जिल्लाको पटेर्वा सगौली गाउँपालिका अन्तर्गत साविकको सोनवर्षा गाविसका जनताले शुद्ध पिउने पानी पाउने आशा अझै आशमा नै रहेको छ । १३ सय बढी घरधुरी जनताको आशा अझै आशै रहेको हो ।
स्वास्थ्य खानेपानीका लागी एक करोडौँ ५२ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको खानेपानी आयोजनाको निर्माण सुरु भएको १३ वर्ष वितिसक्दा पनि अझैसम्म सञ्चालनमा आउन नसकेको स्थानीयले बताए । पटक पटक लाखौँ रुपैयाँ मर्मत सम्भारको नाममा बरु उल्टो खर्च हुने गरेको उनीहरुको भनाइ छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्साले भने पुरानो आयोजना निर्माण स्थल चुरे क्षेत्रसंगै जोडिएको भाथाको मुल पानीमा जान आरक्षले अनुमति नदिने, जङ्गली जनावरले पाइप नै फुटाइ दिने र गङ्गटोले पाइप काटिदिने जस्ता समस्याले लक्ष्य पूरा हुन नसकेको दावी गरेको छ । त्यो दावी सही नभएको बरु पुरानो आयोजनालाई अलपत्र अवस्थामा छाडेर नयाँ आयोजनाको कमिसन खान कार्यालयले आर्थिक वर्ष २०७३/०७४ देखि नयाँ खानेपानी बनाउन लागेको बताए । आरक्ष मै पर्ने पहिलाको आयोजनाभन्दा दक्षिण पुर्वको १५ सय मिटरकै दुरीमा कार्यालयको ३० लाखको लागतमा अहिले नयाँ बोरिङ्ग जडान गरिएको उनीहरुको भनाइ छ ।
सोनवर्षा गाविस पर्सा वन्यजन्तु आरक्षसंगै जोडिएको भए पनि १०० फिटसम्म जडान गरिएको चापाकलमा शुद्ध पानी आउँदैन । आए पनि खाने लायकको हुन्न स्थानिय वीर शमसेर गिरीले भने । यस गाविसको अधिंकाश चापाकलबाट आर्सेनीक भएको पानी निस्कने र जनता त्यहि पानी खान विभस भएको उनको भनाइ छ । हामीले यस विषयमा पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गरायौँ । तर मर्मत सम्भारका लागी छुट्याईएको रकम खर्च मात्रै भयो । शुद्ध खानेपानी भने अझै सम्म नपाएकाले मर्मत सम्भारको रकम कर्मचारीहरुको कमाई खाने भाडो मात्र भएको स्थानीय गिरीको आरोप छ । आर्थिक अवस्था ज्यादै न्यून भएका यहाँका अधिकांश स्थानीयहरुले ३० देखि ७० फिटसम्ममात्र चापाकल गाडेका छन् । जुन पिउने लायकको पानी निस्कदैन ।
शुद्ध खानेपानी कै समस्याले गर्दा सोनवर्षा गाविसमा वर्षेनी झाडा पखाला, ज्वरो र खोकी लगायतको स्वास्थ्य समस्या महामारी झै दोहरिने गरेको छ । तर पनि यहाँका जनताले शुद्ध खानेपानी पाउन सकेको छैन । शुद्ध पानीका लागी गाविस भरी विस्तार गरेको खानेपानीको पाइपहरु स्थानीयले हटाई दिएका छन् । भने, सार्वजनिक स्थानमा जडान भएका धारामा दशकौँ वितिसक्दा पनि पानी नआउँदा आक्रोशित गाऊलेहरुले तोडिदिएको स्थानिय शिक्षक सिता चौधरीले बताइन् । उनले भनिन् १३ वर्ष कु¥यौँ कामै नलाग्ने धारोे राखेर के काम ? त्यसैले हामीले घर—घर बाटै हटाइसकेका छौँ । विहान उठेदेखि खाना पकाउने, खाने, खुवाउने, कपडा लत्ता सबैका लागी पानी नभई नहुने हो । त्यसैले पनि आर्सेनिक भए पनि हामीले यही पानी खान बाध्य रहेको स्थानिय शिक्षक चौधरीले बताईन् ।
आयोजना सुरु हुनुभन्दा अगाडी सोनवर्षावासीले पहिला चुरेसंगै जोडिएको भाठाको स्वच्छ पानीको मुहानबाट पाईप जडान गरी पानी ल्याउने गरेका थिए । तर करोडौँको आयोजना निर्माण गर्ने भनेपछि ती पाइपहरु तोडिएका थिए । जसले गर्दा अहिले गाविसवासीले दुषित् पानी खान बाध्य हुनु परेको स्थानीयको भनाइ छ ।
यता करोडौँ खर्चेर निर्माण गरिएको खानेपानी अलपत्र अवस्थामा छाडेर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्साले तराई मधेश खानेपानी कार्यक्रम अन्तर्गत अहिले ३० लाखको लागतमा नयाँ बोरिङ्ग जडान गर्न लागेको कार्यालयका ईन्जिनियर रामहित यादवले बताए । आरक्षमा पस्न हामीलाई अनुमति नदिने, जङ्गली जनावरको डर, गंगटोले पाइपमा प्वाल गरिदिने जस्ता समस्याले गर्दा हामीले गत आर्थिक वर्ष २०७३/०७४ मा १९ लाखको लागतमा बोरिङ्ग गाडन र ४ लाखको लागतमा घर निर्माण गर्न लगाएका छौँ । निर्माण भइसकेपछि बोरिङ्गबाट गाउँलेको पाइपसम्म पु¥याउने काम हुनेछ, उनले भने, पहिला निर्माणधीन खानेपानी आरक्षको जङ्गल भित्र परेकाले मर्मत सम्भार गर्न विभिन्न झन्झट बहोर्नु परेको थियो । अब नयाँ बोरिङ्ग जडान गरी शुद्ध पानी खुवाउन कार्यालय अग्रसर भएको उनको छ । चालु आर्थिक बर्षभित्र थप रकम छुट्याएर भए पनि आयोजना सञ्चालनमा ल्याउने उनको भनाइ छ ।