‘सोसियल चेन्ज मेकर एन्ड इनोभेटर्स’ (सोचाई) संस्थाकी संस्थापक नेपाली चेली बोनीता शर्मा बीबीसीले छानेको विश्वका प्रेरणादायक र प्रभावशाली १०० महिलाको सूचीमा परेकी छिन् ।
बीबीसीले महिला सशक्तिकरणसँगै पोषण क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विश्वका १०० प्रभावशाली महिलाको सूचीमा उनलाई पनि समेटिएको जनाएको छ । उनी कुपोषणबाट हुने बाल मृत्युदरसँग लड्न पोषण माला (न्युट्रबिड्स) डिजाइन गरेर अभियान सञ्चालन गर्दै आएकी छिन् ।
बीबीसीले हरेक वर्ष विश्वका विभिन्न क्षेत्रका प्रेरणादायक र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सार्वजनिक गरेको सूचीमा विभिन्न देशका महिलासँगै बोनिता पनि समेटिएकी हुन् । उनी नेतृत्वको संस्थाले महिला सशक्तीकरणसँगै पोषण क्षेत्रमा काम गर्दै आइरहेको छ ।
आफू प्रेरणाादायी महिलाकाे सूचीमा परेकाेमा खुशी व्यक्त गर्दै बाेनिताले काठमाडाै प्रेससँग भनिन्, 'मैले राेल माेडल मान्ने स्वीडेनकी चर्चित किशोरी तथा वातावरणवादी अभियन्ता ग्रेटा थनवर्गसहितका संसारका महिलाकाे सूचीमा आफूलाई पाउँदा अत्यन्त खुशी छु । यसलाई हामीले गरेकाे कामकाे मूल्याङ्कनकाे रुपमा बुझेकी छु । मलाई थप काम गर्न उत्प्रेरणा मिलेकाे छ ।'
सूचीमा स्वीडेनकी चर्चित किशोरी तथा वातावरणवादी अभियन्ता ग्रेटा थनवर्गदेखि अमेरिकाकी कान्छी अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज पनि रहेका छन् । उक्त सूचीमा सिरियाको निर्माणमा संलग्न आर्किटेक्टदेखि नासाको मार्स हेलिकोप्टर परियोजनाका म्यानेजरसम्म रहेका छन् ।
सूचीमा राजनीतिज्ञ, खेलाडी, राजनीतिज्ञ, कलाकार, अधिकारकर्मी, शान्ति अभियन्ता, वातावरणवादी, लेखक, कानूनविद, मेयर, बक्सर, पत्रकार, कवि, खेलाडी, चिकित्सक, वैज्ञानिक, फिल्मनिर्माता, डिजाइनरलगायतका पनि छन् ।
को हुन् बोनिता?
काठमाडौंकी २६ वर्षीया युवती हुन्– बोनिता शर्मा । उनले जनस्वास्थ्यमा स्नातक र पोषणमा स्नातकोत्तर गरेकी छिन् । उनले स्नातक गरेलगत्तै सात वर्षअघिदेखि सामाजिक क्षेत्रमा क्रियाशील छिन् ।
उनी दायाँ हातमा दुइटा माला (ब्रेसलेट) सधैँ लगाउँछिन्– हिजोआज । दुवै मालाका फरक–फरक रंग छन् । उनी भन्छिन्, ‘एउटा ‘ब्रेसलेट’ पोषणसँग सम्बन्धित छ, जसले शिशुको सुनौला हजार दिनको अवधिलाई जनाउँछ । अर्को चाहिँ महिलाको रजस्वलाको अवधिलाई सम्झाउन सघाउछ ।’
बोनिताले नेतृत्व गरेको सोसल चेन्जमेकर्स एन्ड इनोभेटर्स (सोचाई) समूहका अभियन्ताले महिलालाई एउटा र किशोरीलाई अर्को (ब्रेसलेट) दिन्छ । अनि त्यसैअनुसार शिशुलाई सुनौला हजार दिनमा कुपोषणबाट जोगाउने उपाय सिकाउँछन् । किशोरीलाई आफ्नो माहिनावारीबारे चेतना जगाउँछन् ।
उनले गत मे महिनामा मात्र एक सय देशका एक हजार दुई सय प्रतिस्पर्धीलाई उछिनेर लिड २०३० च्यालेन्ज जितेकी थिइन् । जीतसँगै ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेकी छिन । बोनीताले कुपोषण र भोकमरीको अन्त्य गर्ने उद्देश्य लिएर तीन युवा– नेहा मल्ल, आशुतोध्वज कार्की र मन्जिता राजोपाध्यायको साथमा सोसल चेन्जमेकर्स एन्ड इनोभेटर्स (सोचाई) को सुरुवात गरेकी थिइन् ।
‘सोचाइ’ले प्रवर्द्धन गरेको पोषण मालाले युनिसेफको एसिया प्यासिफिक युथ इन्नोभेसन च्यालेन्ज–२०१६ पुरस्कार पाएको थियो ।
- Kathmandu Press बाट