वि.सं. २०४२ साल जेठ ५ गते चितवन खैरेनी नगरपालिका ५ निवासी गणेश गजुरेल र गंगा गजुरेलको ५ सन्तान मध्येकी कान्छी छोरी हुन् यशोदा गजुरेल । सामान्य किसान परिवारमा जन्मिएकी गजुरेल अहिले आफै यशोदा ब्याग तथा रेडिमेड उद्योग संचालन गर्दै आएकी छन् ।
२ सन्तानकी आमा गजुरेलले विगत डेढ वर्षदेखि संचालनमा ल्याएको उद्योगमा अफिस फाइलदेखि स्कुल व्यागसम्मका समान बन्ने गरेको उनले बताइन् । फजुल खर्च नगरी बचत गर्ने बानीले उनलाई उद्यमी महिलाको रुपमा स्थापित गराएको उनको अनुभव छ । श्रीमान्को कमाइमाभन्दा आफ्नै कमाईमा रमाउने गजुरेलले चितवनको खैरेनी स्कुलबाट प्लस टु सम्म अध्ययन गरेकी छन् ।
सानो छँदा स्वयमसेवी बन्ने इच्छा भए पनि उनका श्रीमान्को व्यवसायमा सहयोग गर्दा गर्दै ३ लाखको लागतमा सुरु भएको यशोदा व्याग उद्योगको पँुजि अहिले २५ लाख सम्म पुगेको छ । उनी उद्यमी महिला मात्र नभई आफ्नो समुदायको लागि उदाहरणीय बनेकी उद्यमी यशोदा गजुरेलसँग मध्य नेपालले समसामयिक विषयमा गरेको कुराकानी :-
१) अहिले प्रदेश नं. २ मा महिला उद्यमीहरुको अवस्था कस्तो छ ।
प्रदेश नं. २ को कुरा गर्नुभन्दा महिला उद्यमीहरुको अवस्था निकै नाजुक छ । किन भने महिलालाई घरको काम, उद्योगको काम, बालबच्चाहरुको स्याहार–सुसार सबै हेर्नुपर्ने हुन्छ । त्यसमा पनि महिलाहरु संघर्षशिल नै हुनुहुन्छ । आफुले पनि केही गर्नुपर्छ भन्ने सोच राखेर महिला दिदीवहिनी अगाडी बढेको अवस्थामा म पनि एक हुँ ।
२) तपाईको उद्योग कस्तो प्रकारको हो ?
मैले संचालन गरेको उद्योग घरेलु अन्तर्गत पर्छ । यो उद्योगमा कपडा हाल्ने व्याग, स्कुल ब्याग, फाइल व्याग लगायत बन्छ ।
३) उद्योग संचालनको सोच र प्रेरणा कसरी आयो ?
म विहे गरेर आउँदा नै मेरो श्रीमान्ले यो उद्योग संचालन गर्दै हुनु हुन्थ्यो । बाहिर गएर सिक्नु पर्ने सिप मैले यही सिक्ने अवसर पाए । मैले पनि सिप सिके । श्रीमान्को मात्र भर पर्नु हुँदैन भन्ने महिलाहरुमा एउटा सोच हुन्छ । केही गरेर आय–आर्जन गर्न पाए हुन्थ्यो भन्ने दृढ विश्वासले काम गर्ने आँट गरे । मनमा मेरो पनि इच्छा थियो कि केही गरेर देखाऊ भन्ने । अब के गर्ने त ? भनी एउटा विकल्प सोचें । घरमा नै श्रीमान्को व्यवसाय भएकोले सहयोग र साथ पनि पाउँछु भनेर अलग्गै गर्ने सोच आयो । मेरो श्रीमान्संग यो प्रस्ताव राखें । उहाँले साथ र सपोर्ट गरेर नै यो सम्भव भएकोले मेरो प्रेरणाको श्रोत नै श्रीमान हो ।
४) उद्यम सुरु गर्नु पूर्व के मा व्यवस्त हुनु हुन्थ्यो ?
म विवाह भएर वीरगंज आइपुुग्दा अलिअलि संकुचित जस्तो महसुस भयो । महिलाहरु त्यति बाहिर निस्किन्दैनन् । त्यसमा म पनि परे । लगभग दुइवर्ष घरभित्र नै बसें । घर परिवारको स्याहार–सुसार, बच्चाको पालन पोषण र स्कुल जान लागि सकेपछि अब मैले पनि केही काम गर्नुपर्छ भनेर यो उद्यम तर्फ लागेको हो
५) उद्यम सुरु गर्दा लगानी कति थियो ? हालको अवस्था कस्तो छ ?
सुरुमा ५ वटा मेसिन खरिद गरी कच्चा पदार्थ पनि मगाएर काम थालनी गर्दा तीनलाख जतिको लगानी थियो । आफ्नै घर भित्र नै उद्योग संचालन गर्दा सजिलो भएको छ । सुरुवातमा ५ जनाबाट सुरु गरेको उद्यम ५ वटा मेसिनबाट २ वटा थप गरी सबै परिवार नै मिलेर चलाइरहेका छौं । उद्योगको काम गर्ने कर्मचारी हामी नै हो । अब अहिले लगभग पच्चिस लाखको हाराहारीमा लागत पुगेको छ ।
६) अब लक्ष्य कहाँ सम्मको छ ?
