प्रत्येक वर्ष झै यस वर्ष पनि वीरगन्जको घण्टाघर चोक देखि मुर्ली चोक हुँदै पावर हाउस चोक पुग्ने पिच सडक , जीर्ण बनेको छ । केहि साता पहिले अविरल परेको वर्षाले पिच सडकको ठाँउ ठाँउमा बनाएको खाल्डा खुल्डीमा पानी जमेर सडक जीर्ण हुँदा मोटरसाईकल ,अटोरिक्सा ,कार जिप लगायतका सवारी सधानहरु गुडाउन समस्या भइरहेको चालकहरुले गुनासो गर्ने गरेका छन् । तीन चार महिना पहिले मात्र टालिएका सडकका खाल्डाखुल्डी, असार अन्तिम साताको वर्षाका कारण फेरि पुरानो अवस्थामा पुगेको हो ।
प्रत्येक वर्ष झै यस वर्ष पनि सडक काम भएको थियो तर सडकको खाल्डा खुल्डी टाल्ने क्रममा ठेकेदारले कमसल काम गरेकाले अहिले फेरि उक्त सडक पुरानै जीर्ण अवस्थामा पुगेको हो । सडक जीर्ण भइ सवारी आवागमनमा असहज भइरहँदा पनि त्यसको मर्मत सम्भारका लागि सम्बन्धित निकायले कुनै चासो नदेखाएको नगरवासीको गुनासो छ । वीरगंज देखि पावरहाउस मुख्य सकडकको यस्तो अवस्था छ भने बाकी सडकको कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।
कतिपय सडकहरु निर्माणका क्रममा छन जसका कारण झन सडकको अवस्था बेहाल छ । सडक मर्मत तथा सम्भारमा सडक डिभिजनका बिभिन्न कार्यालयहरु अरबौ खर्च गर्छन तर यस्तो सडक किन मर्मत हुदैन ? दिनहु त्यही बाटो भएर भिआईपीहरुको पनि सवारी हुन्छ तर त्यस तर्फ किन कसैको ध्यान जादैन । आ.व. २०७५।०७६ को रकम सकाउन विरगंजका केहि सडकहरु मर्मत भएका थिए तर अहिले मेन रोडमै खाल्डो हुदाँ सडक मर्मत हुदैन आखिर किन होला ?
वीरगंज पहिला देखि नै विकासको क्षेत्रमा पछाडी परेको नगर हो । झन फोहोर र मोहरमा सधै नै चर्चामा आईरहने ठाउँ हो । वीरगंजलाई मच्छरगंजको पनि नाममले चिन्ने गरिन्छ । अहिले विकासको नाममा सडकको विनास भईरहेको अवस्थामा के नामले चिन्ने महानगरपालिका कि आफनो पहिचान बदल्ने । आखिर विकासको नाममा आम जनताले कहिले सम्म यस्तो सास्ती भोगिरहने ? के नयाँ बन्ने सकडमा मर्मत गर्न सकिदैन र ? वीरगंजलाई महानगरपालिका बनाउका लागि संघर्ष गर्नेहरु ध्यान यतातिर किन गईरहेको छैन ? वीरगंजको विकासको लागि सवै स्थानिय बासी राजनीतिक दल, विकास प्रेमी यहाका संघ संस्था, नागरिक समाज, मिलेर यस विषयमा ध्यान दिन जरुरी छ । वीरगंजका विकासका लागि आएका कार्यक्रम तथा रकमको बारेमा सवै जनाले चासो राख्न जरुरी छ । विकासका लागि योजनाहरु बनाउन जरुरी छ होईन भने वीरगंज महानरपालिका सधैको लागि महानगरपालिका भएर जान्छ ।
वीरगंजका प्रायजसो सडकहरु नामका मात्रै सडक जस्तो भएका छन् । पाइला पिच्छै खाल्डाखुल्डी, उबड खाबड बाटो, आधा कच्ची आधा पक्की सडक सबैको हालत उस्तै छ । बिशेष गरी घन्टाघरदेखि पावरहाउस, घण्टाघर देखि रानिघाट जाने बाटो अत्यन्तै दयनीय अवस्थामा रहेको छ । नयाँ सडकहरु बन्न सकिरहेका छैनन, केहि सडकहरु खनेर छोडेको अवस्थामा छन । भएका सडकहरुको मर्मत छैन । मर्मतको नाममा बजेट सिध्याउने काम मात्र भएको जस्तो देखिन्छ । पानी परेको बेला सडकको खाल्डाखुल्डीमा पानी जमेर दुर्घटनाको सम्भावना बढी हुने गरेको सवारी चालकहरु बताउँछन ।
मुख्य सडकलाई प्राथमिकतामा राखेर मर्मत सम्भार गर्नुपर्ने भए पनि सवै निकाय मौन रहेकोले सर्वसाधारण सास्ती भोग्न बाध्यभएका छन । मुख्यम सडक मर्मतका लागि महानगरले चाँसो देखाउने की सडक विभागले जस्ले भए पनि समयमा नै सडक मर्मत गरी सम्भावित दुर्घटना बचाउने तर्फ कहिले सोच्ने ? प्रत्येक वर्ष वर्षायाम पछि यसको चर्चा हुने तर पछि विर्सेर जाने आखिर कहिले सम्म यस्तो ?