पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले सरकारी बजेटबाट भइरहेको विकास निर्माणको काम गुणस्तरीय बनाउन जनताको निगरानी आवश्यक रहेको बताउनु भएको छ ।
जनता दर्शन अभियान अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १६ शीवम टोलमा विहिबार स्थानीयवासीसंग छलफल गर्दै सांसद यादवले ठेकेदार माथि पनि निगरानी गर्न स्थानीयसंग आग्रह गर्नुभयो । नगवामा शहरी विकासको बजेटबाट निर्माण गर्ने भनिएको सडक निर्माण कार्य अहिले सम्म पनि शुरु हुन नसकेको गुनासो स्थानीयले गरेपछि सांसद यादवले छठ पर्व अघि उक्त सडकको काम शुरु नगरिए सडक निर्माणको ठेक्का लिएका ठेकेदार नै परिवर्तन गराउन दबाब दिने बताए । वीरगन्ज महानगरमा एशीयाली विकास बैंकको ऋण अनुदानमा सन्चालित योजनामा सम्बन्धित निकायले स्थानय जनतासंग पनि सहकार्य गर्नु पर्ने सांसद यादवको भनाई थियो ।
अपनेके सांसद अपनेके द्वार भन्ने नारा सहित सन्चालित जनता दर्शन अभियानका क्रममा आयोजित स्थानीयवासीसंगको छलफलमा सहभागी शीवम टोलका स्थानीयले प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको सडक र नालाको काम गुणस्तरीय नभएको गुनासो सांसद यादव समक्ष गरेका थिए । उनिहरुले टोलमा सार्वजनिक शौचालय र धर्मशाला नभएको , सडक साँघुरो रहेको पनि बताएका थिए । उनिहरुले टोलको विकास लागि महानगरपालिकाले कुनै चासो नै नदेखाएको गुनासो गरेका थिए ।
कार्यक्रममा टोल सुधार समितिका सचिव सन्तोष नेपालीले महिला सशक्तिकरणका लागि महिला उद्यमशीलता कार्यक्रमका लागि पहल गरिदिन सांसद यादव समक्ष आग्रह गर्नु भयो । स्थानीयको गुनासो र समस्या सुनेपछि सांसद यादवले शीवम टोलमा विद्यमान समस्या सामधानका लागि आफुले संघ, प्रदेश र स्थानीय सरकारसंग समन्वय गर्ने प्रतिबद्धता जनाउनु भयो ।
समाजवादी पार्टीका इकाइ अध्यक्ष अरुण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष श्यामबाबु चौरसीया, स्थानीय अगुवा प्रमोद कर्ण, अशोक पटेल, मुन्ना साह, विकास साह, लालदेव यादव, जनार्दन चौधरी, अशोक सर्राफ, समीर अहमद लगायतको पनि उपस्थिती रहेको थियो ।