नेपालीहरुको महान पर्व शुभ दिपावली (लक्ष्मी पुजा) तथा तिहार पर्व अहिले परम्परागत भन्दा पनि आधुनिकतामा ढल्केको छ । को बढि आधुनिक झल्कने भन्ने होडले यतिवेला पर्वमा पनि परम्परा उति झल्कन छाडेको छ । खासगरी दिवालीको अवसर पारेर आफ्नो घर मात्र नभएर टोल समुदाय नै झिलिमिली पार्ने चलन बढदै गएकोले दिपावलीको परम्परा नै हराउदै आशंका बढ्न थालेको छ ।
पहिला पहिला दिवालीको दिन माटोको दियोमा बति बाल्ने चलन थियो । अहिले त माटोको दियोको सट्टा त्यस्तै देखिने बिद्युतीय बती बाल्नेको संख्या हरेक दिन बढ्दो छ । दिपावलीको दिन माटोको दियो बाल्ने चलन आधुनिकताले गाँजेको समयमो झिलीमिली त हुन्छ । तर जुन महत्वका साथ दियो बालिन्थ्यो त्यो महत्व भने हराएको छ । दियो बाल्दा घर वरपर रहेका किराफटयांग्रराहरु भाग्ने तथा दिपावली पछि लामखुट्टे पनि कम हुने गर्दथ्यो । तर अहिलेको बतीले कम गर्नुको सट्टा बढाउने काम गरिरहेको छ । हामीले सकेसम्म आधुनिकभन्दा पनि परम्परागत रुपमा दिपावली लगायत अन्य चाडपर्व मनाए मात्र नयाँ पींढिले पनि यो कुरालाई अंगिकार गर्न थाल्छन् । नत्र पर्वको महत्व घट्न जान्छ । माटोको दियोमा जुन शुद्धता पनि पाईन्यो । त्यो पनि हराउन थालेको छ ।
महिला हिंसा, बालविवाह, दाइजो प्रथा जस्ता नचाहिने परम्परा छोड्न तयार हुदैनन् । तर चाडपर्वको परम्परालाई छोडी आधुनिकतालाई भित्र्याउन भने कसैलाई कसैले सिकाउनु पर्दैन । यो हाम्रो कस्तो मानसिकता हो ? दिपावलीको समयमा शहरहरुका घर, व्यवसायिक महल तथा आफना टोलहरु झिलीमिली पार्ने, आधुनिक बति प्रयोग गर्ने, स्वागत गेटहरु बनाउने र यसलाई आफुले समाजका लागि ठुलै काम गरेको ठान्ने होडबाजी नै चलेको छ र यसैमा रमाउनेहरुको संख्या बढ्दै गईरहेको छ । एकातिर आफनो परम्परा जोगाउने, परम्परागतशैलीलाई नै पर्यटक प्रवर्धनका माध्यमा बनाउने उद्घोष गरेका स्थानीय सरकार तथा प्रशासन यस्तै आधुनिक शैलीलाई बढावा दिन पुगे त्यो आधुनिकताले पर्व, परम्परा र पर्यकको रोजाइलाई पनि उजाड पारिदिन सक्छ ।
चाडपर्व त सवैका लागि सम्मान हुनु पर्ने हो । तर खोई त यस्तो भएको । अहिले पैसावालाको घर, टोल, तथा शहर आधुनिक तरिकाले सजाईएको हुन्छ भने गरिब बस्तीहरु दिपावलीको दिन बालिने माटोको दियो पर्खेर बसेका हुन्छन् । दिनप्रति दिन आफनो टोललाई आधुनिक बनाउने प्रतियोगिता नै चलेको जस्तो छ । यस्ता चाडपर्वमा रहेका रितिरिवाज, परम्परागत गित संगितको जर्गेना गर्नुको सट्टा बाहिरबाट ल्याएका समानहरुको प्रयोगलाई निरुत्साहित पार्ने होईन र ? तर खोई त यस तर्फ हाम्रो ध्यान पुगेको ? आखिर शुद्धता र सहजता भन्दा आधुनिक तर्फ हामी किन खर्च गरिरहेका छौ ।
अहिले त स्थानीय सरकार छ । आफनो नगर, शहर र बस्तीलाई कसरी व्यवस्थित गर्ने, धर्मसंस्कृतिलाई कुरितीबाट बचाउने त्यसतर्फ ध्यान जानुपर्छ । पछिल्लो पटक शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमले त आतंक नै मचाएको छ । केही समय पहिला दशै, दिपावली तथा छठ पर्वको अवसरमा सरसफाई कार्यक्रम भएको समाचार पढन र सुन्न पाईन्थ्यो भने अहिले चियापानको मात्रै आएको आई छ । यसले एकातर्फ हाम्रो चाडबाडको महत्व नै घटाईरहेको छ भने अर्को तर्फ फजुल खर्चको विकास गरिरहेको छ ।
चाडपर्वको नाममा हुने फजुल खर्च कम गरेर हाम्रा विद्यालयमा भएका समस्याहरु समाधान गर्ने हो की ? हाम्रा बस्तीहरु बनाउने हो की ? चाडपर्व सवैको लागि समान हुनु पर्छ र पहिला थियो पनि । त्यसैले हामी अहिले अपनाइरहेको आधुनिक शैलीलाई समुदायमा फाटो ल्याउन सक्छ । त्यसैले यस्ता कार्यलाई दूरुत्साहित पार्न पनि चाडपर्वको मौलिकतालाई निमोठ्ने काम कतैबाट गरिनु हुन्न । यसका लागि स्थानीय सरकारहरुले पनि ठोस रुपमा नीतिगत परिणाम ल्याउन जरुरी छ ।