मुलकै पुरानो शहर मध्येको एक हो वीरगंज । २०११ सालमै नगरपालिका घोषणा भएको । यथार्थमा भने अझै पनि सामान्य नगरपालिकामा हुनपर्ने पुर्वाधारहरुको समेत कमी । विगतमा खडा भएका पुर्वाधारहरु पनि केही जिर्ण एवं संरक्षण विहिन तथा केही निजी सम्पती जस्तै व्यक्तिगत प्रयोगमा भइरहेको अवस्था ।
सामान्य नगरपालिकामा हुन पर्ने भौतिक संरचना समेत कमी भएको वीरगंज कागजी रुपमा महानगरपालिकामा दरिएको पनि लगभग एकवर्ष भइसक्यो । वीरगंजले धरै किसिमका आन्दोलनको राप र ताप खेपेको छ । अधिकार प्राप्तीको आन्दोलमा हरेक पटक यसले वलिदानी दिएको छ । पछील्लो पटकको मधेश आन्दोलनमा आफुलाइ लगातार छव महिना बन्द राखेर यसले ठुलो क्षति व्यहोरेको छ । ति हरेक किसिमका आन्दोलनबाट कोही कसैले कतै त न कतै उपलब्धी हात पारेका छन् । तर वीरगंज र वीरगंज बासीले के पाए ? बारम्बार प्रश्न उठिरहन्छ ।
के वीरगंज आफु र आफना लागी केही बोल्न र गर्न सक्दैन ? समग्र मुलककै राजस्व ठुलो हिस्सा संकलन हुने ठाउँ यो वीरगंज, जहाँ विकासका संभावनानै संभावना छन् । तरपनि यहाँको भौतिक विकास किन अपेक्षित रुपमा अगाडी बढन सकिरहेको छैन ? यसमा दोष कस्को छ यहाँका ? राजनीति दल र तिनको नेतृत्वको वा यहाँको महानगरपालिकाको कार्यालयको बेला बेलामा फेरिरहने नेतृत्व र कर्मचारीहरुको वा यहाँको नागरिक समाजको वा नेपाल सरकारको आदि आदी । यस सन्दर्भमा यो पंक्तीकारले यस अगाबै पनि विभिन्न आलेखमा मार्फत विषय उठान गर्दै आएकोमा प्रस्तुत लेखमा पनि त्यसैको निरन्तरता स्वरुप थप प्रसङ्ग उठाउने जमर्को गरिएको छ । विगतमा जे भयो भयो, अब ठोस रुपमा विकासका कार्य अगाडी बढाउन ध्यान केन्द्रीत हुनुपर्नेछ । महानगरपालिकाको नेतृत्व अब जनप्रतिनिधिको हातमा छ । जनप्रतिनिधिलाइ जवाफदेही बनाउने जिम्मेवारी आम नगरवासिमा छ । तर आफूले केही नगर्ने महानगरपालिका र नगर प्रमुखलाई एकहोरो धारे हात मात्र लगाइरहने प्रवृतीले विकास हुदैन । आफुले घरबनाउँदा एकइन्च जग्गा नछोडने अनि बाँटो साँघूरो भयो भनेर हल्ला गर्ने , आफु र आफनो घरबाट निस्केको फोहोरको समुचित व्यवस्थापन नगरी जहाँ मनलाग्यो त्यही फाल्ने अनी महानगरपालिकाले फोहरमैला व्यवस्थापन गर्ने सकेन भनि हल्ला गर्ने, नगरलाइ सफा र स्वच्छ बनाउने दिशामा महानगरपालिकाले शुरु गरेको प्रयासलाइ सकारात्मक सहयोग गर्नुको सट्टा पान र खुट्खा खाएर सार्वजनिक स्थलमा थुक्दै यो सबै नौटङकी मात्रै हो भन्ने, कोही कसैले सार्वजनिक धरोहर र सम्पतीहरुको हाकाहाकी कब्जा गरेको देखेर पनि नदेखे झै गरी बस्ने, आफुले एउटा विरुवा पनि नरोप्ने अनी हरियाली भएन भनी भाषण गर्ने प्रवृती त्याग्न सक्नुपर्छ ।वीरगंज महानगरपालिकालाइ विकासको पथमा लम्काउन यहाँको नागरिक समाजबाट के कस्ता प्रयास भए फेला पार्न सकिदैन ।
