राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्षमण्डलका नेता राजकिशोर यादवले विभिन्न राजनीतिक दलले मधेशलाई अवसरको भाँडोको रुपमा मात्र प्रयोग गरेको बताएका छन् ।
सिरहाको कल्याणपुर नगरपालिका–९, डुमरीमा आयोजित शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले मधेशी जनता नेकपा, कांग्रेस र फोरमको जालझेलमा पर्नु महाभूल भएको बताए ।
‘मधेशी जनताको मनमा छलकपट छैन, सोझा र मनका धनी छन्’, उनले भने, ‘मधेशी जनता, अधिकार र विकासको आशामा सदियौंदेखि कांग्रेस, तत्कालीन एमाल, माओवादी एवं हालको नेकपालाई भोट दिए ।’
उनले भने, ‘तर आजसम्म कांग्रेस र नेकपाले मधेशलाई के दियो रु’ नेता यादवले नेकपा र कांग्रेसले मधेशलाई भाँडोको रुपमा मात्र प्रयोग गरेको कुरा मधेशी जनताले बुझ्न अति जरुरी रहेको बताए ।
मधेशीकै भोटको सहारामा नेपालको सत्तामा शासन गरेका पार्टीले उत्पीडनमा परेका मधेशी जनतालाई अधिकार दिलाउनुको साटो विभिन्न कानूनमार्फत् अधिकार नै कटौती गरेर झन कमजोर बनाउने काम गरेको नेता यादवले बताए ।
प्रतिनिधि सभाका सांसद समेत रहेका नेता यादवले विकासको काममा पार्टीभन्दा माथि उठेर लाग्न जनप्रतिनिधिसहित सबैलाई आग्रह गरेका छन् ।