तराई मधेशमा महिलाहरुले घरको काम मात्रै गर्नुपर्ने मानसिकतालाई चुनौती दिँदै पर्सा ठोरीका गृहिणी महिलाहरु फर्निचर बनाउने काममा व्यस्त भएका छन् ।
फर्निचर मेकरको काम पुरुषहरुले मात्रै गर्न सक्ने सोचलाई परिवर्तन गर्दै विभिन्न हेपाई र चुनौतीका माँझ फर्निचर बनाउने सिप सिकेर आर्थिक अवस्था कमजोर भएका गाउँका एकल महिला, दलित, जनजाती र रोगले ग्रसित महिलाहरु हाल फर्निचर मेकरको व्यवसाय संचालन गर्न थालेका हुन् । उनीहरु यो पेशा गरेर मनग्ये आम्दानी गर्नुका साथै आत्मनिर्भर र आत्मविश्वासी समेत बनेका छन् । आर्थिक अवस्था कमजोर भएका परिवार तथा तराई मधेशमा छोरीको विहेमा दिईने फर्निचरका विभिन्न सामाग्री बनाई निशुल्क रुपमा उपहार स्वरुप प्रदान गर्ने योजना बनाएको महिलाहरुले बताए ।
पहिले सहरी क्षेत्रमा मात्रै सिमित रहेको आधुनिक जीवनशैली ग्रामीण भेगमा पनि बढ्दै गएको बताइएको छ । त्यसमा पनि फर्निचर व्यवसायले जीवनशैलीमै सकारात्मक परिवर्तन हुने मुख्य पाटो बनेको पर्सा ठोरीका महिलाहरु बताउँछन् । फर्निचर निर्माणको काम पुरुषले मात्रै गर्न सक्छन भन्ने पुरानो मान्यतालाई तोड्दै पर्सा ठोरीका महिलाहरु हाल फर्निचरकै व्यवसायबाट मनग्ये आम्दानी गर्न थालेपछि आत्मविश्वास र आत्मनिर्भर बनाउँनुका साथै गाउँ समाजमा छुट्टै पहिचान र सम्मान पाउँन थालेको स्थानीय सविता विश्वकर्मा र मुना अधिकारीले बताईन । हातमा सिप नभएको बेला घरमा मात्रै सिमित भई अन्य समयमा फुर्सदिला रहेका गृहिणी महिलाहरुले फर्निचर व्यवसाय संचालन गरेपछि गाउँघरका पुरुषहरुले हेप्ने र गिज्याउँने गरी टिक्काटिप्पणी गरेपनि हाल प्रशंसा गर्न थालेपछि मन प्रफुलित भएको सुमित्रा अधिकारी बताउँछन् ।
गाउँमा फर्निचरका लागि आवश्यक पर्ने काठ सहजै उपलब्ध हुने गरेको तथा र्पिका, टेबल, डेस्क, बेन्च, कुर्सी, पलङ्ग लगायत फर्निचर सामाग्री बनाउने क्रममा हालको बजारको आवश्यकता चाहना र रुचिलाई ध्यानमा राखेर अरु भन्दा फरक तथा आकर्षक डिजाईन बनाउने गरेकोले विक्री वितरणमा कुनै समस्या नरहेको उनीहरु बताउँछन । घरखर्चमा सधैभरी पुरुषको मात्र भर पर्दै आएका गृहिणी महिलाहरुलाइ यो व्यवसायले भने आत्मनिर्भर बनाएको तथा केही आवश्यकता परे पुरुषकै मुख ताक्नु पर्ने बाध्यता हटेको महिलाहरुले दावी गरेका छन् । फर्निचरका सामाग्री आफनै घरमा समेत प्रयोग हुने भएकोले आवश्यकता अनुसार बनाउन र मर्मत सम्भार गर्न समेत सकिने भएकोले उतm व्यवसाय नै छनौट गरेको सविता विश्वकर्माको भनाई छ । तराई मधेशमा खासगरी विवाहको समय तथा विवाहपछि पनि उपहार स्वरुप फर्निचर दिइने चलन रहेको तथा हाल गाउँघरमा पनि सामान्य रुपमा घरलाई आकर्षक बनाउन सजावटका लागि पनि काठबाट बनाइएका सामाग्रीको प्रयोग बढेकोले गाउँ समाज र मानिसको आवश्यकतालाई ध्यानमा राखेर यो व्यवसाय संचालन गरेको तथा आगामी दिनमा समुदायकै महिलाहरुले उतm व्यवसायलाई सामुहिक रुपमा विस्तार गर्ने योजना बनाएको सुशिला सापकोटाले बताइन ।
हाल सुरुवातमा समुदायका करिब २ जना एकल, अपाङ्गता भएका, गरीब, दलित, जनजाती तथा विभिन्न रोगबाट ग्रसित महिलाहरुले फर्निचर बनाउने तालिम लिएर उतm व्यवसाय संचालन गरेको र आगामी दिनमा समुदायमा रहेका गरीब, दलित, सिमान्तकृत, जनजाती तथा आर्थिक अवस्था कमजोर रहेका परिवारमा बिहेवारी हुँदा छोरीलाई दिनुपर्ने फर्निचरका सामाग्री बनाएर निशुल्क रुपमा उपहार स्वरुप प्रदान गरिने महिलाहरु बताउँछन् । हाल महिलाहरुले फर्निचरका ड्राफ्टिङ तथा औजार चलाउने, काठ चिर्ने, टुक्रा पार्ने, रन्दा लगाउने, किल्ला ठोक्ने लगायतका फर्निचर बनाउने सबै काम आफैले गर्न पाउँदा गर्व महसुस भएको बताएका छन् । साथै उतm व्यवसायलाई विस्तार गर्ने क्रममा गाउँमा रहेका विपन्न, एकल, अपाङ्गता भएका महिलाहरुलाई निशुल्क रुपमा सिप सिकाई उनीहरुलाई पनि रोजगार दिने योजना रहेको महिलाहरुले बताएका छन् ।