पर्यटक लोभ्याउने ठाउँ मात्र नभई जनावर पनि हुन्छन् भन्ने कुरामा पर्सा धनि छ । पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा वृद्धि भएको क्ुराले पनि पर्सा जिल्ला जनावरबाट पर्यटक लोभ्याउने कुरामा धनी भएको हो । सन् २०१३ मा निकुञ्जभित्र ८ वटा बाघ रहेकोमा हाल बढेर १८ को संख्या पुगेको छ । दिनहुँ ट्रयापिड्ड क्यामराबाट बाघलाई गणना गरिँदै आएकोमा हाल पर्सा राष्ट्रिय निकुञ्ज भित्र नेपालमा पाईने बेंगाल टाइगर प्रजातिका १८ वटा बाघहरु रहेको निकुञ्जका रेन्जर विवश कालोनीले बताए ।
निकुञ्जभित्र ६० देखि ६५ जङ्गली हात्ती, तीनदेखि पाँच गैँडा, १०५ गौरी गाई छन् । त्यस्तै ३७ स्तनधारी, ४९० चराचुरुङ्गी, ३१ प्रकारका पुतली तथा ३३६ प्रकारका वनस्पतिका प्रजाति छन् । वन्यजन्तुको वासस्थान, जैविक विविधता, प्रजाति, वनस्पति तथा सिमसारका दृष्टिकोणले यो निकुञ्ज विश्वकै उत्कृष्टमा पर्दछ । अरु निकुञ्जमा कमै देखिने जङ्गली कुकुर (ढोले) हुडार÷हड्डी बाघ, चौसिङ्गा, सालक, सुनगोहोरो, अजिङ्गर, राजधनेश यहाँको विशेषता मानिन्छ । पाटे बाघ, जङ्गली हात्ती, गैँडा तथा गौरी गाई यहाँका प्रमुख विशेषता हुन् ।
निकुञ्ज भित्रका जंगली जनावर मध्ये सबैभन्दा बढि बाघलाई संरक्षण गर्न चुनौति रहेको निकुञ्ज प्रशासनको भनाई छ । जंगल छेउछाउमा रहेको मानव वस्तीमा प्रवेश गरि खसी बाख्राहरु खाने गरेको कारण बाघलाई संरक्षण गर्न चुनौति रहेको निकुञ्जका रेन्जर कालोनीको भनाई छ । उनका अनुसार भर्खरै केही दिन अघि मात्रै जंगल छेउका वस्तीको २ वटा बाख्रा बाघले खाएको कारण क्षतिपूर्ति दिएले बताए ।
गत २०७४ को माघ तथा २०७५ को माघ महिनामा दुई पटकको दुर्घटनामा परि दुईवटा पाटे बाघको मृत्यु भएको थियो । विहानीपख पूर्व पश्चिम राजमार्ग पार गर्ने क्रममा दुर्घटनामा परेर घाइते भएका पाटे बाघको जंगलमै मृत्यु भएको थियो । त्यस पश्चात अहिले पर्सा राष्ट्रिय निकुञ्जमा १८ वटा बाघको संख्या रहेको छ ।
तीव्र गतिको कार सित ठोक्किँदा सो बाघ घाइते हुन पुग्यो । घटनास्थलमा भेटिएका रौँ र रगतको डिएनए परीक्षण एवं हिँडेको पाइला अध्ययनबाट पर्सा राष्ट्रिय निकुञ्जभित्रको सो बाघ दुर्घटनामा परेको पुष्टि भयो । निकुञ्ज संरक्षणमा कार्यरत सरकारी निकाय एवं मध्यवर्ती क्षेत्रका उपभोक्तालाई समेत हालसम्म घाइते बाघको स्वास्थ्य अवस्था कस्तो छ ? भन्ने बारेमा ज्ञात हुन नसकेको बताएका छन् ।
निकुञ्जका अनुसार निकुञ्जभित्र राजमाग पर्ने गरेको कारण पनि बेला बखत जंगली जनावरहरुको मृत्यु हुने गरेको छ । राजमार्गको कारण गत वर्ष मात्रै पाटे बाघ, संरक्षित हनुमान बाँदर, चित्तल, साम्बर लगायतका पाँच वन्यजन्तुको सवारी साधनमा ठोक्किएर मृत्यु भइसक्यो । सडक दुर्घटनाको कारण चित्तल, बँदेल, रतुवा मृग, बाँदर लगायतका ३७ वटा वन्यजन्तुको मृत्यु भएको थियो ।
वन्यजन्तु रमाउने समय विशेष गरी साँझ र बिहानपख राजमार्गमा दुर्घटना पर्नेक्रम पछिल्लो समय बढ्दो छ । राजमार्गमा गुड्ने सवारी साधनको तीव्र गतिले वन्य जन्तुको मृत्यु बढिरहेको बताइन्छ । सवारी साधनसित ठोक्किएका वन्यजन्तुलाई तत्काल उद्दार गरी उपचार गर्न नभ्याइएको कारण दुर्घटना भएको केही बेर होस् अथवा केही दिनमा ति वन्य जन्तुको जंगलमै मृत्यु हुने गरेको छ ।
बारा, पर्सा र मकवानपुर जिल्लाका ६२७ वर्ग किमी भू–भाग ओगटेको निकुञ्जभित्र यातायात आवागमनका दृष्टिले अति व्यस्त पूर्व पश्चिम राजमार्गको करीब ४५ किलोमिटर सडक रहेको छ । विसं २०४० वैशाख ५ गते पर्सा वन्यजन्तु आरक्ष घोषणा भई विसं २०७४ वैशाख २४ गते राष्ट्रिय निकुञ्जमा विस्तार गरिएको थियो ।
सरकारले बारा, पर्सा र मकवानपुर गरि तीन जिल्लाका तत्कालीन निर्मलबस्ती, सुवर्णपुर, जिराभवानी, सिमरा, अमलेखगञ्ज, चुरियामाई, पद्मपोखरी, हाँडिखोला र मनहरि गाउँका २८५ वर्ग किलोमिटर क्षेत्रफललाई समेटी विसं २०६२ असार १३ गते मध्यवर्ती क्षेत्र घोषणा गरेको थियो । मध्यवर्ती क्षेत्रमा १३ उपभोक्ता समूहमा ८५ हजार बासिन्दा रहेका छन् ।
निकुञ्जको सुरक्षा र वन्यजन्तुको संरक्षणमा नेपाली सेनाको तारादल गणले आधुनिक सूचना प्रविधिलाई अधिकतम उपयोगमा ल्याएको छ । उसले राजमार्गका आवश्यक स्थानमा सिसिटिभी जडान तथा अन्य स्थानमा ‘पोचर क्यामरा’ जडान गरी निगरानी बढाएको छ । निकुञ्जका अति महत्वपूर्ण १२ स्थानमा सुरक्षार्थ सेनाको पोष्ट छ । सेनाले दैनिक गस्ती (पैदल, साइकल, हात्ती सवार तथा गाडी) गरिरहेको छ । राजमार्गका आवश्यक स्थानमा सिसीटिभी जडान गरी सवारी साधन आवत जावत, वन्यजन्तु सवारी साधन ठोक्किए तत्काल सुरक्षाकर्मी परिचालन, चालकलाई गति, वन्यजन्तुका महत्वबारेमा सचेतना गराउने तर्फ नेपाली सेना लागेको पर्सा बन्यजन्तु आरक्षले जनाएको छ ।