नागरिक समाज र जनप्रतिनिधिहरुको विचमा विकासलाइ केन्द्र बनाएर संवाद भएको छैन । यहाँ कार्यरत गैससहरुले महानगरको विकासको निम्ती ठोस अवधाराणा सहित अगाडी आएको र सरोकारवालाहरु सँग सम्बाद गरेको पाइदैन । नागरिक समाजले कुनै सुझाव दिएको वा दिएको सुझावलाइ नगरको नेतृत्वले आत्मसात गरेको भन्ने पनि प्रकाशमा आएको छैन । विकास प्रकृयामा र योजना छनौट गर्ने वेलामा नागिरकको उल्लख्य सहभागीता भइरहेको पनि देखिदैन । त्यसैल पनी नगरको विकास परिणामुखी हुन नसकेको हो । यसका लागी दुबैपक्ष जिम्मेवार हुन जरुरी छ । समस्त नगरवासी, गैससहरु र यहाँको नागरिक समाज विकास प्रति प्रतिबद्ध भइ सोही अनुरुपको आचरण देखाउने हो भने जनप्रतिनिधिहरु पनि उम्कन सक्दैनन । जनप्रतिनिधि लाइ जवाफदेही बनाउनकै लागी पनि नगरवासीले आफनो दायित्व र कर्तव्यमा चुक्न हुदैन । आफु भलो त जगत भलो भन्ने उखानलाइ व्यवहार ल्याउन जरुरी छ । यसको मतलव जनप्रतिनिधि जे गर्दा पनि हुन्छ भन्ने पटक्कै होइन । जनप्रतिनिधिलाइ जवाफदेही बनाइरहन नागरिकले पनि कर्तव्य पुरा गर्नुपर्छ भन्न मात्र खोजेको हो । फेरी पनि मुख्य जिम्मेवारी त जनप्रतिनिधिकै हो । अहिले स्थानिय तह संविधान र कानून बमोजिम अधिकार सम्पन्न भइसकेको छ । वीरगंज सँगसँगै निर्वाचन भएको जनकपुर उपमहानगरपालिकामा अहिले विकासले गति समाइ सकेको छ । नगरक्षेत्रमा तिव्र गतिमा सडक नाला निर्माण हुदैछ । त्यहाँ रहेका साँघुरा सडकहरुलाइ फराकिलो बनाइदै छ ।
नगरपालिकाले बाटो चौडा गर्नु अपरिहार्य भएको र तर मुवाव्जा दिन सक्ने अवस्था नरहेको सूचना दिदै सम्बन्धित घरवालाहरुलाइनै घरटहरा हटाइदिन गरेको अनुरोधलाइ नगरवासीले स्विकार गर्दै धमाधम ठुला ठुला घरपसल आफैले तोडीरहेका छन् । जसले गर्दा निकट समयमै जनकपुरको मुहार परिवर्तन हुदैछ । तर हामीकहाँ यसको कुनै प्रभाव पर्न सकेको छैन । भर्खर मात्र नगर प्रमुखले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरपसलहरु खाली गर्न अपिल सम्म गर्नु भएको छ त्यो भन्दा बढी केही छैन ।
हिजो आन्दोलनका क्रममा त्यत्रो ठुलो मुल्य चुकाएको वीरगंज विकासका मामलामा आज जनकपुरभन्दा पछाडी परिसकेको छ । जनकपुर सयको गतिमा दौडिसकेको छ हामी कछूवाको गतिमा हिडन पनि अलमलीदै छौ । त्यसैले यहाँका जनप्रतिनिधिका साथसाथै नागरिक समाज गंभिर हुन पर्दछ । वीरगंजको विकासका निम्ति केही दिनु परेपनि दिन्छु भन्ने अठोट लिनु पर्छ होइन भने हामी जहाँको तही रहनेछौ । अबको तिन वर्षमा एडिवि तथा महानगरपालिकाको सहकार्यमा वीरगंज महानगरपालिकामा भित्र २६ किलो मिटर सडक र नाला निर्माण हुने गरी दोस्रो चरको सम्झौता भई कार्य अगाडी बढेको छ । त्यसै गरी शहरी विकास मन्त्रालयले महानगरपालिकाभित्र ५२ कि मि पक्की सडक बनाउनका लागी पहिलो चरणमा ठेकदार समेत छनौट गरी कार्य प्रारभ्म गरिसकेको अवस्था छ ।
अब महानगरपालिकाले पनि केही दिनमा नै नगरसभा सम्पन गरी ठोस योजना लिएर अगाडी आउने संभावना छ । यि सबै कार्यमा जनप्रतिनिधि सँगसगै नागरिकको पनि उतिकै चासो रहनु पर्दछ । महानगरपालिकाले प्रमुख प्रशासकिय अधिकृतको रुपमा भर्खर सहसचिव स्तरको नेतृत्व पाएको छ । महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएका डा भिष्म भुषाल राष्ट्रिय पुर्न्निर्माण प्राधिकरणमा समेत काम गरिसक्नु भएको अनुभवी, क्षमतावान, कुशल प्रशासक मात्र होइन दक्ष योजनाकार समेत हुनु हुन्छ । वहाँको नेतृत्वमा भताभुङग रहेको कार्यालयको कर्मचारी प्रशासन पक्कै पनि दुरुस्त हुनेछ ।
त्यसैले वहाँको ज्ञान विद्धताको समेत महानगरपालिकाले भरपुर फाइदा उठाउँदै महानगरपालिकालाई विकासको पथमा दौडाउन जरुरी छ । अनि मात्र जनताले देखेको विकसित एवं सम्वृद्ध वीरगंजको चाहाना पुरा हुने अपेक्षा गर्न सकिन्छ ।