हत्या, हिंसा लगायत विभिन्न अभियोगमा संलग्न रहेकाहरुलाई सजाय दिनका कारागारमा पठाइन्छ । अहिले त सरकारले कारागारलाई बन्दी सुधार गृह भनेर नाम परिवर्तन गरेको छ । कुनैपनि अभियोगमा सजाय पाएकाहरु केही दिन आफन्तसँग टाढिएर बसे भने उसले गरेको गल्तीको अनुभूति होस् र भोलिका दिन त्यस्ता केही गल्ती नगरोस् भन्ने उद्देश्यले राज्यले कारागारलाई अहिले बन्दी सुधार गृह भनेको छ । तर वीरगंज स्थित कारागारको कथा व्यथा भिन्नै छ ।
गल्ती गरेर कारागार चलान भएकाहरुलाई सुधार्नुको सट्टा कारागारका सम्बन्धित व्यक्तिहरुको मिलोमतोमा नाइकेले कैदीबन्दीहरुलाई कुटपिट गर्ने, परिवारजनसँग पैसा असुल्ने लगायत कमाई भाँडो बनाएका छन् । वीरगंज कारागारमा लामो समय विताएका एक जना कैदी जसको दबदबा वीरगंज कारागारमा मात्र नभई काठमडौं स्थित केन्द्रिय कारागारसम्म छ । उनी कैदी भएपनि उनको जीवन राजकीय जीवन भन्दा कम छैन । कारागारभित्र रहेका कैदीहरुलाई रेखदेख गर्नका लागि त्यस भित्रकै कैदीलाई नै नाइके बनाइन्छ र सम्पूर्ण नाइकेलाई सम्हाल्नका लागि एक जना कैदीलाई चौकीदार बनाइन्छ र त्यसले सम्पूर्ण कैदीबन्दीहरुलाई रेखदेख गर्ने गर्दछन् । तर वीरगंज कारागारमा त्यस्तो छैन ।
एक जना चौकीदारले कारागारभित्रबाटै के कस्ता प्रोपगण्डा मच्चाई रहेका छन् भन्ने पत्यार गर्न सक्ने अवस्था छैन । कारागारको जिम्मा सम्हाल्लेका चौकीदार शेख भोलाले आतँक मच्चाई रहेका छन् । उनी कैदी भएपनि चौकीदार हुने वित्तिकै उनीलाई बजारमा घुम्न, सामान किन्न जाने उनीलाई छुट छ । कारागार प्रशासनले आफ्नो विश्वासनीय कैदीलाई चौकीदारको जिम्मेवारी दिन्छ र त्यो चौकीदारले सम्पूर्ण कारागारलाई नै रेखदेख गर्ने गर्दछ । तर यसलाई सदुपयोग भन्दा पनि वीरगंज कारागारमा दुरुपयोग बढि भएको छ । जेल प्रशासन लगायत प्रहरी, प्रशासनलाई समेत आफ्नो प्रलोभनमा पारी कारागारभित्रबाटै प्रशासनलाई चलाउने गर्दछन् र कारागारभित्र आतँकको योजना बनाउँछन् र भित्रबाटै कैदीहरुलाई शोसन गरि लाखौं शोसन गर्ने गरेका छन् ।
चौकीदारले कारागार भित्र गर्ने गरेको डरलाग्दो क्रियाकलाप
केही दिन अघिसम्म वीरगंज कारागारमा आतँक मच्चाउँदै आएका पूर्व चौकीदार विदेशी साह । वीरगंज महानगरपालिका वडा नं. २० हरपतगन्ज घर भई अपहरण, हत्या लगायत विभिन्न मुद्दामा सन् २००१ मा पक्राउ परेका (बागरविल्ला) भन्ने विदेशी साह साढे ३ वर्षको सजाय काटि कारागारमुक्त भए । त्यस पश्चात भारतको मोतिहारीमा बैंक चारी, कोटमा गोली काण्ड लगायतका घटनामा संलग्न रही भारतबाट फरार अभियुक्त साह वि.स. २०६६ मंसिर २६ गते वीरगंजबाट पक्राउ परे । उनीमाथि आधा दर्जन भन्दा बढि मुद्दा दर्ता भयो र तीन वटा मुद्दामा सर्व सहित जन्मकैदको सजाय सुनाइयो भने केही मुद्दामा ११ वर्ष कारागार ५० हजार जरिवाना, हात हतियार मुद्दामा ४ वर्ष ३ महिना कारागार तथा २० हजार जरिवाना सजाय सुनाइयो । त्यस पश्चात वीरगंज स्थित कारागार चलान भएका साहले कारागारभित्रै योजना बनाई आतँक मच्चाउनुका साथै आफ्नो शासन कार्य शुरु गरे । कारागारभित्रबाटै फिरौती माग्ने, अपहरण गराउने तथा कैदीबन्दीहरुसँग पैसा असुल्ने जस्ता कार्यहरु गर्न थाले ।
