- उमाशंकर द्विवेदी ‘दधीचि’
आश्विन महिनाको कृष्ण पक्षलाइ ‘पितृपक्ष’को नामले पनि चिनिन्छ । हिन्दू समाजमा यस पक्षको पन्द्रह दिनसम्म आफ्नो परिवारमा मृत व्यक्तिको मृत्यु तिथि अनुसारको दिनमा सम्झना, तर्पण तथा पिण्डदान गर्ने परम्परा रहि आएको छ ।
सम्भवतः त्यसै कारणले यस पक्षलाइ पितृपक्ष भनिएको हो जस्तो लाग्द छ । नबुझेका तथा न जानेका व्यक्तिले यस पक्षलाइ सोरह श्राद्धको पक्ष पनि भन्ने गरेको पाइन्छ जुन आंसिक रूपमा सही होइन । वास्तवमा सोरह श्राद्ध भनेको मानिसको मृत्यु देखि बारहौ दिनसम्म गरिने अशौचा वस्थाको धार्मिक कृत्यलाइ भन्दछन । मृतक मरेपछि श्मसान घाट लग्नु भन्दा पहिला मरणस्थान पिण्ड, द्वारपिण्ड, चत्वर (चौबाटो) पिण्ड, विश्रामस्थान पिण्ड, काष्ठ संचयन पिण्ड, अस्थिसंचयन पिण्ड तथा दश दिनसम्म १/१ पिण्ड गरेर जम्मा १६ वटा पिण्डदान गरि सोरह श्राद्ध गरिन्छ जसलाइ सोरह श्राद्ध भन्दछन । पितृपक्षमा मृत स्वजनको मृत्युतिथिको दिनको दिन मृतकको सम्झना गर्ने, तर्पण गर्ने तथा पिण्डदान गर्ने गरिन्छ जसलाइ गरूड़ पुराण अनुसार पार्वण–श्राद्ध भन्दछन । पुरूषप्रधान समाजमा प्रायः यस पक्षमा मृत पुरूषको मात्र पार्वण– श्राद्ध गरिएको पाइन्छ तर तराईमा यस पक्षको सप्तमी, अष्टमी तथा नवमी तिथिको दिन एउटा अद्भूत प्रकारको व्रत गरिन्छ जसलाइ जीउतिया पर्व भन्दछन ।
जीउतिया व्रत अत्यन्त कठीन व्रत हो । सप्तमीको दिन यस व्रतको थालनी हुन्छ जसलाइ भोजपुरी भाषामा ‘नहाए–खाएके’ दिन भन्दछन । यस दिन पूजा घरको ढोकामा माटोको वेदी बनाउदछन जसलाइ भोजपुरी भाषामा ‘ओरी बनावल’ भन्दछन । माटोलाइ पानीले मुछेर कुशा राखि त्यसमाथि माटोले लिपी ओरी बनाइन्छ जसमाथि पूजा सामग्री चढ़ाउदछन । यस दिन नदी तलाउमा व्रतालूहरु गएर सरसोको पिना र तेल झिङुनीको पातमा राखि मृत तीनपुस्ते सासूहरुलाइ अर्पण गरेर आपूm पनि त्यसको प्रयोग गरि नुहाइ–धुवाइ गरेर व्रतकोलागि पवित्र भएर तयार हुन्छन । त्यस दिन अगहनी धानको चामलको भात, अरहर–मूंगको दाल तथा लसुन– प्याज न हाली शुद्ध घिउमा पकाएको झिङुनीको तरकारी ग्रहण गर्दछन । यस दिन व्रतालू महिलाहरु पवित्रता तथा शूचीताको पूर्ण ध्यान राख्दछन ।
सप्तमीको राती रात्रीको तेश्रो प्रहरमा उठेर नित्यक्रम पछि नुहाइधुवाइ गरि झिङुनीको पातमा जीमुतवाहन, चिल्हो – सियारिन र जीवितपुत्रिकालाइ झिङुनीको तरकारी, रोटी वा दही–च्यूरा–चिनी अर्पण गरेर सोही खाद्य पदार्थ स्वयंले पनि ग्रहण गर्दछन, यसैलाइ भोजपुरी भाषामा ‘सरगही’ खानु भन्दछन र यो नै पहाड़ी प्रदेशमा खाइने ‘दर’को शुद्ध रूप हो तथा पहाड़ी प्रदेश र सहरी क्षेत्रमा यसकै विकृत रूप दर खानु हो जसमा अचेलको समयमा अखाद्य खाद्य (मांसाहार तथा मदिरापान) वस्तुको प्रयोग तथा विभिन्न खाले नाच–गान र वैभव प्रदर्शन हुने गर्दछ । यस्तो पवित्र परम्परालाइ बिटुलो रूपमा प्रयोगमा ल्याउनु समाजकोलागि दुर्भाग्यको संकेतको रूपमा लिनु पर्ने हुन्छ । यसलाइ हतोत्साहित पार्नकोलागि समाजको प्रबुद्धवर्ग, राजनेताहरु तथा प्रशासन सतर्क तथा कठोर हुनु पर्ने हो कि जस्तो लाग्दछ ।
