- लक्ष्मी खरेल
सन्तानले गरेको राम्रो कामको श्रेय बुबालाई दिने र नराम्रा काम वा असफलताको दोष भने आमालाई दिने चलन पुरानो होइन । पितृ सत्तात्मक मानसिकताको उपज हो यो । मुलतः थरसँगै घर पनि परिवर्तन गरिदिएपछि पनि आफ्नो व्यवहारले पराइ घरलाई रिझाउन महिलालाई कम सकस छैन । व्यवहारिक हिसाबले छोरा बुबाको, छोरी आमाको छाया मानिन्छ । बुवा हिंडेकै बाटो छोराले पच्छ्याए्् अति उत्तम मानिन्छ । कारणवश त्यसभन्दा फरक बाटो हिड्न खोजे सहजै परिवारको साथ र सहयोग पाउनेमा शंका हुनेछैन । तर छोरीलाई त्यो छुट कहिले पनि हुँदैन । पछिल्लो समयमात्र केही छोरीका लागि पनि अवसरका ढोका खुल्न थालेका छन् । तर हाम्रा आमाहरुको पालामा अधिकांशलाई त्यो छुट थिएन । सामान्यतः आमाले जस्तै मिठो खाना बनाउनु, खेतिपाती गर्नु, वस्तुभाउ हेर्नु, घर परिवार सम्हाल्नु, नाता कुटुम्बको मन बुझाउनु, वंश बढाउनु जस्ता काम छोरीको जिम्मेवारीको काम ठानिन्छ । सिकाएकोभन्दा अलग गर्न चाहे छोरीलाई परिवारले साथ दिनुको सट्टा थप हतोत्साही बनाउने, जति सक्दो छिटो विवाह गरिदिने, नमाने बुबा आमाले प्राण त्याग्ने सम्मका धम्की दिएर आफ्नो काबुमा ल्याउने, मान्दै नमाने हत्या नै गरिदिने अधिकांश छोरीहरुले भोग्न परेको यथार्थ हो ।
कर्म नगरी सफल हुन सकिन्न । तर कर्म गर्नका लागि सबैभन्दा पहिले व्यक्ति स्वयं क्रियाशिल त हुन जरुरी छ । आर्थिक रुपले सम्पन्न परिवारले शिक्षासँगै हामी साथमा छौं भनेर साथ दिए पनि स्वयम् क्रियाशिल नहुँदा अवसर पाएका केही छोरीहरुले भने सफलता प्राप्त नगरेका केही उदाहरण पनि छन् । भाग्यमा छ भन्दैमा डोकामा दुध अडिंदैन भन्ने उक्ति उनीहरुको हकमा भने मिल्न जान्छ ।
तसर्थ सफलता हात पार्न संघर्ष गर्ने, लक्ष्य निर्धारण गर्ने, आत्मविश्वासी बन्ने र सकारात्मक सोच राख्ने काम चाही स्वयम्ले पनि गर्नु पर्छ । यसको लागि परिवारको दरिलो साथको भने त्यसपछि आवश्यकता पर्छ नै ।
त्यसमा आमाको विशेष भूमिका हुन्छ । जिवनको पहिलो वास कोखमा दिएर संसारमा ल्याउने आमाले छोरीको सफलतामा आफू यातना खाएर पनि अनि योगदान दिइराखेको उदाहरण धेरै छन् । आवश्यक पर्दा आमाले अडान लिइदिए मात्र पनि छोरीको प्रगति सहज बन्छ । आमा शिक्षित हुँदा त छोरीलाई अझै सहज हुने ग्रेस इन्टरनेशनल स्कूलकी प्रिसिपल ममताराज कर्णीकारको भनाइ छ ।
सानैमा पोलियोले असर गर्दा अरु सरह अलि हिड्न नसक्ने उनी सामाजिक काममा निक्कै सक्रिय छन् । पढ, अगाडी बढ, अतिरिक्त क्रियाकलापमा सहभागी होउ भनेर हौस्याउने आमाले विवाहको लागि कहिल्यै दवाव नदिएको कर्णीकारको अनुभव छ । ‘कसैले विहे बारे कुरा गर्दा आमाले मेरो मन बुझे जस्तै गरेर भन्नु हुन्थ्यो । एक्लो ज्यान सम्हाल्न जस्तो परिवार सम्हाल्न सहज हुन्न, स्वतन्त्र छन्, खुशी छन् । उनलाई देखेर हामी पनि खुशी छौ’ । ५४ वर्षकी भइसक्दा पनि उनलाई आमा केदारनानी राजकर्णीकारले गर्ने व्यवहार सानो छँदा भन्दा फरक छैन । हातमा सिप नभए महिलाहरुलाई समद्धिको बाटोमा हिंडाउन सकिन्न भन्ने निष्कर्ष सहित संचालनमा रहेको वुमन्स स्किल सेन्टरमा समेत आवद्ध कर्णीकार ‘म माथि विश्वास नगरी अरुका कुरा सुन्ने, किन ढिला आयौ भनेर सोध्ने, यो नगर भनेर रोक्ने काम परिवारबाट भएको भए शिक्षा क्षेत्रको तिन दशकको यात्रा यत्ति सहज हुने थिएन’ । आजको उदाहराणीय जिवनको लागि आमालाई श्रेय नदिई रहन सक्दिन । मेरो सफलताको अगाडी आमाको हात अगाडी रहेको उनको तर्क छ । छोरीको हरेक सपनाको बाटोमा पक्कै सहज त छैन । तर ढिलै भए पनि आमालाई बुझाउन सके त्यसपछिको यात्रा सहज हुने अनुभव छ फुटबलकी रेफ्री सानुमाया मगरको पनि । बारा जिल्लाबाटै पहिलो महिला रेफ्री मगरले सुरुवाती चरणमा खेलमा पनि जिवन छ भनेर घर परिवारलाई बुझाउन सहज थिएन । तर उनको दृढ इच्छा शक्ति र आमा शान्ति मगरको साथले आज रेफ्री सानुमाया बन्न सफल भएकी छन् ।
