माछा उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि बारामा व्यवसायिक रुपमै माछापालन तर्फ किसानहरुको संख्या थपिदै गएको छ ।
जाडो महिनामा माछाको उपभोग संख्या सहित माँग समेत बढनुको साथै राम्रो आम्दानी हुने भएकोले यस क्षेत्रका किसानहरु व्यवसायिक रुपमै माछापालन तर्फ झन आकर्षित हुन थालेका हुन् ।
बजारका लागि पनि उत्पादित माछा पोखरीकै डिलसम्म व्यापारीहरु पुग्न थालेपछि माछा व्यवसायिहरु थपिन थालेको माछाकिसानहरुले बताए ।
माछापालनका लागि आवश्यक पूर्वाधारसँगै पानीको श्रोत सुहाउँदो माटो, न्यानो हावापानी तथा वर्षमा ३ पटकसम्म विक्री गर्न सजिलो भएको हुनाले अन्य कृषि व्यवसायभन्दा माछापालन व्यवसाय आम्दानीको मुख्य श्रोत बन्दै गएको सिम्रौनगढ नगरपालिकाका माछा किसान नेजामुद्दिन मियाले मध्य नेपालसँग बताए ।
माँग अनुसार माछाको आपूर्ति गर्न धौ—धौ परेको छ । माछा उत्पादनको लागि आवश्यक दानाको भाउ दिन प्रति दिन बढ्दै गएको छ । साथै आवश्यकता अनुसार नेपालमा नभै भारतबाट थप महंगो मूल्य तिरी दाना खरीद गर्नु परेको हुनाले माछाको मूल्य बढाउनु पर्ने व्यापारी मोहन प्रसाद कुशवाहाको भनाइ छ । बारामा सिलवर, विग्रेड, कमन, रोहु, नैनी, गरास, भाकुरा जातका माछाहरु उत्पादन गर्दै आएको उनी बताउँछन् ।
नेपाल सरकारले बारा जिल्लालाई माछाको पकेट क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तर्गत सुपरजोन कार्यक्रम समेत लागू गरेका छ । सुपरजोन कार्यक्रम लागू भए पश्चात यस क्षेत्रका किसानहरु झन उत्साहित भई थप माछापालन तर्फ लागि परेको किसानको भनाइ छ ।
अन्य कृषि व्यवसायभन्दा यस जिल्लामा माछा उत्पादन तथा बजार व्यवस्थापन सँगै माछा पालनका लागि थप नयाँ कार्यक्रम लागू भएको थाहा पाउँदा पाउँदै तोकिएकोभन्दा चारगुणा बढि संख्यामा निवेदन परेको हुनाले आफूलाई समेत समस्या हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरतन साहले बताए । कुल उत्पादित माछा पोखरीको डिलैबाट २५ प्रतिशत भारत निर्यात गर्दै आएका छन् किसानले । बाँकी माछा काठमाणडौ वीरगंज जनकपुर पोखरा चितवन लगायतका प्रतिष्ठित शहरमा निर्यात गर्दै आएका छन् उनले भने ।
बारामा कुल खेती योग्य जग्गा मध्ये झण्डै तीन हजार हेक्टर क्षेत्रफलमा चार हजार चार सय ५५ वटा पोखरी खनी माछा उत्पादन व्यवसाय किसानहरुले गर्दै आएका छन् । प्रति हेक्टर क्षेत्रफलमा ६.२ मेट्रिक टन माछा उत्पादन हुनुका साथै वार्षिक तीन अरबको माछा विक्री हुने गरेको उनको तर्क छ ।
जिल्लाका माछा पालन व्यवसाय प्रतिको बढदो किसानहरुको चाहनालाई नेपाल सरकारले जोन र सुपर जोन कार्यक्रम संगसंगै अझ थप नयाँ तथा प्रभावकारी रुपमै आर्थिक एवं प्राविधिक विज्ञहरुको सहयोगको व्यवस्था मिलाउने हो भने देशको कुल माँगको ६० प्रतिशत माछा उत्पादन गरी अर्थतन्त्रलाई थप मजबुत बनाउन बारा जिल्ला नमूना हुन सक्ने उनि बताऊँछन् ।