शेयर बजार उकालो लाग्दा नेप्से परिसूचक १,२०० सय अंक माथि पुगेको छ।
१३ भदौमा ११७२.३० रहेको नेप्से परिसूचक ४ कारोबार दिनमा ३३.९६ अंकले बढेर १२०६.२६ अंकमा पुगेको छ।
शेयर बजारमा उछाल देखिदा कारोबार रकममा पनि सुधार भएको छ। लामो समय देखि २० देखि २५ करोड रुपैयाँको हाराहारीमा शेयर खरिद बिक्री हुने गरेकोमा आज १६९ कम्पनीको रु. ५४ करोड ६० लाख बराबरको शेयर किनबेच भयो । बढेको बजारमा रु. १० करोड ८३ लाख बराबरको शेयर खरिद बिक्रि भएको नेपाल लाईफ इस्योरेन्स धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो । 'क' वर्गका कम्पनीको मापक परिसूचक (सेन्सेटिभ इन्डेक्स) ३.०७ अंकले बढ्दा कारोबार भएका १० उपसूचकमध्ये होटल र अन्य बाहेकका उपसूचक उकालो लागेका छन्।
शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल अर्थमन्त्रीसँगको भेटघाटपछि शेयर लगानीकर्ताको मनोबल बलियो हुँदा नेप्से परिसूचक उकालो लागेको बताउँछन् । अर्थमन्त्री युवराज खतिवडाले ६ महीना भित्रमा शेयर बजार अहिलेको तुलनामा माथि जान्छ भनेर भनेको अर्थमन्त्रीसँग भेटघाटमा गएका लगानीकर्ताको दाबी छ।
गत साता शेयर लगानीकर्ताका दुई समूहले अर्थमन्त्री खतिवडालाई भेटेका थिए । अर्याल भन्छन्, "एकदुई दिन नेप्से परिसूचकमा देखिएको उछाल हेरेर शेयर बजार बढ्छ भन्न सकिन्न। बजार बढ्नको लागि पहिलो र महत्वपूर्ण शर्त ब्याजदर घट्नु पर्छ।" नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई नगद लाभांश बाँड्न रोक लगाउँदैछ भन्ने हल्ला चल्दा पनि शेयर बजार उकालो लागेको अर्याल बताउँछन् । नगद लाभांशमा रोक लाग्दा बैंक तथा वित्तीय संस्थाले बोनश शेयर दिने लागानीकर्ताको दाबी छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल बैंक तथा वित्तीय संस्थालाई सञ्चालन नाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने कुनै योजना नरहेको बताउँछन्।
उनि भन्छन्, " यस वर्षदेखि नेपाल वित्तीय प्रतिवेदनमान (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड, एनएफआरएस) लागू भएकाले बैंक तथा वित्तीय संस्थाको नाफा बढेको छ। राष्ट्र बैंकले त्यस्तो नाफा वितरणमा मात्रै रोक लगाएको हो। राष्ट्र बैंकले तोकेको रिजर्भहरु कायम गरेको छ भने सञ्चालन नाफा वितरणमा रोक लगाउने भन्ने हुदैन।"