समाचार संस्था एएनआई र अन्य सञ्चारमाध्यमका अनुसार भारतीय सेनाले पाकिस्तानको नियन्त्रणमा रहेको क्षेत्र (पीओके) को आतंकवादी शिविरमा आक्रमण गरेको जनाएका छन् । जसमा चार अथवा पाँच पाकिस्तानी सेनाको ज्यान गएको बताइएको छ ।
भारतीय सञ्चार संस्था एनडीटीभीले सूत्रको माध्यमद्वारा भनेको छ– कुपवाडाको तंगधार क्षेत्रमा रहेको नीलम उपत्यकामा चार आतंकवादी लञ्च प्याड तोपको आक्रमणमा मारिएका हुन् । आक्रमणमा अन्य पाँच जना पाकिस्तानी सैनिक घाइते भएका छन् ।
यसबीच पाकिस्तानले भने भारतीय सेनाले जूरा, शाहकोट र नोमश्रीमा कथितरुपमा बिना कारण गोलाबारीपछि जवाफी आक्रमणमा नौ भारतीय सैनिक मारिएको बताएको छ ।
पाकिस्तानका आन्तरिक–सेवा जनसम्पर्क (आईएसपीआर) का महानिर्देशक मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै पाकिस्तानको जवाफी कारबाहीमा दुई भारतीय बंकर पनि नष्ट भएको बताएका छन् ।
उनले पाकिस्तानी सैनिकको पनि ज्यान गएको स्वीकारेका छन् । यद्यपि एएनआईले भारतीय सेनाको सूत्रको माध्यमबाट ज्यान गुमाउने पाकिस्तानी सेनाको संख्या चारदेखि पाँच हुनसक्ने जनाएको छ ।
भारतीय सेनाले यो कारबाही आइतबार जम्मू–कश्मीरको कुपवाडा जिल्लाको तंगधार क्षेत्रमा पाकिस्तानीसेनाले संघर्ष विराम उल्लंघनको जवाफमा गरेको बताइएको छ । जसमा दुई जवानसहित एक सर्वसाधरणको ज्यान गएको थियो ।
जम्मू–कश्मीर प्रहरीले संघर्ष विराम उल्लंघन र त्यसमा ज्यान गएको पुष्टि गरेको छ ।
गएको अगष्ट ५ मा जम्मू–कश्मीरलाई विशेष राज्यको मान्यता दिने धारा ३७० खारेजपछि भारत–पाकिस्तानबीच तनाव बढ्दो छ । योसँगै भारत र पाकिस्तानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् । - एजेन्सी