रक्तदान मानवीय सेवाभावसंग सम्बन्धित अति विशिष्ट सामाजिक कार्य हो । दान आफैमा महत्वपूर्ण हुन्छ । त्यसमा पनि रक्तदान स्वभावतः अझ महत्वपूर्ण हो । मान्छेमा रहेको स्वार्थ त्यागको भावना रक्तदानले प्रतिविम्बित गर्छ । वीरगंजमा पनि मानवीय सेवाभावका लागि काम गर्न रक्तसंचार केन्द्र जस्ता सामाजिक संस्थाहरुले अगुवाई गरिरहेका छन् ।
यस्ता संस्थाहरुमा महिलाहरु पनि लामो समयबाट आबद्ध रही काम गरिरहेका छन् । वि.सं. २०४७ सालदेखि रेडक्रस तथा खानेपानी हुँदै लामो समयदेखि रक्तसंचार केन्द्र वीरगंजमा आवद्ध महिला डिल्ली माया घिमिरे एक हुन् । मानिसको शरिरमा आवश्यक पर्ने रगत गरिब असहायलाई मात्र नभई धनी र समृद्ध परिवारका व्यक्तिलाई पनि आवश्यक पर्ने कुरा हो । यसको लागि बेला वेलामा रक्तदान गर्नु मानवीय सेवाको प्रमुख मध्येमा पर्दछ । यो अकंमा मध्य नेपालले रक्तदानका सन्दर्भमा रक्तसंचार केन्द्र वीरगंजकी मोवाइल इन्चार्ज डिल्लीमाया घिमिरेसंग गरेको कुराकानी :
१) मानवीय सेवाको लागि खटिएको संस्था रक्त संचार केन्द्रमा जोडिनु भएको कति समय भयो ?
म यस संस्थामा जोडिएको २६ वर्ष भैसकेको छ । ब्लड बैंक तर्फ रक्तदान कार्यक्रम तर्फ नै काम गरिरहेको छु । खास गरी मोवाइल टोलीको इन्चार्ज भएर बाहिर मात्र नभई कार्यालय भित्र ल्याबमा पनि काम गर्छु । रक्तदान गर्ने क्याम्पहरुमा त जाने नै भएँ ।
२) रगत संकलनका क्रममा कस्ता किसिमका मानिसहरु बढी रक्तदानमा उत्सुक भएको पाउँनु भएको छ ?
पहिले—पहिले गाउँ घरका मानिसहरु सुरुमा अलि डराउने, हामीलाई कतै केही भइहाल्छ कि या त मर्छौं कि, शरीरबाट रगत नै सकिन्छ कि भन्ने मनस्थितिमा थिए । कति त कमजोर भई काम गर्न सक्दैनौ कि भन्ने त्रासमा पनि अलि अनिच्छुक थिए । यसको तुलनामा शहर बजारमा यो त्रास उति थिएन । १८ वर्षदेखि माथिका केटाकेटीहरु र ६० वर्ष उमेर नपुगुन्जेलसम्म सबैले रक्तदान गर्न सकिन्छ । स्वस्थ चाही हुनु पर्छ । कुनै एन्टिवायोटिक औषधी सेवन गरिराहेको भने हुनु हुन्न ।
३) रक्त संचार केन्द्रमा आवद्ध भएर फिल्डमा निस्कँदा त्यो समयमा महिलाहरुले रगत दिने गरेका थिए ?
मेरो अनुभवमा गाउँमा जादाँ उनिहरु घरबाट निस्कन्दैन थिए । यसमा पुरुषको हात एकदमै ठूलो छ महिलाहरुलाई यो ठाउँसम्म ल्याउँ । पहिले पुरुषहरु मात्र रक्तदान गर्थे । उनीहरुलाई सम्झाउन–बुझाउँन एकदमै गा¥हो थियो । आफनो परिवारका सदस्यका लागि रगत दिन सुरुमा परिवारका पुरुषहरु पनि डराउँथे । अरुले दिए हुन्थ्यो भन्ने उनीहरुमा पनि थियो । त्यो अवस्था मैले धेरै झेल्दै आएको छु ।
४) तुलनात्मक रुपमा अहिलेको अवस्था कस्तो पाउँनु भएको छ ?
म कति ठाउँमा गइसकेको छु । अहिले महिलाहरु पनि धेरै नै जागरुक हुनु भएको छ । पुरुष सरह महिलाहरु पनि रक्तदान गर्न अब हिच्किचाउनु हुन्न । सबैलाई थाहा भइसकेको छ कि हाम्रो शरीरबाट ३–३ महिनामा रगत खेर जान्छ । त्यो खेर जाने रगतले कसैको जिवन बच्छ भने दिदाँ केही फरक पर्दैन भन्ने अहिले धेरैले बुझ्नु भएको छ । गाउँघरमा एक न एक व्यक्तिले रक्तदान गरेकै हुन्छन् । उहाँहरुले परिवारमा उत्प्रेरणा जगाइरहेका हुन्छन् । परिवारको सहयोगले गर्दा उहाँहरुलाई धेरै नै सहज भएको छ ।
५) रक्तसंचार केन्द्रको तथ्याँक अनुसार महिलाहरुलाई नै बढी रगत चाहिएको देखिन्छ । तर महिलाहरु भने रगत दिन मान्दैनन् भन्ने आरोप छ नि ?