सानो छँदा आमा मेलापात जाँदा पातमा खाजा, हात पानी थापी खाएको, बच्चाहरुले भाँडा छोएको निहुँमा आमाले जरिवाना तिरेको देख्दा बारा निजगढकी अरुणा विकलाई सहि नसक्नु हुन्थ्यो । ठूलाबडाले राखेको नियम हो, छोरी हामी सक्दैनौ । सके तिमीहरुको पालामा सुधार्नु भन्दै आमाले जगाएको उत्प्रेरणाले आज दलित अगुवाका रुपमा समाजमा देखा पर्न सकेको उनले बताइन् । परिवर्तनका लागि जनयुद्धमा होमिदा समेत आमा निर्मला विकले साथ दिएकोले नै आजको विभेद रहित कानून निर्माणमा थोरै अंश भए पनि आफूजस्ताको भएको अरुणाको तर्क छ ।
पिता, पति र पुत्रको भरमा जिवन धान्नुपर्ने जात हो, छोरीको भन्ने पुरातन समाजमा फरक पहिचान बनाउँछु मधेशका छोरीहरुलाई झन कम सकस छैन । उनीहरुलाई फलामको चिउरा चपाए सरी सामाजिक रुपान्तरणमा होमिन । संस्कारको नाममा सानैमा दाइजोसँग तौलिएर वैवाहिक सम्बन्धमा बाधिनु, बहुविवाह भए पनि सहेर बस्न बाध्य हुनु, शारिरीक तथा मानसिक यातना कर्मको फल मानी मधेशका छोरीले जीवनयापन गर्नु पर्ने वाध्यता विस्तारै परिवर्तन हुन खोज्दै छ । त्यसमा प्रगति गर्ने उक्त छोरीहरु जस्तै वीवीसी मिडियाको पर्सा संवाददाता एवं नारायणी एफएमकी समाचार संयोजक माधुरी महतोको प्रगतिमा पनि उनकी आमाको साथ कम छैन ।
पैसा खासै नहुने, तर अत्यत्तै जोखिमको पत्रकारीता पेशा अँगाल्दा आमा र परिवारको साथ नपाएको भए आज यो ठाउँमा हुने थिइन माधुरीले भनिन् । ‘आमाले मेरो कारण सुन्नु परेका कुरा कहिल्यै सुनाउनु भएन । आफूले नपढेर भएर पनि हामी छोरीलाई पढाउनु भयो । दाइभाइलाई भन्दा फरक गर्नु भएन । रिसाएर कहिले पनि गाली गर्नु भएन । त्यसैले त मनका कुरा सुन्ने साथी खाज्नु परेन । आमा नै गुरु र असल साथी बन्नु भयो । छरछिमेक, इष्टमित्रको सवाल र शंकाको जवाफ दिंदै आमा भाग्यमनी देवी महतोले परिवारलाई समेटेकै कारण हिजो कुरा काट्ने समाज आज परिवारको प्रशंसा गर्ने भएको महसुस भइरहेको उनको भनाइ छ । मध्य नेपाल मिडिया प्रा.लि.को सम्पादक कविता खड्काको यो उचाइलाई उनैले मात्र गरेको हो भन्दा यहाँ पनि सहि नहुन सक्छ । कविता खड्काको श्रम लगानी मात्र नभई छोरीले आर्थिक लगानी समेत गर्ने आँट गर्नुका पछाडी उनको आमाको हात महत्वपूर्ण हुन्छ । आमाको हात नभए आफूले यो आँट गर्न नसक्ने खड्काले पनि बताइन् । पछिल्लो समय श्रीमतीलाई घरमा सहयोग गर्ने र बाहिर पनि सबल, सक्षम भएको हेर्न रुचाउने पुरुषको संख्या बढ्नुमा आमाको मुख्य भूमिका देख्नुहुन्छ नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति एवं रक्त सञ्चार केन्द्र पर्सा संयोजक मधु राणा । आमा र सासुआमालाई चाँडै गुमाउनु परे पनि खासै व्यवधान भोग्नु परेन । श्रीमान् अति सहयोगी हुनुहुन्थ्यो । श्रीमतीलाई सम्मान र साथ दिनुपर्छ भन्ने सोचको विस्तार गरेर सासुआमाले उपहार दिएकाले आफ्नो जिवन समाजसेवामा रम्न पाएको राणाको धारणा छ । ‘छोरीमान्छेले रगत दिने, समाजिक काम गर्ने विषयलाई अहिलेको समाजले पनि सहर्ष स्वीकार गरी नसकेको अवस्थामा तिन चार दशक अघि मैले सहयोग पाउनु आमाहरुकै देन हो’ राणाले भनिन् ।
माथिका प्रगति गर्ने छोरीहरु केवल प्रतिनिधी पात्र मात्र हुन् । एक असल र सफल छोरीको विषयले पिताको नाम थरलाई उच्चो बनाए पनि पर्दा पछाडी छोरीकोभन्दा दुई गुणा बढी संघर्ष आमाले गरेकी हुन्छिन् । छोरीका लागि सबैसँग आमाले लडेको कारण बल्ल आजका सफल छोरी समाजमा नमूना बनेका हुन् ।