– लक्ष्मी खरेल
घर—घरमा पानीको निकास हुन नसक्दा बाराको अमाडारका महिला तथा किशोरीहरु पूरा कपडा लगाएरै नुहाउन बाध्य छन् ।
जितपुरसिमरा उप महानगरपालिका वडा नं. ११ अमाडारको सबै जसो टोलका महिला तथा किशोरीहरु पूरा कपडा लगाएरै नुहाउन बाध्य भएका हुन् ।
आर्थिक तथा भौगोलिक हिसाबले पिछडिएको यस समुदायमा १५ देखि ३० घरले एउटै सार्वजानीक धाराबाट दैनिक काम चलाउँनु पर्छ । जितपुरसिमरा उपमहानगरपालिकालाई पर्यटन हबका रुपमा विकास गर्ने भनिरहँदा सोही उपमहानगरको ११ वडाका किशोरी महिलाहरु भने अझै सम्म पनि कपडा खोलेर नुहाउन सक्ने अवस्थामा छैनन् । कारण पानीको अभावमा उनीहरु अहिले सम्म पनि सामूहिक खुल्ला धारामा नै नुहाउन बाध्य भएका हुन् । यो समयस्याबाट पार पाउन घर घरमा पानीको निकास हुनु पर्ने हुन्छ । त्यसको लागि पानीको निकासका लागि त्यो ठाउँमा नालाको कुनै व्यवस्था छैन स्थानीयले भने ।
बाटोको छेउमा धारा भएकोले गाउँका मानिस र बटुवा समेत आउँदा जाँदा छ्वाङ्ग परैबाट देखिने भएकोले पनिे नुहाउने बेलामा आफुहरुलाई अप्ठ्यारो भएको किशोरीहरुले बताए । अरु समयमा पूर्ण पहिरनमा नुहाउँदा सामान्य समस्या भए पनि महिनावारीका बेला किशोरी महिलाहरुलाई पूरा कपडामा नुहाउँदा साह्रै सकस भएको कर्णाधारमाई मन्दिर अगाडी धारामा पूरै कपडामा नुहाउँदै गरेकी १७ वर्षीया ज्योती कुमारी दिश्वा थारुले बताइन् । यो समस्या अरुलाई हामी भन्न पनि सक्दैनौं । भनेर पनि कसैले केही गरिहाल्ला झैं लाग्दैन उनले अप्ठ्यारो मान्दै भनिन् ।
२८ वर्ष पहिले बारा गडहलबाट विवाह गरेर आमाडार आएकी संगीता दिश्वा थरुनीलाई स्थानीय सरकार आएपछि यो समस्याबाट मुक्ति पाइन्छ कि भन्ने थियो । तर जनप्रतीनिधीले यो कुरा अझै नबुझ्दा हामी जस्ता धेरै महिला निशास छौं उनले भनिन् । बाटो हिड्दा सार्वजानीक धारामा असहज मान्दै चेलीबेटी नुहाइरहेको दृश्यले धारा टोलका सत्यनारायण दिश्वा थारुको मन पनि खुसी भने छैन । तर कमाएर खाने अवस्थाको समुदाय भएका कारण समस्या देखे पनि नदेखे झैं गर्नु परेको उनी स्वीकार्छन् ।
स्थानीय फुसनी देवी दिश्वा थारुले आफ्नै घरमा धारा हाल्न तथा स्नान घर बनाउन सक्नेका लागि समेत पानीको निकास नहुँदा समस्या भएको बताईन् । पटकपटक सार्वजानिक स्नानघर धारा पाएक पर्ने स्थानमा बनाउन पुरुष भद्रभलाद्मी मार्फत वडाध्यक्षलाई भनेको तर महिलाहरुको कुरा समाजका अगुवाहरुले उति सुनुवाई नगरेको उनले दुखेसो गरिन् । यो बिषयमा वडाध्यक्ष विनोद यादवसँग जिज्ञासा राख्दा महिला आफैंले लाज मानेर घरमै पानी लगेर नुहाउनु पर्ने बताए । उनले भने पहिले देखिनै यस्तै हुन्थ्यो, त्यसैले सार्वजानिक स्नानघरको आवश्यकता महसुस भएन । अब भने यतातर्फ बिचार गर्नु पर्ला उनले भने ।
जितपुरसिमरा उप महानगरपालिका प्रमुख कृष्ण पौडेलले भने वास्तवमा यो विषयमा यसभन्दा पहिले हाम्रो ध्यान नपुगेकै हो भने । तर अव भने ११ सँगै अन्य वडासँग पनि समन्वय गरेर यो समस्या समाधान गर्न गम्भिर भएर लाग्ने उनले बताए ।