पहिलेको तथ्याँक अनुसार यो आरोप गलत होइन । तर अब विस्तारै आरोपलाई महिलाहरुले पनि चिर्दै अगाडी आइरहनु भएको छ । महिलाहरुलाई जस्तो अप्रेसन, डेलिभरी केस, पाठेघरको समस्या हुँदा पनि रगत चाहिन्छ । महिलाहरुको पनि एनिमेक हुन्छ । धेरै कम रगत हुन्छ । किनभने उनीहरु महिनावारी हुने, स्तनपान गराउने गर्ने हुँदा उनीहरुको एच.बी कम भएको हुन्छ । बच्चा जन्माउने बेलामा अपे्रसन नै गर्नु पर्ने हुन सक्छ या त बढि रक्तश्राव हुन्छ कि भनी चिकित्सकले प्रायः २ पोका रगत अतिरिक्त मगाउने गरेको देखिन्छ । नरमल डेलिभरी भए पनि कसैको रक्तस्राव धेरै नै हुन्छ त्यसमा पनि रगत चाहिन्छ । यो कुरा जागरुक महिलाहरुले अलि बुझ्न थालेपछि अहिले भने पहिलाको तुलनामा धेरै नै महिलाहरुले रगत दिन थालेका छन् ।
६) रक्तदानका सन्दर्भमा अबका समस्या र चुनौति के हुन् ?
कुनै पनि क्याम्पमा जाँदा मोवाइल ईन्चार्ज भएर गएको छु । त्यहाँ जादाँ संघ–संस्थाले राम्रै व्यवस्था गरेका हुन्छन् । रक्तदान गर्ने ठाउँ हामी सबैको लागि एकदमै राम्रै हुनुपर्दछ । किनभने ब्लड प्रेसर जाच्ने, रगत लिने, खाजा खुवाउने सबै ठाउँको व्यवस्था हुदाँ सहज हुन्छ । कुनै–कुनै ठाउँमा त्यस्तो अनुकुल नमिलेको पनि हुन्छ । समस्या अलि के हुन्छ ? भने यदि रगत दिइसकेपछि केहीवेर सावधानी नअपनाउने हो भने कोही कोहीलाई वेहोस भएको पनि देखिको छु । तर यो डाक्टरकोमा नै पु¥याउनु पर्ने हुँदैन । रगत दिने मान्छे नआतिए हामी ठिक गरिहाल्छौं ।
७) रक्त संकलन गर्दै जाँदा कोही वेहोस भएर तनाव भएको कुनै क्षण छ ?
त्यस्तो क्षण त अहिले सम्म भएको छैन । हामी क्याम्पमा जाँदा सबै व्यवस्थित गरी जान्छौ । त्यस्तो अस्पताल सम्म पु¥याउने अवस्था अहिले सम्म आएको छैन । साधारण रिङ्गटा लाग्ने भएको भने कुनै कुनै केश पाइएको छ । त्यस्तो केशलाई आइस प्याक लगाइ दिने, जीवनजल झोल बनाएर खुवाइ दिने गरेपछि सबै ठिक हुन्छ ।
८) खपतको सन्दर्भलाई लिएर हेर्ने हो भने अहिलेको अवस्था के छ ?
अहिले १० वर्ष यता चाहि एकदमै धेरै खपत बढेको छ । त्यो भन्दा अगाडी लगभग ४०० देखि ६०० पोकासम्म जान्थ्यो भने अहिले महिनामा नै १ हजार २०० पोका जति खपत भइरहेको छ । डेलिभरी, थाइल्समिया, प्लाष्टिक एनिमिया, क्यान्सर लगायतका रगत अभावमा मर्न विरामीलाई अहिले रगत बढि गइरहेको छ ।
९) सीमावर्ती शहरमा रहेको अस्पतालहरुमा नेपाल बाहिरबाट आउँने विरामीहरु बढि भएर त होइन ?
केही बिरामीहरु त सीमा पारीबाट पनि आउँछन् । तर, सर्लाही, धनुषा, सिन्धुलीबाट समेत आउने गर्नुहुन्छ । उहाँहरु आउँदा ब्लड बैक एउटै भएको हुनाले सधै रगतको अभाव भने रहिनै रहन्छ । हुन त नेशनल मेडिकल कलेजमा आफनो ब्लड बंैक छ । तर उसले एकको लिने एकको दिने गरेको सुनिन्छ । हाम्रो नियम कस्तो छ ? भने संघ–संस्था भनौ या कोही व्यक्ति मार्फत पनि सिफारिस भएको विरामीलाई सेवा पु¥याउँदै आएका छौ । रक्त संचार केन्द्रको सेवा भनेको मर्न लागेको विरामी जो कोही भए पनि त्यसलाई बचाउनु नै हो । त्यसले यदि आफूले रगत दिन सकेन भने पनि उसलाई हामी प्रकृया पूरा गरी रगत दिन्छौं ।
१०) रक्तदातालाई थप उत्साहित हुन के सल्लाह दिनु हुन्छ ?
विभिन्न संघ–संस्थाहरुले गरेको विशेष कार्यक्रममा मात्र नभई आफूले रगत दिने समय भएपछि रक्त संचार केन्द्रमा नै आएर पनि रगत दिन सक्नु हुन्छ । हामी चाहि ३–३ महिनामा रगत दिन सक्छौ नि । ३ महिना पछि या कम से कम ६ महिनामा पनि रक्तदान गरिदिदा रगतको आपूर्तिमा अलि सुधार आउँछ । जस्तो कि जाडो महिनामा धेरै नै रगत संकलन हुन जान्छ । संघ–संस्थाले पनि गराइरहनु हुन्छ । गर्मी महिनामा अलि कम हुने हुनाले रगतको खपत बढि हुने गर्मी समयमा रक्तदाताले अझ ध्यान पु¥याइ दिनु भए झन राम्रो हुन्छ ।