प्रतिनिधि सभा सदस्य (सांसद) पुष्पा कुमारी कर्णले वीरगंजको मुख्य सडक २५/२५ मिटर विस्तार हुनुपर्ने बताएकी छिन् । दिपावली तथा छठ पर्वको अवसरमा अखिल नेपाल पिछडा वर्ग (ओ.बि.सि.) महासंघ पर्सा जिल्ला कार्यसमितिले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कर्णले सरकारको नीतिमा सबै अडिग भएर वीरगंजको मुख्य सडक २५/२५ मिटर विस्तार हुनुपर्ने बताइन् ।
वीरगंजको मुख्य सडक २५/२५ मिटर विस्तार गर्नु आजको सरकारको निर्णय होइन, यसलाई कार्यान्वयन गराउन सम्बधित पक्ष चुकेको छ भन्दै सरकारले गरेको निर्णयलाई कार्यान्वयन गराउन सबैको दायित्व रहेको बताइन् । मुलुकै आर्थिक नगरीको रुपमा चिनिने वीरगंज महानगरपालिका भित्रको मुख्य सडक दिनहुँ जाम हुने तथा विस्तार नभई नहुने अवस्थामा पुगि सकेको भएतापनि यहाँका केही राजनीतिक दल तथा माथिल्लो निकायसम्म नै सडक विस्तार कार्यको बाधक रहेको बताइन् ।
उनले आफू वीरगंजबाट निर्वाचित भएको कारण वीरगंजको विकासबारे चिन्तित हुनु पनि आफ्नो दायित्व रहेकोले वीरगंजको मुख्य सडक विस्तारबारे पटक पटक आफूले आवाज उठाउँदा पनि सम्बन्धित मन्त्रीले खासै वास्ता नगरेको भन्दै नेपाल सरकारको यो निर्णय आजको होइन, विगतकै हो तर यसलाई कार्यान्वयन गराउन मात्रै समस्या हो, यस निर्णयलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि कार्यान्वयन गराउन सहयोग गर्नुपर्ने बताइन् ।
यसैगरि नेकपाका नेता तथा पूर्व सांसद राजकुमार गुप्ताले वीरगंज सडक विस्तारबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई पटक पटक ध्यानाकर्षण गराएको बताए । उनले यहाँ वीरगंजको सडक विस्तार हुनु हुँदैन भनेर एउटा संघर्ष समिति विरोधमा उत्रेको छ भने अर्कोतर्फ सडक विस्तार हुनुपर्छ भनेर संघर्षमा उत्रिएको छ, यस अवस्थामा मन्त्री महासेठले दुबैको कुरा सुनेर जुन जायज मागलाई कार्यान्वयन गराउनुपर्ने बताए ।
वर्षौदेखि मुख्य सडकको अवस्थाबारे सबैलाई अवगत नै छ, नेपाल कानूनी राज्य भएकोले गण्डकसम्मका घरहरु तोड्ने यही सरकार गण्डक देखि भन्सारसम्म सडक तोड्न किन हिचकिचाई रहेको छ, एउटै राज्यमा दुई किसिमको कानून लागु हुँदैन भन्दै जसरी पनि वीरगंजको मुख्य सडक २५/२५ मिटर विस्तार हुने विश्वास व्यक्त गरे ।
यसरी नै नेकपाका युवा नेता प्रभाकर गुप्ताले वीरगंज विकासको बाधक यहाँका राजनीतिक दलका नेताहरुलाई युवाहरुले बहिष्कार गर्नुपर्ने बताए । उनले वीरगंज विकासको लागि संघर्षमा उत्रेका युवाहरुलाई दबाउनका लागि विभिन्न कसरतहरु भइरहेको छ, त्यस्ता राजनीतिक दलका नेताहरुलाई पहिचान गरेर युवाहरुले बहिस्कार गर्नुपर्ने बताए । कार्यक्रममा नेकपाका नेता चिरन्जीवी आचार्य, प्रभु हजरा, विचारी यादव लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।