देशभित्रै घुम्नेको संख्या पछिल्लो समय बढ्दो छ । त्यसका लागी नयाँ गन्तव्यहरुको समेत खोजि भइरहेको छ ।
दशैंमा पारिवारिक वातावरणसंगै धेरैले घुमफिर गर्न रुचाउँछन् । पछिल्लो समय प्रदेश नम्बर २ मा पर्यटकीय गन्तव्यहरु बढेको छ । पर्साको बौद्धचैत्य भिस्वा डाडा, विश्व हिन्दू पार्क लक्ष्मनवा, गिता मन्दिर, गहवा माइको मन्दिर, वीर्ता माईको मन्दिर, अलखिया मठ, महावीर स्थान, घडीअर्वा पोखरी, विन्ध्यवासिनी माईको मन्दिर, जिल्लाकै प्रसिद्ध पर्सागढी, महुवनमठ, ठोरी, पर्सा वन्यजन्तु आरक्षण, हलखोरिया दह, दिव्येश्वर महादेव, सहजनाथ मन्दिर, भाठा लगायतको क्षेत्र पर्यटकीय क्षेत्र पनि हुन् ।
प्रदेश २ मै रहेको विश्व प्रसिद्ध बाराको गढीमाई मन्दिर, सिम्रौनगढ, पर्साको गहवामाई, बौद्ध चैत्य भिस्वा, सहजनाथ मन्दिर, सिरहाको सलहेश, जनकपुरधाम, धनुषधाम, सप्तरीको छिनमस्ता, सर्लाहीको नाढिमन ताल, सतही विहुला, नारायणपुर नाजिर मजार, सप्तरीको ठेलिया दह, महोत्तरीको पडौलस्थान, रौजा मजार जस्ता एतिहासिक सांस्कृतिक तथा धार्मिक स्थलहरु नजिकै सहजै रुपमा घुम्न सक्ने ठाऊँहरुमा पर्दछ ।
प्रशिद्ध गढिमाई
बारा जिल्लाको सदरमुकाम कलैयाँबाट ९ किलोमिटर पुर्वमा पर्ने गढिमाई मन्दिर विश्व मै बलिप्रथाका लागी प्रख्यत देवस्थल हो । हरेक पाँच वर्षमा लाग्ने यस मेला हेर्न विश्वका २८ देशभन्दा बढीका नागरिक यहाँ आउने गरेको मेला समितिको तथ्याङ्क छ । यसैवर्षको मंसिरदेखी लाग्ने मेला दशैंताका हरेकवर्ष दर्शनार्थीहरुको घुईचो लाग्ने गर्दछ ।साचो र स्वच्छ ह्रदयले गढीमाई माता संग मागेको कुरा पूरा हुने आस्था र विश्वास रहदै आएको यस गढीमाईको मेलामा विभिन्न मनोआकांक्षा र भाकल पुरा भएपछि भक्तजनहरुले रागा, बोका, च्याग्रा लगायतको बलि दिईने गरिन्छ ।
मेला अवधिभर भारतको बिभिन्न राज्य तथा नेपालको गरी लाखौंको संख्यमा धार्मिक पर्यटक एवंम् भक्तजनहरु यहाँ आउने गर्दछन । यहाँ घुमघामका लागी जादाँ खाजा नस्ता सहजै पाएपनी स्तरीय होटलको खाचो रहेको पाईन्छ ।
सिम्रौनगढ :
ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक दस्तावेजले सम्पन्न सिम्रौनगढलाई इतिहासको खुल्ला संग्रहालयको रूपमा लिने गरिएको छ ।
वीरगंजबाट २८ कि.मी. पूर्वमा पर्ने यहाँ मात्रै बलि नचढाइने संसारकै एकमात्र हिन्दु धर्मावलम्बीको शक्तिपीठको नामले कंकाली मन्दिर परिचित छ । १२ औं शताव्दीमा तत्कालीन राजा शिवसिंहद्वारा निर्माण गरिएको महत्वपूर्ण राष्ट्रिय सम्पदा रानीवास मन्दिरले पनि आफ्नो छुट्टै पहिचान बोकेको छ ।
राष्ट्रकै सबभन्दा ठूलो पोखरा ‘५२ बिघा झरौखर पोखरा’ले पनि यसलाई थप रौनकता प्रदान गरेको छ । यस नगरकै हरिहरपुरमा अवस्थित एक विशाल पत्थरको बाकसको आफ्नै रहस्यमय सन्दर्भ छ । यी र यस्ता सम्पदा यहाँको पारिवारीक भ्रमणलाई थप उर्जाशिल बनाउन सक्छ ।
यस क्षेत्र ११ औं देखि १४ औं शताब्दीका ‘सिम्रौन राज्य’ अथवा ‘कर्नाटवंशी राज्य’ र १८०० वर्ष पुरानो गुप्ताकालका विभिन्न पुरातात्विक कलाकृतिहरू तथा पुरावशेषहरू भेटिएका छन् ।
अहिले पनि यहाँका खेतहरूमा उत्खनन गर्दा तिरहुत सभ्यता झल्किने सुनचाँदीका मूर्ति र अन्य अवशेषहरू पाइने गरेका छन् । एतिहासिक ठाऊँ भएपनी अझै यहाँ बस्ने र खाने स्तरीय होटलको अभाव खडकिने गर्दछ ।
अमलेखगंज :
२०४० सालमा पर्सा वन्यजन्तु आरक्षको स्थापना भएर हाल राष्ट्रिय निकुञ्जमा परिणत भएको यसक्षेत्र ४ सय ९९ वर्गकिलोमिटरमा फैलिएको छ । वीरगंजबाट १ घण्टा मै पुग्न सकिने यस निकुञ्ज राजधानी काठमाडौँको सबैभन्दा छोटो दुरीमा पुग्न सकिने निकुञ्ज हो । यहाँ पिकनिक तथा पारिवारीक भ्रमणका लागी समेत उपयुक्त वातावरण मानिन्छ ।
यहाँ रैथाने जङ्गली हात्ती, पाटे बाघ गौरी गाई, चितुवा, बदेल, घोडगधा तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको सहज अवलोकन तथा जंगल सफारी गर्न सकिन्छ ।
यस निकुञ्जभित्र ६० देखि ६५ वटासम्म जङ्गली हात्ती छन् । भने एकसिङे गैँडा, गौरी गाई , विभिन्न प्रजातिका स्तनधारी वन्यजन्तु, चराचुरुङ्गी, ३१ प्रजातिका पुतलीहरू रहेका छन् । लहरै पर्याप्त मात्रामा होटल भएकाले यहाँ खान बस्न सकिनेछ ।
भिखना ठोरी :
चितवनसँग सीमाना जोडिएको पर्साको ठोरी पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुदैँ गएको छ । वीरगंजबाट ४५ किलोमिटर उत्तरमा पश्चिममा अवस्थित ठोरीमा होमस्टे, भ्यु टावर, झोलुङ्गे पुल, वनभोज स्थल, जंगल सफारी ‘फनपार्क’ लगायतका पूर्वाधार धमाधम बनेका छन् । यसका साथै २ हेक्टर क्षेत्रफलमा वृक्षारोपण र गुम्बा निर्माण गरेर धार्मिक वनको रुपमा यसक्षेत्रलाई विकास गरिएको छ । पर्यटकको आवासका लागि ठोरीमा होमस्टे र सामान्य होटल सञ्चालनमा रहे पनि सुविधा सम्पन्न होटलको अभाव छ । पारीवारीक वातावरण रहेकाले घुमघामसंगै वसोबास गर्न सकिनेछ ।