प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबैले अग्रसर हुनुपर्ने बताएका छन् । वडादशैंको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उक्त आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालीहरू राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा रहेको स्मरण गराएका छन् ।
‘यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रूपमा विकास पनि गर्नुछ । यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानका छौँ । यस अभियानमा यो दशैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस् ।‘ प्रधानमन्त्री ओलीले दशैं मनाइरहँदा स्वास्थ्य, मित्रता, सामाजिक शान्तिलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले चाडपर्वमा आफूले गर्ने व्यवहारका कारण कसैलाई पनि प्रतिकूल असर पार्न नहुने कुरामा विशेष जोड दिएका छन् ।
‘छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने, परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया ममता र सद्भाव फैलियोस् भन्ने तर्फ सबैको ध्यान हुनु जरुरी छ । यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ’, प्रधानमन्त्रीले आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले चाडहरू बढी खर्चालु नबनाउन सबैलाई आग्रह गरेका छन् । ‘हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ । यसमा पनि ध्यान दिन जरुरी छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी नेपालीहरुको महान र परम्परागत चाड वडादशैंका उपलक्ष्यमा देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाई दिदीबहिनीहरुमा हार्दिक एवं मंगलमय शुभकामना व्यक्त गर्दछु ।
‘प्रधानमन्त्री ओलीले दशैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनर्मिलनको चाड भएको उल्लेख गरेका छन् । ‘दशैं आफन्तहरूको बीचमा, छिमेकीहरूका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकताका साथ मनाइने चाड हो’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यो चाड आफूभन्दा ठूलाहरूबाट आशीर्वाद लिने सानाहरूलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो । यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ । भव्यताका साथ मनाइरहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरूलाई तोड्दै जानुपर्ने पनि आवश्यकता छ ।’