प्रदेश नम्बर–२ को प्रदेशसभामा सहभागी दलहरूले ५ साउनमा स्थायी राजधानी र नामकरणबारे छुट्टा–छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।
सत्तारूढ दल समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)ले संयुक्त प्रस्ताव दर्ता गराएका छन् भने विपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले छुट्टा–छुट्टै प्रस्ताव दर्ता गराएका छन् । यसबाहेक केही सांसदहरूले स्वतन्त्र रुपमा नामकरण र स्थायी राजधानीको प्रस्ताव दर्ता गराएका छन् । सत्तारुढ दलहरुले प्रदेशको राजधानी जनकपुर र नामकरण मधेश–मिथिला हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।
नेकपाले प्रदेशको राजधानी जनकपुर र नाम जानकी हुनुपर्ने प्रस्ताव दर्ता गरेको छ । अर्का विपक्षी दल कांग्रेसले पनि स्थायी राजधानी जनकपुर नै प्रस्ताव गरेको छ भने नामकरण मिथिला–भोजपुरा हुनुपर्ने प्रस्ताव गरेको छ । राजधानीबारे तीनै दलको एउटै प्रस्ताव छ । यसर्थ, राजधानी भने जनकपुर रहने निश्चित भयो । तर, नामकरणमा भने फरक–फरक प्रस्ताव आएको छ ।
दुई नम्बर प्रदेश संसदमा अहिले देखिएको संसदीय समीकरणले नेपालको संविधान–२०७२ अघिको संविधानसभालाई झल्को दिन्छ । किनभने, दुई नम्बर प्रदेशमा तीन दल नमिलेसम्म नामकरण गर्न आवश्यक दुई तिहाइ पुग्दैन । दलहरू नमिलेसम्म नामकरण संभव नहुने भएकाले सहमतितर्फ जोड दिनुपर्ने राजपाका नेता एवम् प्रदेश सांसद मनिष सुमन बताउँछन् ।
दुई नम्बर प्रदेशसभामा रिजवान अन्सारीको पार्टी संघीय समाजवादी फोरमले समर्थन गर्दा समेत सत्तारुढ (समाजवादी २९, राजपा २५) सँग ५६ सांसद मात्रै छन् । यसबाहेक नेकपासँग ३२ र कांग्रेससँग १९ सांसद छन् । तर, प्रदेशको नामकरणबारे दलहरू कसरी अगाडि बढ्छन् भन्ने चाहिं ७ साउनबाट शुरू हुने संसदीय प्रक्रियासँगै देखिन शुरू हुनेछ ।
सौजन्य : हिमालखबर / सइन्द्र राई