अष्टमीको विहान भएपछि व्तालू महिलाहरु घरधन्दामा सिन्को पनि न भाच्ने गरि दिउंसभरि ओछ््यानमा पल्टि रहन्छन –निराहार तथा निर्जला । यसै कारण यस व्रतलाइ खर जीउतिया भन्दछन । कुनै ठूलो संकटबाट बाँचेर कोही केटा मान्छे फर्कि आयो भने उसका स्वजनहरुले भोजपुरी भाषामा भन्ने गर्दछन–‘इनकर मातारी खर जीउतिया कइले रहलिह’ अर्थात् यिनकी आमाले खरजीउतिया गरेकी रहेछिन । जीउतिया व्रतमा भोकै बसेकी आमाले घरको काम–धन्दामा लागे पछि सिन्को भाच्ने सम्भवाना रहन्छ तथा यस दिन आमाको हात बाट सिन्को भाचियो भने आफ्नो सन्तान अर्थात् छोराको आयु क्षिण हुन्छ । जीउतिया व्रतको खास अर्थ आमा जीवित छंदासम्म छोराको मृत्यु हुनुहुदैन । यसैको सिद्धिको निम्ति आमाहरुले छोराको दीर्धायु, समृद्धि, आरोग्य तथा सुशान्तीको उदेश्यले यो कठीन व्रत गर्ने गर्दछन ।
अष्टमी तिथिको दिन मध्यान्हको समयमा व्रतालू महिलाहरुले पुनः पहिले झैं नदी–तलाउमा तोरीको पिना र तेल अर्पण गरि नुहाएर पवित्र भइ ज्ञानी–गुणी व्यक्तिको मुखबाट जीमुतवाहन, चिल्हो– सियारिन आदिको कथा सुन्दछन । पुराण अनुसार महाभारतको लड़ाइको अन्त्यमा द्रोणपुत्र अश्वत्थामाले दै्रौपदीका पाँच पुत्रहरुलाइ सुतिरहेकै अवस्थामा क्रुरतापूर्ण ढङ्गले मारि दिएपछि पुत्र वियोगले विह्वल भएकी द्रौपदी धौम्य ऋषिको आश्रममा गइ रोइ–पुकारा गर्दा धौम्य ऋषिले सान्तवनापूर्वक द्रौपदीलाइ आश्विन कृष्ण पक्षको सप्तमी, अष्टमीको दिन यस जीउतिया भन्ने व्रतलाइ लोकले विधिवत् गर्नु गराउनु भन्ने दिएको उपदेश अनुसार यस व्रतको थालनी भएको जनविश्वास रहेको पाइन्छ । यसै क्रममा धौम्य ऋषिले राजा जीमुत वाहन राजाको कथा सुनाएका थिए तथा लोकमानसले चिल्हो –सियारिनको कथाको कल्पना गरेको थियो । स्थानाभावको कारण यहां ती कथाहरुलाइ वर्णन गर्न सकिएको छैन । पाठकहरुसित सोकोलागि पंक्तिकार क्षमाप्रार्थि छ !
रात तथा दिनभरि निराहार र निर्जला व्रत बसेका व्रतालू महिलाहरुले नवमीतिथिको दिन एका विहानै उठेर नुहाइ–धुवाइ गरि पवित्र भएर पूजाकोठाको ढोकामा बनाइएको ‘ओरी’माथि पारिवारिक परम्परामा चले अनुसारको खाद्य–सामग्री, वस्त्र तथा सिन्दूर अर्पण गरेर मृतका तीन पुस्ते सासूहरुको विदाइ गरि जीउतिया व्रतको पारण गर्दछन ।
सिन्दूर अर्पणको खास अर्थ के हो भन्ने सधवा बुहारीहरुले मृतका तीनपुस्ते सासूहरुसित प्रार्थना गर्दछन कि तपाइहरुको कृपाले तपाइहरुका पुत्र /नातीहरु दीघार्यु रहुन जसले गर्दा मेरो सिन्दूर बनि रहोस्, म सौभाग्वती बनि रहुं । आश्विन कृष्ण नवमीको दिनलाइ मातृनवमी भन्दछन । समाज शास्त्रीहरुकोलागि यो एउटा अध्ययनको विषय हो जीउतिया व्रत वास्तवमा पुरूष प्रधान समाजमा प्रायः उपेक्षित मृत मातृहरुको प्रति जीउतिया, वासतवमा गरूड़– पुराणमा वर्णित पार्वण–श्राद्ध पो हो कि जो सधवा बुहारीहरुबाट जीउतिया व्रतको अवसरमा मातृ नवमीको दिन अद्भूत रूपले गरिन्छ ।
नेपालको तराई भागमा तथा अन्य पनि देश–विदेशमा गरिने जीउतिया व्रत वास्तवमा एउटा कठीन व्रत हुनुको साथै अनौठो रूपले मातृरूपा स्त्री जातिहरु प्रति गरिने अद्भूत कृतज्ञता व्यक्त गर्ने परम्परा हो ।