उनी अन्य तीन जना कैदी लालबाबु अन्सारी, शम्भु गौतम तथा सुक्रेराज तामा·को सहयोगमा कारागारभित्रबाटै आतंक मच्चाउन थाले पश्चात यि चारै जना कैदीलाई २०६७ साल फागुन १६ गते अन्यत्र कारागारमा सरुवा गरियो, जसमा साह सर्लाही जिल्लाको मलंगवा स्थित कारागार पुगे । आफ्नो पहिचान तथा आतँकले कारागारभित्रबाटै पहुँच बनाई सकेका साह रामेछाप, गौर हुँदै पुनः वीरगंज स्थित कारागार आईपुगे, अनि वीरगंज कारागारमा भयो उनको दबदबा । साह कारागार बाहिर रहेर पनि सम्पत्ति आर्जन गर्न नसकेपनि कारागारभित्रबाटै उनले करोडौ सम्पत्ति आर्जन गरे ।
कारागारभित्रै आफ्नो समूह बनाई कैदीहरुलाई शोषण गर्ने कार्य शुरु गरे । कारागार भित्र रहेका मेस तथा पसलहरुमा विक्री हुने सामानहरुको मूल्य भाउ साहकै इशारामा तोकिन थालियो । जेलर, प्रजिअ तथा त्यहाँ सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी पनि साहकै इशारामा कुद्न थाले । साहको इशारामा नै कारागारमा विभिन्न नियम कानूनहरु लाग्न थाल्यो । खाने कुराहरुको भाउ दुई, तीन गुणा बढाइयो । घरबाट पैसा मगाएर नगदी सामान किनेर कैदीहरु खानुपर्ने अवस्था भयो । यही आतँक मच्चाएको कारण उनको ३ पटक यहाँबाट अन्यत्र सरुवा भयो तर सरुवा स्थानमा जान मानेनन् र उनलाई वीरगंज कारागारमै राख्न मद्दत गरे जेलर तथा प्रजिअ ।
कारागार विभागले साहलाई चौथो पटक २०७५ भदौ ६ गते मकवानपुर जिल्ला भिमफेदी स्थित क्षेत्रीय कारागारमा सरुवा गर्यो । त्यो बेला पनि उनी सरुवा गरिएको कारागार जान मानि रहेका थिएनन् र उनलाई वीरगंज कारागारमै राख्न सरकारी निकायबाटै सहयोग गरिएको थियो तर तिनीहरुको योजना विफल भयो । सञ्चारगृहहरुको दबाबको कारण उनलाई सरुवा गरिएको स्थान जानुपर्यो । त्यहाँबाट साह पुनः नेपालगन्ज कारागार पुगे, केही दिनको त्यहाँको बसाईपछि आफ्नो पहुँचको आधारमा केन्द्रिय कारागारबाटै उनी पुनः आफ्नो सरुवा वीरगंज स्थित कारागार गराए, अनि २०७६ साउन ९ गते उनी पुनः वीरगंज कारागार पुगे ।
तर वीरगंज कारागार आएपछि उनले आफू चौकीदार हुँदा बखत गरेको शासन गर्न पाएनन् । उनले आफ्ना विश्वासिलो पात्र शेख भोलालाई चौकीदारको जिम्मा लगाएर अन्यत्र सरुवा भएका थिए तर उनी पुनः सरुवा गराएर वीरगंजसम्म आईपुग्दा उनका विश्वासिलो पात्र शेख भोलाले जेल प्रशासन लगायत प्रहरीको सहयोगमा उनलाई नै गोलघरमा राखी कुटपिट गर्न लगाइएका छन् ।
समग्रमा भन्ने हो भने, कारागारलाई रेखदेखको जिम्मा पाएका चौकीदार पदमा जो कोही भएपनि यो शासन प्रक्रियालाई निरन्तरता दिने गरेका छन् । पहिला विदेशी साहले शासन गरे अहिले शेख भोलाले शासन गरि रहेको जानकारी प्राप्त भएको छ । यस विषयमा कारागार प्रशासनसँग बुझ्दा उनले यस्तो गतिविधि नरहेको दाबी गरे तर उनको विषयमा समग्रमा कुरा बाहिर आइरहेको छ भनेर चौकीदारलाई सबै सुनाए र अहिले त्यही चौकीदारको इसारामा जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न कार्यहरु गरिरहेको सुचना बाहिरिएको छ । पूर्व कैदीहरुलाई जुनसुकै बेला जुनसुकै स्थानबाट पक्राउ गरि ल्याई थुनामा राखी सोधपुछको नाममा यातना दिने कार्य गरि रहेको छ । विदेशी साह चौकीदार भएका बेला कारागारमा रहेका कैदीहरुलाई जिल्ला प्रहरी कार्यालयको घुमुवा प्रहरीले उठाएर ल्याई कसलाई चौकीदार बनाउने भनेर सोधपुछ गरि रहेका छन् ।
चौकीदारको इसारामा कैदीमाथि शोषण
