नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले गएको भदौ ६ र ७ गते वीरगन्जमा प्रदेश स्तरकै कार्यक्रम गरी माक्र्सवादको चर्चा गरेको छ । देश काल र परिस्थिति अनुसार बहुदलीय जनवाद अंगालेको तत्कालिन एमाले र नयाँ जनवादको बाटो अंगालेको एमाओवादी बीचको पार्टी एकिकरण पछि फेरि कम्यूनिष्टहरुले माक्र्सवादको चर्चा मधेशमा सुरु गरेका छन् । कार्यक्रम पछि उनीहरुको निष्कर्ष पनि राजनैतिक, आर्थिक र सामाजिक रुपान्तरणको सहि बाटो माक्र्सवादले मात्र देखाउन सक्छ भन्ने छ । कार्लमाक्र्सको जन्म द्विशतबार्षिकीको अवसरमा ‘मधेशमा माक्र्सवाद’ भन्ने उनीहरुको कार्यक्रमको लक्ष्य थियो ।
मुलुकको समृद्धि राजनैतिक, आर्थिक र सामाजिक रुपान्तरणबाट मात्र हुने र समाजवादसम्म पुग्न सकिने सहि बाटो देखाउने दर्शन माक्र्सवाद नै भएको कम्यूनिष्टहरुको ठम्याई यो कार्यक्रमले पनि प्रष्ट पारेको छ । सिद्धान्त वा दर्शन सहि भएन भने यो लोकतन्त्रलाई व्यवस्थित र बलियो बनाउन पनि सकिन्न । लोकतन्त्र व्यवस्थित र बलियो भएन भने समाजवादमा पुग्न असन्भव हुन्छ । त्यसैले समाजवाद सम्मको यात्रा पूरा गर्न माक्र्सवाद जस्तो उत्तम अर्को बाटो नभएको नेपालका पूर्व प्रधानमन्त्री तथा कम्यूनिष्ट नेता झलनाथ खनालले त कार्यक्रममा नै बताएका थिए । यतिमात्र होइन पूर्व प्रधानमन्त्री खनालले त लोकतन्त्र सुदृढ गर्न, राष्ट्रियता बलियो बनाउन, आर्थिक विकास गर्न, सुशासन र शान्ति कायम गर्न, समाजका विविधिता एकता कायम गर्न, अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित ढंगबाट अगाडी बढाउन जस्ता महत्वपूर्ण कार्य माक्र्सवादको दर्शन विना सम्भव नहुने नै तर्क गरेका थिए । उनले असल नेता हुन अध्ययन गर्ने शैली कम्यूनिष्टहरुको अभिन्न अंग हो, हुनुपर्छ । यो कुरा नबुझ्नेहरुले मात्र गलत कुरा गर्न सक्छन् । तर माक्र्सवादले समाजवाद र साम्यवाद सम्म पुग्न ठोस मार्ग प्रसस्त गरेको छ उनले भनेका थिए । हुन पनि खनालले भनेको कुरा जस्तो पछिल्लो समयमा राजनीतिकर्मी हुँ भन्नेहरुले अध्ययन र नीतिको कुरा दूरगामी रुपमा भन्न र गर्न सकेको कमै देखिन्छ । सडकमा जस्ले जति बढि चर्का नारा उराल्यो त्यहि ठूलो राजनीतिकर्मी हुँ भन्ने भान विकास भएको छ । पहिलेका राजनीतिकर्मीहरुले अध्ययन र इमान्दमारितालाई बढि प्राथमिकतामा राखेको पाइन्छ । जनताका हिमायती भनिएका वर्तमानका नेताहरु त ५रु६ महिना पदमा पुग्न पाए भने आलिशान घरका धनी हुने चलनले राजनीतिक संस्कार र दर्शनका कुरा निकै विलिन भएको प्रतित हुन्छ ।
माक्र्सवादको दर्शनलाई अंगिकार गरेका कम्यूनिष्टहरुले पनि पछिल्ला समयमा अध्ययनलाई खासै महत्व दिएको थिएन । तर निकै लामो समय पछि अध्ययनको कुरा गरी नेता भनेको अध्ययनशिल र सभ्य हुनेपर्छ भन्ने कुरा प्रदेश नम्बर २ बाट चर्चामा ल्याउनु सकारात्मक नै छ । तर कुरा–कुरामा मात्र सिमित भयो भने त्यसले नेपालको आजको ठूलो पार्टी हुँ भन्नेको पनि राजनीतिक संस्कारको खासै महत्व नरहन सक्छ ।
पहिलो दिनको बन्द सत्रमा विजय पौडेलले माक्र्सको व्यक्तित्व र वृतित्व, मोहन बिक्रम सिंहले माक्सवाद र नेपाली क्रान्ति, गणेश साहले माक्र्सवाद र विज्ञान र राम कार्कीले माक्र्सवाद र समाजवादका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिने कार्यक्रम निर्धारण गरिएको छ । नेपाली राजनीतिमा बढि समस्या मधेशमा रहेको निष्कर्ष सहित माक्र्सवादी विचारबाट मधेशको समस्या बुझ्न र हल गर्न सहज होस् भनी प्रदेश नम्बर २ बाट अभियानकै रुपमा कार्ल माक्र्सको द्विशतबार्षिकी समारोहको अवसर पारेर सुरु गरिएको अभियानका संयोजक घनश्याम भूषालले बताए ।