– सुदर्शनराज पााण्डे
सृष्टिस्थिति संहारकर्ता ईश्वर निरन्जन निराकार छन् । ईश्वर भनेको प्रकृति हो । ईश्वरका रुपमा देवी देवता अनेक छन् ।
सृष्टिकालदेखि नै यस संसारमा दैवी शक्ति र आसुरी शक्ति बीच अन्तर विरोध अन्तरसंघर्ष द्धन्द्ध लडाइ, युद्ध हुँदै आइरहेको छ । यो जारी रहिरहने छ । मानवलाई जस्तै देवतालाई पनि विपत्ती पर्ने गरेको हुन्छ । देवताका शत्रु असुरहरु हुन् । कश्यप ऋषिकी दनु नामकी पत्नीबाट जन्मिएका सन्तानलाई राक्षस, दानव, असुर, दैत्य भनिन्छ । दानवहरुको शत्रु देवता हुन् । देवता र दानव वीचको चरित्र, व्यवहार र प्रवृत्ति फरक हुन्छ । मनुका सन्ततिलाई मनुष्य भनिन्छ । देवी देवताले बोल्ने देव भाषा संस्कृत हो । देवी देवता रहने शान्त र पवित्र भूमिलाइ देवभूमि भनिन्छ, जुन स्वर्ग हो । देवी देवतामा बिशिष्ठ गुण र अलौकिक शक्ति हुन्छ । देवी देवताको नाममा छाडिएको, पालिएको, भाकल गरिएको पशुलाई देव पशु भनिन्छ । पशुहरुलाई राक्षसको प्रतीकका रुपमा बलि दिइन्छ । दशैंमा पशुवली अनिवार्य देखिन्छ । हिजोआज क्रिश्चियनहरुले हिन्दु धर्म, संस्कृतिको साथसाथै पशुवलीको विरोध अभिमान चलाइ रहेका छन् ।
दशैंमा पशुवली नगरिने हो भने दशैंको महिमामा आँच पुग्न जान्छ । आफ्नो परम्परागत मौलिक संस्कृति, चाडपर्वको रक्षा भने प्रत्येक हिन्दूहरुको कर्तव्य हुन्छ । मासु खाने तर पशुवलीको विरोध गर्ने द्धैध चरित्र ! कलियुगको प्रतापले गृहस्थहरुले नित्य रुपमा गरिने पंचयज्ञ गर्न छाडेका छन् । हिन्दूधर्म, दर्शन, संस्कृतिको गहिरो अध्ययन नगरी चाडपर्व मात्र मानिदा अल्पज्ञान विनासको अवस्थामा पु¥याउँछ । देवी देवताको प्रतीक मुर्ती रहेको ठाउँ मन्दिर पुगेर तथा घुमेर मात्र धर्म हुदैँन । शक्तिको साधना र शक्तिको रक्षा नगरी, दशै पर्वमा देवी भक्तिको अपार शक्तिको पारखीलाई गिज्याउन मिल्दैन । आसुरी शक्तिमाथि दैवी शक्तिको विजय असत्यमाथि सत्यको विजयको स्मरणमा परापूर्व कालदेखि नै मनाइदै आएको दशैं पर्वको महत्व बुझेर मात्र सबैले मनाउनु पर्दछ । परम्परालाई औपचारिकता मात्र दिन हुँदैन ।
