नेपालमा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क निर्माण हुने भएको छ । सो पार्क चिनियाँ सहयोगमा झापा जिल्लामा निर्माण हुन लागेको हो ।
एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्यगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर (बिहीबारको विनियम दर अनुसार ६३ अर्ब २१ करोड रुपैयाँ) लगानी गरेर निर्माण कार्य हुनेछ । सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने चिनियाँ प्रतिनिधिमण्डलका नेता जोउ चेङ जीले पार्क शुभारम्भ समारोहमा बताए ।
राजधानीमा बिहीबार एक कार्यक्रम आयोजना गरी पार्क निर्माण सुरु भएको घोषणा गरिएको हो ।
औद्योगिक पार्क निर्माणका लागि नेपाल लगानी बोर्ड र दमक क्लिन इन्डस्ट्रियल पार्कबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम राखिएको सो पार्कका अध्यक्ष गोविन्द थापा र लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
यो औद्योगिक पार्क झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिको क्षेत्र ओगट्छ । ती ठाउँमा जग्गा प्राप्तिका सबै प्रक्रिया पूरा भएको र अब निर्माण थालिने समारोहमा जानकारी दिइएको छ । चीनले अघि सारेको बेल्ट एन्ड रोड परियोजना अन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना हो ।
शुभारम्भ समारोहमा औद्योगिक पार्कका अध्यक्ष थापाले यो निर्माण कार्य नेपालको सबैभन्दा प्रभावकारी, आकर्षक र पारदर्शी हुने जानकारी दिए । उनले औद्योगिक पार्क निर्माणपछि नेपालमा विकासको नयाँ मोडल स्थापित हुने बताए । उनले भने, ‘नेपालीले विकासको ठोस परियोजनाको उदाहरण दिनुपर्दा विदेशतिरको दिनुपथ्र्यो । अब दमकमै नेपाल र नेपालीका लागि उदाहरणीय र गर्व गर्नलायक विकासको मोडल तयार हुनेछ ।’
चिनियाँ प्रतिनिधिमण्डलका नेता जोउ चेङ जीले शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सो औद्योगिक पार्क उद्योग र सहरको एकीकृत विकासको मोडलमा तयार पारिने बताए । उनले सो औद्योगिक पार्क दक्षिण एसियाको एकमात्र आधुनिक औद्योगिक क्षेत्रको रुपमा विकास हुने र औद्योगिक पार्क बनेपछि दसौं हजारले रोजगारी पाउने बताए । औद्योगिक पार्क बनेपछि नेपालमा ठूलो परिमाणमा राजस्व वृद्धि हुने र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त हुने बताए ।
लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले यो औद्योगिक पार्क निर्माणले नेपालको विकासमा ठूलो योगदान पुग्ने बताए ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दमकमा निर्माण हुने औद्योगिक पार्क नेपालकै मोडेल परियोजना हुने बताए । नेपालमा पिपिपी मोडलमा जलविद्युत् आयोजनाबाहेक अन्य खाले निर्माण कार्य नभएको बताउँदै बस्नेतले यो औद्योगिक पार्क पिपिपी मोडलको पहिलो गैरजलविद्युत् आयोजना भएको जानकारी दिए ।
पार्कमा चीनको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रियसन कन्सट्रक्सन कम्पनीको लगानी रहनेछ । साउन तेस्रो साता लगानी बोर्डले औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन चिनियाँ लगानीकर्तालाई अनुमति दिएको थियो । बोर्डले कम्पनीको ६४ अर्ब लगानी स्वीकृत गरेको थियो ।
उक्त औद्योगिक पार्कमा विदेशी लगानीका उद्योगलाई आकर्षित गर्ने योजना छ । स्थानीय तहले कम्तीमा १० वर्षसम्म कुनै उद्योगसँग कर नलिने घोषणा गरिसकेको छ ।
पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत उद्योगलाई आकर्षित गर्ने योजना छ । औद्योगिक पार्क निर्माण गरेपछि चीनमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू पार्कमा आउने अपेक्षा गरिएको छ । पार्क ४० वर्ष चिनियाँले नै सञ्चालन गरेर नेपाललाई हस्तान्तरण गर्नेछन् । पार्क निर्माणका लागि नेपाल सरकारले जमिनमात्र उपलब्ध गराएको छ ।
औद्योगिक पार्कमा करिब एक लाख रोजगारी सिर्जना हुने बताइएको छ । सरकारले औद्योगिक पार्कका लागि आवश्यक पर्ने दुई हजार दुई सय बिघा जग्गामध्ये एक हजार सात सय ९० बिघा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दिइसकेको छ । नौ सय ४२ बिघा जग्गा लिमिटेडको नाममा निःशुल्क प्राप्त भएको छ । चार सय ११ बिघाको मुआब्जा वितरण भइरहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेको सम्पर्क कार्यालयका अनुसार एक सय १७ जग्गाधनीले दुई सय ६५ बिघा जग्गाको १२ करोड सात लाख रुपैयाँ मुआब्जा बुझेका छन् । जिल्ला प्रशासन कार्यालयअन्र्तगतको सिफारिस समितिले जग्गालाई तीन वर्गमा बाँडेर मुआब्जा निर्धारण गरेको थियो । चिनियाँ उद्योगी, व्यवसायीले आयोजनास्थलको यसअघि नै अवलोकन गरेका छन् । केही समयअघि चिनियाँ ग्लोबल एनजिओ युनियनका उपाध्यक्ष चउ हुई जोनको नेतृत्वमा आएको टोलीले योजनास्थल अवलोकन गरेको थियो ।
- नागरिक न्यूज