पर्यटक लोभ्याउने चर्चा सतहमा धेरै सुनिए पनि त्यसको व्यवस्थापनमा पर्सा जिल्ला चुकेको पाइएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रामभौरीभाठामा साउन महिनामा लाग्ने मेलामा पर्यटकका लागि खाने पानीको व्यवस्थापन समेत राम्रो हुन नसकेकोले पर्यटक लोभ्याउने कुरामा पर्सा चुकेको पाइएको हो ।
जिल्लाको रामभौरी भाठास्थित दुग्धेश्वरनाथ महादेवको मन्दिरमा खानेपानी तथा बासस्थानको उचित व्यवस्था नहुँदा दर्शनार्थीहरु मर्कामा परेको गुनासो गरे । प्रत्येक वर्ष तीन पटक अर्थात साउन महिनामा व्यापक आन्तरिक र बाह्य पर्यटक धार्मिक मेलामा आउने भए पनि यसको अझै व्यवस्थापन चुश्त हुन सकेको छैन । खास गरी मेलामा पानी र शौचालयको व्यवस्थापन नभएको पर्यटकहरुको पनि भनाइ छ ।
दर्शनार्थीहरुलाई शौच गर्नको लागि शौचालयको व्यवस्था छैन, नदी छेउमै शौच गर्नुपर्छ, र त्यही नदीमा बगेको पानी खानु पनि पर्छ । नदी किनारमा जथाभावी फोहरहरु फ्याकिएका छन्, त्यसैमा दर्शनार्थीहरुलाई नुहाउनु पनि पर्छ, हातमुख धुनु पनि पर्छ र त्यही खोलाको पानीले त्यहाँ स्थित होटलमा खाना पनि पकाउनुपर्छ । मेलामा प्रयोग हुने पानी अधिकाँश त्यही खोलाको पानी हो ।
खोलामा बगि रहेको पानी माथिबाट जति पनि स्वच्छ देखे पनि त्यहाँ रहेका बालुवाका कण तथा खोला छेउमा फ्याकिएको फोहरले पानीलाई दुर्गन्धित बनाई रहेको स्थानीयले बताए । तर आस्था र विश्वासको कारण दर्शनार्थीहरु मज्जाले त्यही पानी खाई रहेका छन् ।
स्वच्छ पानीको व्यवस्थापन नहुँदा फोहोर पानी खाँदा शरिरको पाचन शक्तिलाई बलियो बनाउँछ, भन्ने पनि नभेटिने होइन । यस विषयमा मन्दिर निर्माण समितिका अध्यक्ष अलखदेव प्रसाद थारुले पनि धार्मिक आस्था भएको कारण यस पानीले शरिरमा कुनै किसिमको असर नपर्ने दावी गरे । पानी व्यवस्थापनको लागि पहल गरिएको हो, तर निकुञ्ज प्रशासन बाधक छ, तै पनि यही पानी सफा छ, हामी सदियौं देखि यही पानी खाँदै आएका छौं उनले भने ।
यसरी नै मेला व्यवस्थापन समितिका सदस्य शिवपुजन साहले पनि धार्मिक आस्थाको कारण खोलाको पानी खाने गरिएको छ । तर पानीको व्यवस्थापन हुन नसकेको गुनासो पोखे । पानीटंकी, शौचालय लगायत भौतिक पूर्वाधारहरु निर्माण गर्ने पनि योजना छ, तर निकुञ्ज प्रशासन बाधक छ, यसरी खुल्ला ठाउँमा बगेको खोलाको पानी खानु स्वास्थ्यको लागि पक्कै हानिकारक भएको बताउँछन् । उनले अरु केही नभए पनि पानी तथा शौचालयको व्यवस्था अत्यावश्यक रहेको बताए ।
२ सय वर्ष पुरानो इतिहास बोकेको यस मन्दिरलाई उचित व्यवस्थापन गर्ने हो भने पर्सा जिल्लाको लागि पर्यटकीय स्थल बन्न सक्छ । तर पर्सा राष्ट्रिय निकुञ्जको १० किलोमिटर भित्र पर्ने यस स्थानमा निकुञ्ज प्रशासनले भौतिक पूर्वाधार विकासको लागि रोक लगाएसँगै यो स्थान ओझेलमा परेको हो ।
स्थानीय तथा मेला व्यवस्थापन समितिले यसलाई व्यवस्थापन गर्न खोज्छ, समितिको पहलमा करोडौको लगानीमा मन्दिर निर्माण भइरहेको छ तर सबैभन्दा अत्यावश्यक पानी तथा शौचालयको व्यवस्थापन नभएको कारण त्यहाँ पुग्ने दर्शनार्थीहरु मर्कामा पर्ने गरेका छन् ।
साउन महिनामा लाग्ने यो मेला भर्नका लागि नेपाल र भारतबाट हजारौं पर्यटक आउने गरेका छन् ।