स्वच्छ वातावरणमा बाँच्न पाउने मानिसको मौलिक हक भनिए पनि उचित रूपमा यसको कार्यान्वयनको अभाव खड्किएको छ । सर्वसाधारणको दृष्टिकोणमा अझै पनि वातावरणको संरक्षण गर्नुपर्छ भन्ने व्यक्तिलाई विकास विरोधी सम्झने र बुझक्कडहरूले पनि वातावरणको कुरा गर्दा विकास विरोधी भइन्छ कि भन्ने मनोरोग व्याप्त छ । यो मानसिकताले गर्दा पनि वातावरण संरक्षण र स्वच्छ वातावरणको विकासमा ठोस कार्य हुन सकेको छैन । प्रदूषकले प्रदूषणको मार खेप्नेलाई उचित क्षतिपूर्ति दिनुपर्छ भन्ने वातावरणीय कानूनको सिद्धान्त प्रति धेरै अनभिज्ञ नै रहेको पाइन्छ ।
वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानि, सार्वजनिक न्याय लगायतका कुराहरूमा विशेष ध्यान दिनु जरुरी छ । वातावरणीय समस्याहरू कम गर्न सम्पूर्ण आम सरोकारवालाहरू पनि जागरुक हुनुपर्छ । प्रदूषित वातावरणले मानव स्वास्थ्य मात्र नभई सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रलाई नराम्रो असर पारिरहेको छ । मानवको समुन्नत भविष्य निर्माण पनि वातावरण संरक्षणसँग जोडिएको छ । त्यसैले संविधानले नै दिएको स्वच्छ वातावरणमा बाँच्न पाउने हकका लागि सम्बन्धित सबैको ध्यान केन्द्रित हुनुपर्छ ।
संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउनु पर्ने मौलिक हकको व्यवस्था गरे अनुसार यसको व्यवस्थापन गर्न सरकारले हालै ‘राष्ट्रिय वातावरण नीति २०७६’ स्वीकृत गरेको छ । वातावरण संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ संसदमा प्रस्तुत गरेको छ ।
पहिलोपटक आएको वातावरण नीति र २२ वर्षपछि ल्याउन लागिएको वातावरण सम्बन्धी ऐनले मुलुकले हाल भोगिरहेको वातावरणीय समस्यालाई सम्बोधन गर्न सक्षम देखिंदैन ।
वातावरणसँग सरोकार राख्ने पक्षहरू, विज्ञहरूसँग राय सुझाव नलिई एकांकी ढंगबाट ल्याइएको नीति वा ऐनको कार्यान्वयन पक्ष निश्चय नै फितलो हुनेछ । सरकारले बिना तयारी र छलफल संसदमा ल्याएका कतिपय विधेयक चर्को विरोधका कारण फिर्ता गर्नु परेको छ । यसमा वातावरण लगायत अन्य कतिपय विधेयक पनि संसदमा प्रस्तुत हुनु अघि सम्बन्धित सरोकारावाला र विज्ञहरूसँग छलफल गरी पर्याप्त गृहकार्य नगरी ल्याइएको भनी स्वयं सत्तारुढ दलका सांसदहरूले पनि संसदीय समिति र अन्य कार्यक्रमहरूमा असन्तुष्टि जनाएका छन् । विधेयकमा राखिएको वातावरण निरीक्षक मनोनित गर्ने विषयमा व्यवस्था निकै अव्यवहारिक देखिएको छ । सरकारले मनोनित गर्ने जुनसुकै व्यक्ति वातावरण निरीक्षक हुन सक्ने व्यवस्थाले वातावरणीय सम्वेदनशीलतालाई व्यवास्था गर्न खोजिएको भान हुन्छ ।
वातावरण क्षेत्रका विज्ञ मात्रै वातावरण निरीक्षक हुनुपर्छ । वातावरण संरक्षण ऐन, २०५३ मा दफा (८) वातावरण निरीक्षकसम्बन्धी व्यवस्थामा प्रदूषण कम गर्ने, हटाउने वा नियन्त्रण गर्ने तथा प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार गर्नु पर्ने कामहरू प्रभावकारी रुपले गर्न गराउन मन्त्रालयले लोक सेवा आयोगबाट निर्धारित प्रकृया पूरा गरी वातावरण निरीक्षकहरू नियुक्त गर्न वा त्यस्तो निरीक्षको काम गर्ने गरी कर्मचारीलाई तोक्न सक्ने व्यवस्था गरेको छ ।
