सूर्यको आराधना गरी मनाइने छठ पर्वको रौनक शुरु भएको छ ।
कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । छठ पर्व सुरु भएसँगै गाउँबस्तीमा छठी गीत गुञ्जिरहेका छन् । सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले ब्रत संकल्प गरेर पवित्र स्नान गरेर चोखोनितो खान्छन् । पहिलो दिनको यो विधिलाई बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ ।
पर्वको दोस्रो दिन पञ्चमी तिथिमा ब्रतालुले दिनभरि निराहार ब्रत बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन् । यसैगरी, पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै नुवाई–धुवाई गरेर निराहार ब्रत बसेका ब्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने गरिन्छ ।
मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउँदा सूर्यलाई अर्घ्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ । उदाउँदो सूर्यलाई दिइने यो अर्घ्यलाई ‘भोरका अरख’ भनिने गरिएको छ । मिथिला लोकसंस्कृतिको अभिन्न अंग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्डसहितका जलाशय मनमोहक ढंगले सिंगारिएका छन् । वीरगञ्जको घडीअर्वा पोखरी, रानिघाट, मूर्ली, नगवा, राधेमाई, छपकैया तथा ग्रामिण क्षेत्रमा रहेका पोखरी तथा छठघाटहरुमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।
सन्तान प्राप्ति, निरोगीता, सुख, समृद्धि, सत्य, अहिंसा र चर्मरोग निको हुने जनविश्वास अनुरुप परस्परिह आत्मीयता र सदभावको प्रतिकका रुपमा छठ पर्व मनाईने गरेको जनविश्वास रहेको पाइन्छ । छठपर्व तराईको कृषि संस्कृतिमा समेत आधारित छ । यसपर्वमा धनी, गरिब, उचँनिचको भेदभावलाई हटाई सबै वर्ग समुदाय एउटै सांस्कृतिक पुष्ठभुमिमा पुजाअर्चनाका लागि उभिने गर्छन जो समान्य र परस्पर सदभावले उन्मुख हुने प्रेरणात्मक सङकेत हो । छठपर्व तराईसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ ।