पछिल्लो समय नेपालमा मात्र होइन, विश्वभर नै डेंगुको संक्रमण बढ्दो छ । केही महिना अगाडि सुनसरीमा देखा परेको डेंगुको सङ्क्रमण पछिल्लो समय नेपालका अन्य जिल्लाहरुमा समेत फैलिने क्रम रोकिएको छैन । डेंगुबाट बच्नका लागि मानिसहरुले विभिन्न उपायहरु अपनाउन थालेको छन् । तथापि धेरै मानिसहरु सङ्क्रमणको जोखिममा रहेको पाइन्छ । के यो संक्रमण मानव जीवनको लागि साँच्चै घातक छ त ? पर्सामा पनि डेंगु रोगीहरु फेला परेको तथ्याँङक बढ्न थालेको छ । यस साता श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा कार्यरत डा. निजामुद्दिन संग डेंगु रोगका बिषयमा केन्द्रित रहेर गरिएको कुराकानी :-
१) डेंगु रोग भनेको के हो ?
डेंगु भनेको एक प्रकारको भाइरल ज्वरो हो । यो डेंगु भाईरस बाट हुने गर्दछ । यो रोग एडिस ईजिप्टाई नामक पोथि लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु भाइरसको चार serotype छन् । जुन डिइएन भी–१, डिइएन भी–२, डिइएन भी–३, डिइएन भी–४ रहेका छन् । कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४ देखि ७ दिन भित्रमा रोगको लक्षण देखिन्छ । एडिज ईजिप्टाई नामक लामखुटे बिहानको समयमा बढी सक्रिय हुने गर्दछ । संक्रमित लामखुट्टेले टोकेपछि मात्र यो रोग सर्ने र कुनै पनि व्यक्ति संक्रमित हुने गर्दछन् ।
२) डेंगुको संक्रमण के कारणले हुन्छ ?
डेंगु एक भाइरसद्धारा लाग्ने संक्रमण हो । एडिज एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाईबाट यसको भाईरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र हामी संक्रमित हुन्छौ ।
३) डेंगु संक्रमित व्यक्तिमा कस्ता लक्षण देखा पर्छन् ?
लामखुट्टेले टोकेको वा कुनै पनि व्यक्ति सङ्क्रमित भएको लगभग एक हप्तामा विभिन्न किसिमका लक्षणहरु देखा पर्न सक्छन् ।
जस्तै :- डेंगु ज्वरोमा उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडाहरु दुख्ने, ढाड तथा जोर्नीहरु दुख्नुको साथै मांसपेशीहरु करकरी खाने, बिरामीलाई पखाला, वाकवाक तथा बान्ता हुन सक्छ । कसैकसैमा थप जटिलताहरु उत्पन्न हुन सक्छ । विस्तारै रगतमा रहेका प्लेटलेट्सको संख्या घट्दै जान्छ । छालामुनी रगत जमेर चभम कउयत देखिने गर्दछन् । अझ जटिलता बढ्दै गएमा शरीरका विभिन्न भागबाट आफै रक्तस्राव हुन थाल्दछ । जस्तै नाक, गिजा आदिबाट रगत बग्नु पिसावमा रगत देखिनु आदि ।
४) यो रोग कुन उमेर समूहका व्यक्तिमा बढि देखा पर्छ ?
यो रोग कुनै खास उमेर समूहछैन् । हरेक उमेर समूहमा यसको खतरा उत्किै छ । यदि संक्रमित व्यक्तिलाई टोकेर स्वास्थ्य व्यक्तिलाई टोकेपछि सर्नेरोग भएकोले जुनसुकै उमेर समुहमा पनि यो रोग देखा पर्दछ ।
५) भाइरल ज्वरोमा एन्टिबाइटिक औषधीको प्रयोग कतिको उपयुक्क छ ?
भाईरल ज्वरो भन्ने बित्तिकै यो एउटा भाईरस जन्य रोग भएको बुझिन्छ । त्यसैले यसमा कुनै एन्टीबायोटिक को आवश्यक्ता छैन् ।
६) डेगु रोगको उपचार पद्धति कस्तो छ ?
डेंगु भाईरल संक्रमण हो । प्राय भाईरल संक्रमणमा हामीले लाक्षणीक तथा सहयोगि उपचार प्रक्रिया अपनाउने गर्दछौ । यसको एन्टीभाईरल औषधी वा कुनै भ्याक्सिन बजारमा आएको छैन् । चाँडोभन्दा चाडो रोगको पहिचान गर्नु अत्यन्त आवश्यक छ । तसर्थ माथिका लक्षणहरु देखिएमा तुरुन्त परीक्षणको लागि जानु पर्दछ । एस्प्रिन, आईबुप्रोफिन लगायतका औषधीको जथाभावी प्रयोग गर्नु हुँदैन । बिरामीले प्रशस्त मात्रामा झोलीलो पिय पदार्थ पिउनु पर्छ । डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार गराउनु पर्दछ ।
७) यो रोग लाग्नबाट कसरी बच्न सकिन्छ ?
पानी जम्न सक्ने भाँडाहरु जस्तै:- गमला, फुलदानी, खाली बट्टा, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने । एडिज लाम्खुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्राय पूरा बहुला भएको लुगा लगाउने, सम्भव भए दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्ने, झ्याल तथा ढोकामा जाली लगाउने, घरवरीपरि सफा राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको भगाउने मल्हम दल्ने ।