राष्ट्रपति विद्यादेवी भण्डारीले आधा सताब्दी भन्दा बढिको गौरवशाली यात्रा पुरा गरेको नेपाली चलचित्र क्षेत्रले हाम्रो बहु साँस्कृत्तिक, बहुभाषिक र भौगोलिक विविधतालाई उजागर गर्न महत्वपूर्ण योगदान पु¥याएको बताइन् ।
नेपाल चलचित्र निर्माता संघले वीरगंजमा आयोजना गरेको तीनदिने नेपाली चलचित्र स्वर्णिम महोत्सवलाई उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रपति भण्डारीले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो उपस्थिति जनाउँदै विश्वस्तरमा स्थापित हुन प्रयासरत रहेकोमा यसका लागि उत्पादक, सर्जक, निर्देशक, कलाकार तथा चलचित्रकर्मीहरुको योगदानको उच्च प्रशंसा गर्दै थप सफलताको लागि अझै लगनशील भएर सक्रिय हुन आह्वान गरिन् ।
उनले चलचित्र समाजमा बहुआयामिक प्रभावकारी, सशक्त माध्यम भएकाले यसले समकालीन् समाजको उत्थान गर्न उन्नत सामाजिक, साँस्कृत्तिक सन्देश प्रवाह गर्न एवं दर्शकहरुलाई स्वस्थ्य मनोरञ्जन प्रदान गर्न उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको भन्दै यसको गौरव र पहिचानका रुपमा रहेका प्राकृत्तिक, साँस्कृत्तिक र पुरातात्विक सम्पदालाई कलाको माध्यमबाट सृजनात्मक रुपमा उतारेर आफ्नो पहिचानलाई उजागर गर्न चलचित्र क्षेत्र मार्फत पनि विश्वमा अग्रसर बन्नु पर्ने बताइन् ।
प्राकृत्तिक सौन्दर्यले भरिभराउ नेपाल आफैमा अनुपम प्राकृत्तिक चलचित्र नगरी हो, हाम्रो उर्वर समथर भूमि, पहाडका सुन्दर डाँडा र मनमोहक हिमाली श्रृङ्खला, जैविक विविधता र अपार साँस्कृत्तिक सम्पदाले भरिपूर्ण भएको भन्दै राष्ट्रपति भण्डारीले यहाँको विविधतालाई अधिक्तम रुपमा सदुपयोग गर्दै अन्तर्राष्ट्रिय जगतलाई आकर्षित गरि चलचित्र छायाँकन गन्तव्यको रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिइन् ।
यसैगरि सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपालमा चलचित्र उद्योग कहिले शुरु भयो त्यो भन्दा पनि कुन परिवेशमा शुरु भयो र आजको आवश्यक्ता के हो त्यो हेर्दै चलचित्र उद्योगको विकास गर्नुपर्ने बताए । चलचित्र क्षेत्रको ५२ वर्षको इतिहासमा नयाँ स्टार विन्दुको खोजीमा छौं, यसका लागि सबै जागरुक हुनुपर्छ, सरकार लागेर मात्रै नहुने भन्दै यो क्षेत्र मनोरञ्जनको क्षेत्र भएकोले यसको विकासका लागि सबैले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए ।
यसरी नै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले हामीले हाम्रो बीचको कलाकारहरुलाई पहिचान गर्नुपर्ने बताए । यहाँ नेपालमा मात्र नभई विदेशमा समेत ख्याती प्राप्त गर्न सफल भएका नेपाली कलाकारहरुलाई स्थापित गर्न नसकेको गुनासो पोख्दै विदेशी कलाकारहरुलाई वाहवाही गर्नुभन्दा पनि आफ्नो बीच रहेका कलाकारहरुको वाहवाही गर्दै मनोबल बढाउनुपर्ने बताए । नेपाली चलचित्रको विकासमा उत्पादकहरुको ठूलो महत्वपूर्ण भूमिका छ, त्यसको कदर गर्नुपर्छ तर हामी आफ्नै बीच रहेका कलाकारहरुलाई आकर्षणको केन्द्र बनाउन सक्नुपर्ने बताए ।
चलचित्र निर्माता संघका उपाध्यक्ष तथा स्वर्णिम चलचित्र महोत्सवको संयोजक बिमल पौडेलको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।