
‘दक्षिण एसियाको शान्ति र सुरक्षाको बाटो कस्मिर विवादको शान्तिपूर्ण र न्यायीक समाधानले मात्र अघि बढ्छ,’ इमरानले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले कस्मिर मुद्दामा मध्यस्थता गर्न तयार भएको बताउनु भएको छ । त्यस्तो मध्यस्थता गर्ने बेला यही हो ।’
उनले भारतीय पक्षको रवैयाले क्षेत्रीय शान्ति व्यवस्थामा नै खलल पुग्ने बताएका छन् ।
भारत प्रशासित कस्मिरमा केही दिनयता सन्त्रास फैलिएका बेला इमरानको यस्तो भनाइ आएको हो ।
भारत सरकारले कस्मिर पुगेका पर्यटक र अमरनाथ जान लागेका तीर्थयात्रीलाई सूचना (एडभाइजरी) जारी गर्दै जतिसक्दो चाँडो कस्मिर छोड्न भनेको छ ।
शुक्रबार सरकारले एडभाइजरी जारी गरेपछि शनिबार झन्डै १० हजार पर्यटक र तीर्थयात्रीले कस्मिर छोडेका छन् । सरकारी सूचनापछि विमानस्थल र बसपार्कमा कस्मिर छोड्न चाहनेको भीड लागेको छ । जहाजको टिकट महंगो भएको छ । जहाजको टिकट नपाउनेहरूलाई प्रशासनले विशेष बसको व्यवस्था गरेको छ ।
पर्यटकमात्र होइन विद्यार्थी र क्रिकेटरलाई पनि कस्मिर छोड्न भनिएको छ । भारतका अलराउन्डर इरफान पठान कस्मिरमा थिए । उनीसहित क्याम्पमा रहेका १०० जना क्रिकेटर पनि कस्मिर छोड्दैछन् ।
कस्मिरमा पछिल्ला केही दिनयता हजारौं सुरक्षाकर्मी थपिएको छ ।
के हुन लागेको भन्ने अनिश्चितता यति छ कि स्थानीय मानिसहरू दैनिक उपभोग्य सामानको भण्डारण गर्न लागेका छन् । अब एक दुई महिना कस्मिर बन्द हुन्छ भन्ने ठानेर उनीहरू गाडीमा मात्र होइन प्लास्टिकका बोतलमा पनि पेट्रोल भरेर राखिरहेका छन् । किराना पसलदेखि एटिएम कार्डमा लाइन लागेको छ ।
प्रतिपक्षी भारतीय कंग्रेसका स्थानीय नेता गुलाम अलि आजादले बिबिसी हिन्दीसँग कुरा गर्दै अहिले अवस्थाले कार्गिल युद्धको याद दिलाएको बताएका छन् ।
तर यो सब किन भइरहेको छ भन्नेबारे न त स्थानीय सरकारले जानकारी दिएको छ न त नयाँदिल्लीको केन्द्र सरकार नै बोलेको छ ।
भारतीय सञ्चारमाध्यमहरूमा आएका समाचारहरूले पछिल्लो समय भारत-पाकिस्तान सीमामा गोली हानाहान भएको बुझिन्छ ।
आइतबार भारतीय सेनाले सीमानामा मारिएका पाँचदेखि सात जनाको शव लैजान पाकिस्तानलाई भनेको समाचार आएको छ ।
भारतीय व्याख्याअनुसार कस्मिरको केरन क्षेत्रमा पाकिस्तानी बोर्डर एक्सन टिमले आक्रमण गर्न लागेका थिए । भारतले जवाफी कारबाही गर्दा उनीहरू मारिए । उनीहरूको शव अहिले भारततिर भएकाले सेतो झन्डा देखाउँदै आएर शव लैजान भनिएको समाचारमा उल्लेख छ ।
समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले जुलाई ३१ तारिखको राति उक्त कारबाही भएको जनाएको छ ।
पाकिस्तानले भने भारतीय पक्षको ब्याख्यालाई खण्डन गरेको छ ।
पाकिस्ती सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल (एलओसी) पार गरेको र केही शव भारतमा रहेको भन्नु भारतीय प्रोपोगान्डा भएको बताएका छन् ।
पाकिस्तानी सेनाले भारतीय पक्षले जुलाई ३०र ३१ तारिखमा एलओसी पारि आजाद कस्मिरको निलुम उपत्यकामा गोलाबारी गरेको आरोप लगाएको छ ।
भारतको उक्त गोलाबारीमा एक जना चार वर्षीय बालकसहित २ जनाको मृत्यु भएको र ११ जना नागरिक घाइते भएको पाकिस्तानी सेनाको दाबी छ ।
झन्डै छ महिनाअघि कस्मिरमा भारत र पाकिस्तानबीच तनाव बढेको थियो । फेब्रुअरी १४ मा पाकिस्तानको आतंकवादी समूह जैस-ए-मोहम्मदले पुलवामामा आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी ४० भारतीय सैनिकको ज्यान गएको थियो । त्यसपछि भारतले पाकिस्तानो बालाकोटमा हवाइ हमला गरेको थियो ।
आणविक राष्ट्रहरू भारत र पाकिस्तानबीच कस्मिरबारे ७ दशक लामो विवाद जारी छ । यी दुई देशले दुई पटक युद्ध गरिसकेका छन् ।
कस्मिर विवादबारे पाकिस्तानले निरन्तर रूपमा अन्तर्राष्ट्रिय सहयोगको माग उठाइरहेको छ । यो मुद्दा समाधानका लागि अन्तर्राष्ट्रिय मध्यस्थता हुनुपर्ने पाकिस्तानको भनाइ छ । भारतले भने कस्मिर मुद्दा भारत-पाक मुद्दा भएकाले तेस्रो पक्षको संलग्नता अस्वीकार गर्दै आएको छ ।
अघिल्लो महिना भएको इमरानको अमेरिका भ्रमणका क्रममा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कस्मिरबारे मध्यस्थता गर्न तयार रहेको बताएको जानकारी दिएका थिए ।