श्रीमान्ले कुनै कमी गर्नु भएको छैन । हामीलाई दुःख केही थिएन । त्यो मात्र हैन, जब बच्चाहरु साना थिए खर्च पनि कम थियो । सासु–ससुरा पनि केही काम गर्न सक्नु हुन्नथ्यो । बुवा–ममीको अवस्था पनि नाजुक छ । खर्च पनि बढ्दै जाने कारणले गर्दा श्रीमानले मात्र कमाएर अथवा उहाँलाई मात्र आर्थिक बोझ दिनुभन्दा मैले पनि केही साथ दिने सोच छ ।
७) यहाँसम्म आइपुग्दा कुनै निकायबाट सहयोग पाउँनु भएको छ ?
म महिला उद्यमी भनेर कुनै पनि संघ–संस्थाहरुसंग नजिक भएको छैन । यो महिला उद्यमी कर्जा के हो भनेर मैले नेटमा खोजे । धेरै सोधपुछ गर्दागर्दै वाणिज्य बैंकमा गएर मैले आफ्नो उद्योगको सबै डकुमेन्ट तयार गरेर प्रक्रिया अपनाए । तर पनि लगभग प्रक्रियामा लगाएको ६ महिना लाग्यो । विश्वास लागेको थिएन । तर पछि त्यो फाइल पास भयो भनेर आउँदा विश्वास भयो । त्यो वाणिज्य बैंकबाट १२ लाख सस्तो ब्याज दरमा निकाले । नगरपालिका, गाउँपालिका कही कतैबाट पनि व्याग समेत किन्न आउँनु भएको छैन । सपोर्ट त परै जाओस् । चुनावको बेला हामीले जनप्रतिनिधिलाई सहयोग गरेका थियौ । उहाँहरुको काम निस्किएपछि कस्तो उद्यम भइरहेको छ भनेर पनि सोध्न आउँनु भएका छैन । म आफै बजारीकरणदेखि लिएर सबै काम आफै गरिरहेको छु ।
८) महिला उद्यमी भनेर बाहिर आफ्नो नाम नल्याँउन खोज्नु भएको हो ?
हैन, खासगरी हामी घरमा नै सिमित रह्यौं । विहानदेखि किचनमा काम गर्ने एउटा वुहारी, बच्चाको आमा त्यसमा पनि भूमिका फरक नै हुन्छ । विहान ५ बजेदेखि १० बजेसम्म वुहारी आमा श्रीमती भएर भूमिका निर्वाह गर्नुपर्छ । त्यसपछि दिनमा एउटा स्टाफको साहु भएर काम गर्नुपर्छ । हामी उद्योग भित्र नै सिमित भएर या आफ्नै कारणले पनि हुन सक्छ खोजखबर नभएको जस्तो मलाई लाग्छ । महिला उद्यमी भनेर अरुलाई थाहा नभएको पनि हुन सक्छ ।
९) तपाईको उद्योगवाट उत्पादन भएका सामानहरु नेपाल वाहिर वा भित्र कहाँसम्म विक्री वितरण गरिरहनु भएको छ ?
नेपाल वाहिर हाम्रो सामान विक्री वितरण हँुदैन । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विकट जिल्लाहरुमा म आफै बजार प्रतिनिधी भएर सामान विक्री वितरण गर्न गएको पनि छु । अहिले त ट्रान्सपोर्टवाट नै सामान गएर बैङ्क मार्फत पाटीवालाहरुले पैसा पठाउनु हुन्छ । हामीलाई काम गर्न सजिलै छ । गाह्रो त गाह्रौ छ तै पनि काम रोकिएको छैन ।
१०) यहाँ महिला त्यसमा पनि गृहिणी, आफैले बजार व्यवस्थापन गर्नु पर्दा कतिको गाह्रो छ ?
गाह्रो त गाह्रो नै छ । पाटीवालाहरुले नमुना पठाउनु भन्नु हुन्छ । तर त्यसको पैसा आउँछ कि आउदैन भनेर विश्वासको भरमा यो व्यवसाय गर्नु पर्छ । जटिल र चुनौती छ, महिलालाई सहज छैन । तै पनि हिम्मत हारेको छैन । आफ्नो सक्रिय र लगनशिलता निरन्तर छ । उद्योग खोल्नु मात्र ठूलो कुरा होइन, आफुले जानेको सिप प्रयोग गरी बजार व्यवस्थापन गर्नु नै अहिलेको मुख्य चुनौति हो ।
११) अन्त्यमा यँहा जस्तै सफल उद्यमी बन्न चाहने अरु महिलालाई के सुझाव दिनु हुन्छ ?
महिलाहरुले कुनै पनि काम गर्नुहुन्छ भने तपाइले जे जान्नु भएको छ, भने त्यहि काम गर्नुस् । खाना पकाउन जान्नु भएको छ भने कुककै काम गर्नुस् । आफ्नो हातमा जे सिप छ अथवा जुन आफुमा क्षमता छ त्यही कामको निरन्तर दिनुस् । नत्र कुनै काम सिकेर सिपको विकास गर्नुस् र त्यो काम नै गर्नुस् । यसले अरुको भर पर्नुपर्ने हुन्न । हिम्मत नहारी दृढ विश्वासका साथ अगाडी बढ्नुस् ।