दशै पर्वमा पनि आधुनिकता आएको छ । आधुनिकताको नाममा मौलिकता नष्ट हुनु सकारात्मक मान्न सकिदैन । सत्व, रज र तम तीन प्राकृतिक गुण हुन्छ । तमो गुण भन्नाले अध्यारो(कालो) अज्ञान, मोह, पाप, क्रोध, अभिमान, घमण्ड, भ्रम, आवेग, रीस, झुठ, असत्य, तामसी वोली, तामसी व्यवहार निष्कृष्ट मानिने प्राकृतिक गुण हो । रज गुण र तम गुण भएका बीच हुने लडाइलाई रणसंग्राम भनिन्छ । असत्य, तम गुण विरुद्धको युद्धको अधिष्ठात्री देवी रण लक्ष्मी विजय लक्ष्मी हुन् । सिर्जना शक्ति, सकारात्मक सोचको मुहान् मानिने गुण रज गुण हो । देवतामा रजगुण र दानव, राक्षसमा तमो गुण, खराब प्रवृत्ति हुन्छ । हिजो आज राजनीकि वैचारिक संघर्ष र वर्ग संघर्ष पनि गुण र अवगुण बीच भइरहेको छ । रस, रुप, गन्ध, शब्द, स्पर्शमा योगिनी, सत्व, रजो र तमोगुण, आयु, चक्रिणी यश, किर्ती, लक्ष्मी, धन र विद्या लगायत सम्पूर्ण व्रम्हण्ड र प्राणीको रक्षा दुर्गा भवानीको कृपाले मात्र हुन्छ । देवीको लीला अपरम्पार छ ।
दैवी शक्ति रिसाएमा दैवी विपत्ती, प्राकृतिक प्रकोप बढ्दछ । कुनै वैज्ञानिक चमत्कारले रोक्न सक्दैन । देवी देवतामा क्रोध भरसक आउँदै आउँदैन, आइहाले रोग व्याधिको महामारी चम्किन्छ । अकल्पनीय क्षति, झै–झगडा, युद्ध बढ्दछ । अशान्ति, कोलाहल मच्चिन्छ । असुर दैत्यको जगजगी जब जगतमा व्याप्त हुन्छ गम्भिर संकट उत्पन्न हुन्छ । अनि देवीशक्ति, नारी शक्ति प्रकट हुन्छ । यथा स्थितिको विनास हुन्छ । दुर्गा भवानीको कृपाले पटक–पटक असुर, राक्षस, दानव प्रवृत्तिको विनास गरेको पाइन्छ । आपत विपतमा परेका भक्तहरुले दुर्गा भवानीको स्मरण ग¥यो भने आपत–विपत तत्काल नाश हुने विश्वास छ । देवी शक्तिमाथि वलियो आस्था भएकाहरुले आफ्नो घर परिवारको रक्षाका लागि पशु काटेर देवीलाई चढाउँने परम्परा कायम छ । मानिसहरुले दानव, राक्षस नाशिनी दुर्गा भवानीलाई स्मरण गरेर देवताहरुलाई पनि दुख दिने राक्षसहरुलाई पशुवली चढाउँछन् । विश्व प्रसिद्ध गढीमाईको यस वर्षको मंसिरमा हुने पाँचवर्षे मेलामा विश्वकै वढी बलि चढाइन्छ । गढीमाईको अपार शक्तिको निन्दा गर्नेहरु सबै समाप्त भइ जानेछन् ।
भनिन्छ, मन नै मन्दिर हो । सबै प्राणीको मन मन्दिरमा देवी देवताको वास हुन्छ । देवी जब वाहन वातावरण देखेर क्रोधित हुन्छन् । मनुष्यको मनमा भ्रम उत्पन्न हुन्छ । असुर, दानव, राक्षसले राज्यलाई नै भ्रष्ट पारेर देवगुण, रजगुण भएका मानिसहरुमा नकारात्मक प्रभाव पार्न थालेपछि आसुरी शक्तिबाट तिरस्कृत र अपमानित भएर बसेका सम्पूर्ण मानवहरुको रक्षा गर्न दैवी शक्तिले आसुरी शक्तिमाथि विजय प्राप्त गर्न युद्ध गर्छिन् । सबै खाले पापकर्म विरुद्धको युद्धले मात्र शान्ति र समृद्धी कायम हुन्छ । जगत जननी मा दुर्गा भवानीले यो धर्म त्यो सम्प्रदाय