पर्सा जिल्लामा दर्ता भएका २७६ पत्रिकाको भिडमा अर्को पत्रिका मध्य नेपाल सन्देश साप्ताहिक थपिएको हिजो जस्तो लाग्छ । तर हेर्दाहेर्दै यो पत्रिकाले तीनबर्षे उमेर पार गरिसकेको पत्तै भएन छ । बजारमा, पाठककोमा पत्रिका पुग्दा उहाँहरुले हेर्ने लायक होस् । पठनीय भएन भने तीन सयका हाराहारी पत्रिकाको माझमा अर्को पत्रिका थपिनुको खासै अर्थ हुँदैन भनी पत्रिकालाई पठनीय बनाउन समाचारमा खटिने सबैले एकाकार भएको तीन बर्ष पूरा भई चार बर्ष सुरु भएको सन्देश प्रवाह गर्न पाउँदा हामी हर्षित छौं । समाचारसँग आबद्ध सबैको सकृयताको सार्थकता भएको यतिवेला महसुस भइरहेको छ । पत्रिका निरन्तरताको यो नै दरिलो कसी पनि हो ।
हामीले अरु पत्रपत्रिकाले गरिरहेको कर्मभन्दा खासै फरक त केही गर्ने अठोट लिएका थिएनौं । तर, मध्य तराईका महिला, बालबालिका, उद्योगी, व्यवसायी र समाजमा लुकेका थप बिषयमा खुलेर बोल्ने हाम्रो प्रयास विचलित नभई अगाडी बढ्दै छ । वयस्क उमेर विताइसकेका पत्रिकाको भिडमा ठोक्किदै उभिन र हिड्न खोज्दा त्यो हाम्रालाई चुनौति वाहेक केही थिएन । अझ महिलाले मात्र अगुवाई गरी पत्रिका संचालन गर्दा बजारमा हुने टिका—टिप्पणीलाई मार्ग निर्देशका रुपमा ग्रहण गर्नु वाहेक हामीसँग अर्को विकल्प थिएन । यसको सामना गर्ने हाम्रो आँटले नै हामीलाई गति दिने अस्त्र हो ।
यसको साथै हामी धर्मराउँदै मिडिया बजारमा प्रस्तुत हुँदा निरन्तर साथ दिई हौसला प्रदान गर्नुहुने हाम्रा पाठक मार्ग निर्देशक हुनुहुन्छ । यो यात्राको मूल्याँकन उहाँहरुले गहन रुपले गर्न सक्नु हुन्छ । यसको साथै विज्ञापनदाता पत्रिकाको प्राणवायुका रुपमा ठिङ्ग उभिनु भएको छ । उहाँहरु नउभिदिनु भएको भए हाम्रो यात्राले गति लिने थिएन । पत्रिकाको हरेक पाइलाका सारथी उहाँहरु भएबाट हामी अझ कस्सिएका छौं । त्यसैको नमूना हो, यो रंगिन पत्रिकाको अनुहार । यो भन्न पाउने श्रेय हाम्रो होइन । अझ यात्राको हिडाइमा यसरी हिड भनी सल्लाह र सुझाव दिने समाजका सचेत व्यक्ति, वुद्धिजिबी, र हाम्रा शुभचिन्तक पनि हाम्रो प्रेरणाका श्रोत हुनु हुन्छ । उहाँहरुको सकारात्मक सल्लाह, सुझाव र हौसला नभएको भए तपाई हाम्रो आजको यो भेट हुने थिएन । यो सान्दर्भिक भेटका लागि हामीलाई मार्गदर्शन गर्ने व्यक्ति र संस्था प्रति हामी सधैं आभारी छौं ।
माथिका सबैको दरिलो उपस्थितिबाट नै हामी आगामी दिनमा पत्रिकालाई थप परिस्कृत गर्दै बारा, पर्सामात्र नभई प्रदेश नम्बर २ सम्म फैलने अठोट लिंदै छौं । यसका लागि सुरुदेखि अहिलेसम्म तपाईहरुले हामीलाई दिइरहनु भएको साथ अझ चाहिएको छ । धेरै नजिकबाट पत्रिकालाई नियालिरहेका हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक र सहयोगीको भूमिका अझ हामीले खोजेका छौं । हाम्रो लेखनीमा परिस्कृत गर्ने कुरा हामीमा प्रतिवद्ध छौं ।