मधेश आन्दोलनको केन्द्र रहेको प्रदेश नम्बर २ को पर्सामा मुलुकका अरु भागमा झैं संविधान दिवस मनाइएको छ ।
प्रदेश २ सरकारका मुख्य मन्त्रीको गृह जिल्ला समेत रहेको पर्सामा संविधान दिवस राष्ट्रिय दिवसका रुपमा मनाइयो । तर पर्साको वीरगन्जमा संविधान दिवस मनाइरहेको समयमा प्रदेश २ सरकारका मुख्य मन्त्री लालबाबु राउत गद्दी लगायतका मन्त्रीहरु भने जनकपुरमा भइरहेको संविधान दिवस विपरित ‘नेपालको संविधान २०७२ मा जनताको अवधारणा, राष्ट्रिय बहस र मन्थन २०७६को कार्यक्रममा सहभागी भए । बिहिबार साँझमा भने मुख्य मन्त्रीको कार्यालय र मन्त्रीहरुको कार्यालयमा समेत संविधान दिवसको अवसरमा दिपावली गरिएको थियो ।
वर्तमान संविधान निर्माण भई कार्यान्वयनमा आएपछि त्यहि संविधानमा टेकेर भएको निर्वाचनमा मधेशवादी दलबाट पनि नेता कार्यकर्ता उमेद्वार भए । त्यहि संविधानले निर्दिष्ट गरेका तीन तहका संरचना अन्तर्गत अहिले केन्द्र, प्रदेश र स्थानीय तिनै तहका सरकारमा मधेशवादी दलका तर्फबाट पनि नेता कार्यकर्ताले त्यहाँ पुगेका छन् । प्रदेश नम्बर २ र स्थानीय तहका धेरै ठाउँमा त मधेशवादी दलका नेता कार्यकर्ताले नै नेतृत्व सम्हालेका छन् ।
यो के का आधारमा भएको हो ? भन्ने हो भने यहि संविधानको धारा उपधारा टेकेर नै भएको हो भन्ने सर्वसाधारणलाई पनि राम्रो हेक्का भइसकेको छ । तर सत्ताको उपभोग गर्नेले नै संविधान नबुझे झैं गरी उलंघन गर्न कति युक्तिसंगत छ भन्ने ? अब बुझ्न जरुरी छ । संविधानमा सबै कुरा राम्रा नलेखिएको हुन सक्छ । कतिपय कुरा छुटेका पनि हुन सक्छ । त्यसलाई संसोधन गरी राम्रो बनाएर जानुको विकल्प छैन । तर संविधान नै मान्दिन भनी सत्ताको डाडु पुन्यूँ चलाउनेले नै त्यहि संविधान दिवसकै दिन कालो दिवस मनाउन र संविधान दिवस इत्तरको कार्यक्रममा सहभागी हुन कति सुहाउँछ ? अब त्यसको पनि जनताले समिक्षा गर्ने छन् ।
पूर्व राजावादीहरुले पनि यो संविधान नै चाहिदैन भनी कालो दिवस मनाएका छन् । उनीहरुको पनि माग संबोधन गर्ने हो भने विकल्प के हुन सक्छ ? सत्तामा हुनेहरुले त्यसको जवाफ दिन पर्छ कि पर्दैन । सत्तामा बसेकाहरु नै शासक हुने कुरा जनताले बुझे अनुसार पूर्व राजाको समर्थकले यो संविधान मान्दैनौं भनी भनिरहेको समयमा सोही प्रकृतिको विरोध र शैलीले पक्कै पनि यो संविधानको रक्षा हुन सक्दैन ।
सत्तामा पुगेपछि प्रकृयागत ढंगबाट संविधानका कमिकमजोरी सच्याउन प्रकृया थाल्दा बरु त्यसले अझ सुझबुझ ढंगले कार्यसम्पादन गरेको ठहर्छ । नत्र मैले भनेको नै मात्र चाहिन्छ भन्ने आडम्बर रहिरह्यो भने त्यो दूर्घटनाको लागि प्रतित्पादक पनि बन्न सक्छ ।
संघीय गणतन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने मधेश आन्दोलनका शहिद हुन् या जनआन्दोलनका शहिदहरु । उनीहरुलाई कार्यक्रम गर्नेहरुले पनि सम्मान गर्न जान्नु पर्छ । नेपालको यो व्यवस्था सम्म पुग्न कुनै एक व्यक्तिको मात्र योगदान रहेको छैन । अझ शहिदहरुको कुरा गर्ने हो भने उनीहरुको योगदानकै भरमा नेपालको सत्ता परिवर्तन भएको यथार्थ घाम झैं छर्लङ्ग छ । यो कुरामा पनि परिवर्तित व्यवस्थाको अँकमाल गर्नेहरुले बुझ्न जरुरी छ ।