चौकीदारको इसारामा चल्ने ८० जना बाउन्सर कारागारभित्र पालिएको छ । उनीहरुलाई सधैं मासु, अण्डा, दुध लगायत केही सीमित मात्रामा महिनाको तलब वापत पैसा दिने गरिन्छ । उनीहरुको काम यती मात्रै हो । नयाँ कैदीबन्दीहरुलाई कुटपिट गर्ने र खाने । कारागारमा चलान भएर आएका नयाँ कैदीबन्दीहरुलाई गोलघरमा लगी बाउन्सरहरुले कुटपिट गर्छन् अनि उनीहरुको परिवारजनको क्षमता अनुसार पैसाको माग गर्छन् । परिवारजनसँग नगद भए चाँडै ल्याएर दिन्छन् नभए घर, जग्गा बेचेर केही दिनमा ल्याएर दिन्छन् तबसम्म त्यो कैदीलाई दैनिक कुटपिटको साथसाथै शौचालय सफा गर्ने जस्ता कार्यहरु गर्नुपर्छ । त्यस पश्चात केही दिनसम्म प्रत्येक महिनाको केही सीमित दरले मासिक रकम नाइकेलाई बुझाउनुपर्छ । नाइकेको नाममा कारागारको चौकीदारले पैसा असुल गर्छ र त्यही पैसाबाट सबैको भागवण्डा हुन्छ । यही कार्यबाट विदेशी साह चौकीदार भएपछि लगभग १५ करोडको सम्पत्ति जोडेका छन् ।
कारगार चलान हुनु भन्दा अगाडि जग्गाको नाममा ५ धुर जग्गा र १ कठ्ठा खेत मात्रै रहेको साहको अहिले वीरगंज, कलैया तथा गाउँमा भवन नै खडा गरेका छन् । वीरगंज स्थित श्रीपुरमा ३ तल्ले भवन, कलैयामा २ तल्ले भवन र गाउँमा एक तल्ले भवन जोडेका छन् । आम्दानीको नाममा कारागारमा केही सीपमुलक तालिमहरुको कमाई मात्रै हुन्छ तर कारागारको ७ वर्षको बसाईमा करोडौको सम्पत्ति जोडेका छन् । उनको शोषणको विषयमा केही दिन अगाडि कारागारबाट निस्केका तीन चार जना कैदीले पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरे तैपनि उनको शासन रोकिएको थिएन ।
कारागारभित्र कैदी जीवन विताई रहेकाहरुको बारेमा बुझ्न यहाँका मानव अधिकारकर्मी, प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकको टोली नै सधैं कारागार पुग्छ तर कोही कसैले आफूले भोगी रहेको दुःखको बारेमा बोल्न आँट पनि गर्दैनन् । सायद यसै कारण उनी कारागारमा आफ्नो शासन स्थापित गर्न सफल भएका छन् । तर कारागारमुक्त भएका केही कैदीहरुले उनको शासणको बारेमा पर्दाफास गरेका छन् ।
साह वीरगंज कारागारमा चौकीदार भएको बेला उनले गरि रहेको शोषणबाट पीडित भई २०७३ साल पुस १० गते एक कैदीले गरेको चक्कु प्रहारबाट अन्य कैदीको मृत्यु भएको थियो । पुस १० गते साँझ कारागार परिसरमै क्रिसमस मनाई रहेकै बेला रौतहटको पिपरिया घर भएका कैदी पनिलाल पण्डितले गरेको चक्कु प्रहारबाट एक कैदीको मृत्यु भएको थियो भने अन्य ४ जना कैदी सामान्य घाइते भएका थिए ।
मृत्यु हुनेमा वीरगंज महानगरपालिका – १० घडिअर्वा बस्ने राजन बाँनिया रहेका थिए । झापाको कारागारबाट सरुवा भई वीरगंज कारागारमा आएका पनिलाल पण्डितले क्रिसमस मनाइ रहेकै अवस्थामा अन्धाधुन्द गरेको चक्कु प्रहारबाट बानियाँ गम्भिर घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो । अपहरण, शरीर बन्धक, धम्की तथा चन्दा असुली मुद्दामा कैद सजाय भोगिरहेका पण्डित घटना हुनुभन्दा तीन महिना अघि मात्रै वीरगंज कारागारमा सरुवा भई आएका थिए भने मृतक बानियाँ शरीर बन्धक तथा अपरण मुद्दामा कैदी जीवन विताइ रहेका छन् । अत्यन्त सम्वेदनशील कारागार जस्तो स्थानमा भएको हत्या काण्डलाई विदेशी साहको इसारामा तत्कालीन जेलर चक्रपानी गौतमले घटनालाई ढाकछोप गर्न मद्दत पु¥याएका थिए र कैदीको मृत्यु भएपछि घटना साम्य भएको थियो । घटना पूर्व योजना अनुसार गरिएको भनेर न्यायको लागि परिवारजनले सम्बन्धित निकायसँग हारगुहार गरे तर न्याय पाएनन् र घटनाको मुख्य योजनाकार उम्कन सफल भए ।