भनेर भेदभाव गर्दिनन । सत्यवादीहरुको रक्षा गर्ने क्रममा तमगुण भएकाहरुको विनास गर्छिन् । यस व्रम्हण्डका सम्पूर्ण अन्यायमा परेका मनुष्यहरुको कल्याण गर्ने मा दुर्गालाई नमस्कार गर्नाले चित्त शान्ति हुन्छ । दयाँसागर, शक्तिपीठ, नवदुर्गा भवानी लगायत अनेकौ देवीदेवतालाई आफ्नो रक्षाका लागि संझिने, पूजापाठ गर्ने महोत्सव हो दशै । मासु, च्यूरा, रक्सी, मिठो परिकार खाने, राम्रो कपडा लगाउने इष्टमित्र, साथिभाइसंग शुभकामना साटासाट गर्ने, मनोरञ्जन गर्ने, मान्यजनको हातबाट दही, अविर, अक्षताको रातो टिका लगाउने, आर्शिवाद लिने महोत्सव मात्र होइन दशै ।
दशैको मतलव ९ दिन ९ रात दुर्गा भवानीको पुजापाठ नाश, ध्यान नै हो । जस्ले भक्तिभावले पूजा गरेर दुर्गा भवानीलाइ रिझाउछ उसैलाइ शान्ति हुन्छ, उसैलाइ समृद्धि मिल्छ । मन, वचन र कर्म सफल हुन्छ । देवी देवताको युग, तन्त्र–मन्त्रको युग, सत्य युगमा देवी देवता र देवी देवताका भक्त मानिसहरुलाइ दुख दिने शक्तिशाली शुम्भ–निशुम्भ, महिषासुर, चण्डमुण्ड आदि नामका राक्षसहरुलाई कल्याणमय, स्त्री रत्न देवीहरुले नै समाप्त पारेकाले नारीलाइ आजसम्म लक्ष्मीका रुपले पुजिन्छ । सम्पूर्ण त्रैलोक्य मेरो अधिकारमा छ, सबै देवी देवता मेरो आज्ञाको अधिनमा चल्दछन् । सम्पूर्ण यज्ञको भाग पृथक पृथक मै भोग्दछु, तीनै लोकका असल–असल रत्न अस्त्र–शस्त्र मेरो वशमा छन् । अश्वरत्न लगायत रत्न, साधन, स्रोत मलाइ देवताहरुले पाउ पुरेर समपर्ण गरेका छन् भनेर कुर्लने, राक्षसी हासो हाँस्ने सबै दैत्यहरुको विनास विभिन्न नाम गरेका देवीहरुबाट हुदै आएको छ । राक्षसका अवशेषहरु अझै बाँकी छ ।
राक्षसी प्रवृत्ति बढ्दै गएको छ । एक मानिसले अर्को मानिसलाई शोषण, दमन र भेदभाव गर्नु नै राक्षसी प्रवृत्ति र व्यवहार हो । सबै प्रकारका विघ्न–बाधा र घोर ग्रह पीडा भनेर आशिर्वाद दिने देवीहरुको उत्तम महात्म्य दुर्गा सप्तसती पाठ दशैंको नवरथमा विधिपूर्वक गरेमा सम्पूर्ण दुराचारीहरुको बल नाश र सबै राक्षस, भूत, पिशाच, पाप, अधर्मलाई अन्त्य गर्न सकिन्छ ।
जगतको विध्वंस गर्ने महाभयंकर अतुल पराक्रमी शत्रु सबैलाई शक्तिपीठहरुको कृपाले नाश गर्न सकिन्छ । मनुष्यलाई भोग, स्वर्ग र मोक्ष उनै देवीले दिन्छिन् । यस संसारमा दुख पीडामा रहेको सबै मनुष्यको मुक्ति देवीको भक्ति, स्तुति र शक्तिबाट मात्र संभव छ । मनुष्यलाई इच्छा माफिकको बरदान दिने देवीदेवता नै हुन् ।