भूगर्भको पानी कृषकका लागि बरदान भए पनि वीरगंज महानगरपालिका मुर्लि निवासी ६२ बर्षीय रामशिस महतो र उनकी धर्मपत्नी तारादेवी कोइरीका लागि भने तनाव दिने मात्रको हुन थालेको छ । त्यहि दुईकठ्ठा जमिनमा पहिले पर्याप्त पुग्ने पानी अहिले माटो भिजाउनै नपुग्ने भएपछि भूगर्भको पानी तनाव दिने मात्रको हुन थालेको हो ।
पहिले मोटरबाट पानी पर्याप्त आउँदा यति समस्या थिएन । यहि जमिनमा उत्पादन गरेको तरकारी बेचेर जीविकोपार्जनमा सहजता थियो । तर अहिले मोटरबाट पर्याप्त पानी नआउँदा यो जमिनले पहिले जस्तो अनाज दिन छोडेको छ महतोले भने ।
विगत २ बर्षयता मोटर विग्रिएछ भनी उनीहरुले मोटर बनाउन लगाई फेरी पनि पानी तान्न थालेपछि पनि उही अवस्था रहेपछि कोईरी दम्पतीको करेसाबालीमा साग उत्पादनमा कमी आएको हो । पटक पटक मोटर मर्मत गराईसक्दा पनि जमिनमुनिको पानीले सिचाई हुन नपाउँदा कोईरी दम्पती अफ्ठयारोमा परेका छन् । उनीहरुलाई जलवायु परिवर्तन र वातावरणमा समस्या आएको उति हेक्का छैन ।
१२ वर्षको हुदाँदेखि खेती किसानी गर्दै आएका महतो कोईरीले भने, करेसाबारीमा सिचाँईकै समस्याले उत्पादनमा कहिल्यै कमि आएको थिएन । २ कठ्ठा खेतमा बाली लगाएको सुरुवाती दिनमा १० देखि २५ दिनसम्म मात्रै घर बस्नु पर्दथ्यो । हैन भने यतिकै जग्गाको उत्पादनले हामी दुबैजनालाई बेच्न भ्याई नभ्याई हुन्थ्यो । पहिले दिनको १२ देखि १४ सय सम्म यहि जमिनमा उब्जाएको तरकारी बेचेर कमाउँथ्यौं श्रीमती तारादेवी कोईरीले भनिन् ।
पानी नपाएर उत्पादनै कमी भएकाले अहिले दुबै जनाको कमाई ६/७ सय रुपैयाँमा मात्रै सीमित छ । त्यसका लागी पनि बजारकै तरकारी थोकमा किनेर बेच्नु पर्ने बाध्यता छ । ‘पानी कै कारण तरकारी उत्पादन घटेकोले आर्थिक बचत नभएर अहिले खादै पिउँदैमा हैरान छौँ उनले तर्क गरिन् ।’ आफ्नो पालामा बाजेबजैको पुर्खौली पेशालाई शहरमा आएर पनि संगसंगै लैजानु कम चुनौति पुर्ण छैन । बुवाले तरकारी खेती गर्दा टाढा टाढा सम्म बस्ती नरहेको मुर्लिमा अहिले साहुको २ कठा जग्गा बाहेक चारैतिर घर बनिसकेको उनीहरुले बताए । तरकारी खेतीका लागी उतिबेला मल, खाद्य, पानीको त्यति आवश्यक्ता पर्दैन्थ्यो । तर अहिले उत्पादन नै हुँदैन कोइरीले भने । मोटर देखाउन आएका मिस्त्रीले जमिन मुनि पानीको समस्याले गर्दा पानी आउन कम भएको बताए । जेनतेन चलिरहेको परिवारमा २०/३० हजार सम्म पर्ने मोटर किन्न सक्दैनौँ । यहि मोटरले पहिलाको जस्तो पानी तान्न सकिदैन । यसका लागी कुनै नौलो उपाय पनि जानेको र बुझेको छैन । रुख विरुवा मासिदै गएकाले पानीको सतह दिन प्रतिदिन घट्दै गएर पानी आउन कम भएको उनले मिस्त्रीले भनेको कुरा मात्र प्रतिक्रिया सुनाए ।
नेपाल सरकारले विभिन्न क्षेत्रमा दिदै आएको अुनदान करेसाबाली र तरकारी बाली लगाउने कृषकहरुका लागी पनि दिने नगर्दा साधारण किसानहरु मारमा परेका छन् । यसको अतिरिक्त वातावरणमा मानिसले नै गर्दा र जलवायु परिवर्तनको कारण यस्तो भएको भनी सर्वसाधारण तथा कृषकहरुलाई बुझाउन नसक्दा पनि सामान्य समस्या झन बल्झँदै जाने बुद्धिजीबीहरुको भनाइ छ । यस्तो अवस्थामा कृषकहरुलाई सहुलियत दरको ऋण, राहत तथा आर्थिक वा मेशीनरी सहयोग राज्यले पनि दिनु पर्ने उनीहरुको सुझाव छ । बढ्दो जनसंख्या र घट्दो कृषिकर्मीहरुबाट कम अनाज उत्पादन भए पनि मानिसले खाने अन्न नै हो भन्ने कुरा बुझेर सरकारले कृषि योग्य जमिनको रक्षा र कृषकहरुलाई हौसला दिन अब सकृयता देखाउनु पर्ने बुद्धिजिबीहरुको सुझाव छ । उदाहरणका पात्र मात्र रहेका कोइरी दम्पति जस्ता बर्षेनी १० हजार रुपैयाँ जमिनको भाडा तिरी कृषि कर्म गर्नेहरुलाई राज्यले ख्याल गर्नै पर्ने भएको छ । आफ्नो माटो छोडी विदेशिने युवाका लागी कोईरी दम्पती प्रेरणाका स्रोत हुन् । कारण २ कठ्ठा जग्गाको उत्पादनले सानो घर जोड्न सकेका उनीहरु विदेशीने युवाहरु भन्दा राज्यका लागि महान् हुन् । यहिको माटो सुम्सुम्याई आन्दानी समेत गरी दुई छोरी र एक छोराको विहे गर्न सफल कोइरी परिवारलाई भईपरी आउने आपत विपतमा समेत यसै जमिनको उब्जाउले साथ दिएको थियो ।
हाम्रो पेसा कृषि भएकोले यसलाई निरन्तरता दिएको हो उनीहरुले भने । मुख्यतया केही वर्षदेखि चापाकलहरुमा पानी कम आउने, धारो सुक्ने समस्याले कोईरी मात्रै हैनन् तराई क्षेत्रका धेरै मानिस पीडित बनेका छन् । तर उनीहरुलाई मानिसले नै प्रकृतिलाई दुःख दिदा प्रकृतिले पनि मानिसलाई दुःख दिन थालेको भने धेरैलाई थाहा छैन । रुख विरुवा, वन जङ्गल मासिदै गएका कारण रुख विरुवाले दिने शितलता बाष्प युक्त पानी पार्ने क्रममा नै कम भएको छ । जसको कारण जमिनले सतहको पानी सोसेर जमिन मुनि पानी जम्मा गर्ने क्रममा पनि कमी हुँदा भूगर्भबाट पानी निस्किने क्रममा पनि कमी भएको जानकारहरुको भनाइ छ । यो सत्यतालाई अब जानकारहरु र राज्यले सर्वसाधारणलाई पनि जानकारी दिन र प्रकृतिलाई असाध्यै दुःख दिन बन्द गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।