विधेयकको उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि दफा ७ बमोजिम स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन अनुसार गर्नुपर्ने कामहरू प्रभावकारी रुपले भए नभएको सम्बन्धमा र आफ्नो प्रदेश भित्र प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षण सम्बन्धी मापदण्डको परिपालन भए नभएको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्न प्रदेश मन्त्रालयले प्रदेश सरकार अन्र्तगतकोे कुनै अधिकृत कर्मचारीलाई वातावरण निरीक्षकको रुपमा काम गर्ने गरी तोक्न सक्ने उल्लेख छ । यस दफा बमोजिम तोकिने वातावरण निरीक्षकको योग्यता तथा त्यसरी तोक्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने भनी व्यवस्था गरिएको छ ।
वायु प्रदूषणको प्रकोप ठूलाभन्दा पनि साना बालबालिका र बुढापाकामा बढिपरेको देखिन्छ । स्कुल जाने बालबालिकाले मास्कको प्रयोग गरे पनि प्रदूषित हावापानीले उनीहरू शारीरिक तथा मानसिक रूपले कमजोर हुँदै गएका छन् । बढ्दै गएको वातावरणीय समस्याले चाडै नै प्राकृतिक सम्पदाहरू नष्ट हुने वातावरण विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यसरी बढ्दै गइरहेको प्राकृतिक सम्पदाहरूकोे विनाशलाई कम गर्नको लागी वातावरणीय क्षेत्रमा काम गर्ने संघ–संस्था र विज्ञहरू लागि परेका छन् । बढ्दो वातावरण प्रदूषणलाई न्यूनिकरण गर्नका लागि विभिन्न तरिकाहरू प्रयोगमा ल्याउन सकिन्छ । सरकारी तहबाट मात्र नभई स्थानीय तहबाट पनि चेतनामुलक कार्य गर्ने हो भने वातावरण स्वच्छ राख्न सकिन्छ ।
सवारी साधन चलाउँदा पेट्रोल र डिजलबाट चल्नेभन्दा पनि विद्युतीय सवारी साधन प्रयोग गर्दा वायु प्रदूषणलाई रोकथाम गर्न सकिन्छ । त्यस्तै खाना पकाउँदा सुधारिएको चुलोलाई प्रयोगमा ल्याउने हो भने घरको वातावरण स्वच्छ रहन्छ । सडक किनारा तथा घर वरिपरि वृक्षारोपण गर्ने हो भने पनि धेरै हदसम्म प्रदूषण न्यूनिकरण गरेर वातावरण सन्तुलित राख्न सकिन्छ ।
वातावरण जोगाउनका लागी यसलाई हानी पु¥याउने कार्यहरू गर्न सकिन्छ । उदाहरणको लागि बाटोमा फोहोर नजलाउने, घरायसी फोहोर जथाभावी नफाल्ने, प्लाष्टिकको प्रयोग नगर्ने, वन जङ्गल फँडानी कम गर्ने लगायत विभिन्न क्रियाकलापहरूले वातावरण संरक्षणमा मद्दत पु¥याउन सक्छन् । त्यसैले अहिले देखिएको रुख रोप्ने जाँगरलाई निरन्तरता दिँदै वातावरणका अन्य सबाललाई पनि त्यतिकै ध्यान दिन आवश्यक छ । नत्र हामीले कुनै पनि हालतमा वातावरण संरक्षण गर्न सक्दैनौँ । त्यसैले वातावरणका विषय उठान गर्नेहरूलाई विकास विरोधी भन्दै निरुत्साहित गर्नुभन्दा उनीहरूले बोलेका र लेखेका विषयहरू अध्ययन अनुसन्धान गर्दै समाजका हरेक निकायसँग सहकार्य गरेर अगाडी बढ्न सक्नु पर्छ । वर्षको एक पटक दलबल सहित विरुवा रोपेर मिडियामा फोटो छपाएर वातावरण जोगिँदैन । यसका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयनमा जान सक्नु पर्छ ।