गरिब, निमुखा परिवारहरुका लागि सचेत युवाहरुको सक्रियतामा वीरगंजमा निःशुल्क कपडा बैंक संचालन गरिएको छ । समाजसेवी वृजेश्वर प्रसाद चौधरीको नेतृत्वमा रहेका सचेत युवाहरुको समूहद्वारा संचालित कपडा बैंकलाई शनिबार विधिवत रुपमा उद्घाटन गरिएको छ ।
दैनिक जीवन यापन गर्न धौ धौ पर्ने गरिब, निमुखा परिवारलाई हदैसम्म केही सहयोग पुगोस् र उनीहरुको जीउमा कम्तिमा कपडा होस् भन्ने उद्देश्यका साथ संचालत निःशुल्क कपडा बैंकलाई शनिबार समाजसेवी, बुद्धिजीवीहरुको उपस्थितिमा प्रमुख अतिथि मा. सुरेन्द्र प्रसाद कुर्मीले उद्घाटन गरेका थिए । वीरगंजको घण्टाघरदेखि पूर्वपट्टि रहेको शिवा अस्पताल रोड वीरगंज सामुदायिक आँखा केन्द्रको पूर्वपट्टिको भवनमा संचालित निःशुल्क कपडा बैंकमा शनिबारदेखि नियमित रुपमा दैनिक कपडा संकलन तथा गरिब परिवारलाई वितरण गर्ने कार्य गरिनेछ ।
उद्घाटनकै दिन वीरगंजका सहयोगी हातहरुबाट विभिन्न प्रकारका ५ सय थान लगाउन मिल्ने पुराना कपडाहरु संकलन गरिएको थियो भने गरिब, असहाय परिवार तथा उनका बालबालिकाहरुलाई ४ सय थान कपडा वितरण गरिएको थियो । सो बखत वीरगंजका सचेत युवा तथा समाजसेवीहरु ओमप्रकाश सर्राफ, शैलेन्द्र त्रिपाठी, सुष्मा तिवारी, मोनिका सिंह, रामाकान्त पटेल, राजा साह, दिपक शाक्य, रितुराज पटेल, विनोद प्रसाद कुर्मी, चन्दन मिश्रा, मनोज कुमार मिश्रा, पन्नाला गुप्ता, कमल चौगाई लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । तस्बिर : जाकिर हुसेन