डिमेन्सिया अल्जाइमर रोग धेरैका लागि नौलो हुनसक्छ । तर यो रोगबाट नेपाल पनि अछुतो छैन । यो एक प्रकारको बिर्सने वा भुल्ने रोग हो । जुन दिमागसंग सम्बन्धित हुने गर्दछ । यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायत मानिसको व्यवहारमा समेत असर गर्ने गर्दछ । यस्ता प्रकारका कुनै पनि समस्या देखिएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्दछ । अहिले विश्वभर फैलिएको छ अल्जाइमर । विश्वका झण्डै ४७ मिलियन मानिस अहिले डिमेन्सिया अर्थात भुल्ने रोगबाट प्रभावित छन् । यो रोगले प्रत्येक ६८ सेकेन्डमा आफ्नो प्रभाव देखाउने गर्दछ । यसै सन्दर्भमा वीरगज स्थित श्री भवानी हस्पीटल एण्ड रिर्सच सेन्टर प्रा.लीमा सेवा दिदै आईरहनु भएका नसा तथा मानसिक रोग विशेषज्ञ डा.भरत कुमार गोइतसंग कुराकानी गरेका छौँ ।
१) डिमेन्सिया के हो ?
डिमेन्सिया मस्तिष्कमा लाग्ने एउटा साझा रोग हो । जसले गर्दा कतिपय उच्च स्तरीय मानसिक क्षमतामा ह्रास भएर व्यक्तिको स्मरणशक्ति, चिन्तन, वरिपरि भैरहेका गतिविधिहरु प्रतिको जागरुकता, मनन्, हिसाब किताब, नयाँ कुरा सिक्ने क्षमता, विचार तथा स्वविवेकको साथै संवेग, व्यवहार तथा आत्मोत्साहमा कमि हुदैं जान्छ । प्रायः गरेर बढ्दै जाने तथा लामो समयसम्म लागिरहने यो रोग अत्यन्त कठोर भएर विरामीलाई सिकिस्त बनाईदिने गर्दछ र विस्तारै परावलम्बी बनाएर समय भन्दा पहिले नै ज्यान लिने गर्दछ । डिमेन्सिया विभिन्न किसिमका हुन्छन् । त्यस मध्ये अल्जाइमर्स रोग सबै भन्दा बढी देखिन्छ र यो प्रायजसो ६५ वर्ष माथिका मानिसमा पाइन्छ ।
२) डिमेन्सिया कति किसीमका हुन्छन ?
डिमेन्सिया धेरै किसिमका हुन्छन । जसमध्ये अल्जाइमरका कारण हुने डिमेन्सिया र भास्कुलर डिमेन्सिया मुख्य हुन । अल्जाइमरका कारण हुने डिमेन्सियाले नसाको काम नियन्त्रण गर्ने रसायनमा गड्बडी ल्याउने र दिमागको नसा कमजोर बनाउने गर्छ । यो समस्या ५० देखि ७० प्रतिशतमा हुने गर्छ । भास्कुलर डिमेन्सिया करिब २० प्रतिशतमा देखिन्छ । यसका कारण मस्तिष्कको नसामा रक्तसञ्चार गड्बडी हुन्छ र नसा मर्ने गर्छन् । त्यस्तै, टाउकोमा चोट लागेर हुने डिमेन्सिया, फन्ट्रोटेम्प्ररल र पार्किन्सन आदि पनि यसका किसिम हुन् ।
३) डिमेन्सिया रोगको लक्षणहरु कस्ता कस्ता हुन्छन ?
आम मानिसमा कहिलेकाहीँ कहीँ न कहीँ बिर्सिरहने बानी हुन्छ, तर त्यो डिमेन्सियाको लक्षण भने होइन । डिमेन्सियाका बिरामीका लक्षण सबै एकैचोटि देखिदैन । धेरै जसोमा सुरुमा बिर्सने, नियमित काम गर्न कठिनाइ हुने र रिसाउने जस्ता लक्षण देखिन्छन । स्मरण शक्तिको ह्रासले भुल्ने बानी भई दैनिक जीवनयापनमा कठिनाई, खासगरी भर्खरैको घट्नाहरु र व्यक्तिका नामहरु समेत बिर्सनु यसको लक्षण हो । समय तथा स्थानको ज्ञान हराउनु, आँखाले देखेका कुराहरु नचिन्नु तथा नजिक–टाढाको दुरी अथवा सम्बन्ध छुट्याउन नसक्नु, क्ुराकानी गर्दा अथवा लेख्ने बेलामा चाहिएको शब्द नभेट्नु, सामानहरु अलपत्र पारी चाहिएको बेलामा भेट्न नसक्नु । स्वविवेक शक्ति क्षीण हुनु अथवा गुम्नु । घरायसी तथा व्यवसायिक कृयाकलापबाट बिमुख हुनु । व्यक्तिको मुड तथा व्यक्तित्वमा परिवर्तन हुुनु यसका लक्षणहरु हुन् ।
४) यो रोग लाग्नुको कारणहरु के हुन ?
डिमेन्सिया हुने विभिन्न कारण छन् । जसमध्ये मस्तिष्कका कोषमा हुने क्षतिका कारण डिमेन्सिया हुन्छ । सामान्यतया, मस्तिष्कले काम गर्न कोषबीच एक–अर्कासँग सम्पर्क हुन जरुरी छ । कतिपय अवस्थामा विभिन्न कारणले दिमागमा कोषहरूले काम गर्न सक्दैनन् । फलस्वरूप सोच, व्यवहार र भावना प्रभावित हुन्छन् । डिप्रेसनलाई डिमेन्सियाको प्रमुख कारक मानिन्छ । डिप्रेसनले मस्तिष्कमा प्रत्यक्ष असर गर्ने भएकाले बिस्तारै कोषिकाहरूमा क्षति गर्दै जान्छ । जसले गर्दा दिमागले राम्रोसँग काम गर्न सक्दैन । विभिन्न रोगका लागि खाइने औषधिको साइड इफेक्टबाट समेत डिमेन्सिया हुने सम्भावना रहन्छ । अत्याधिक मदिरा सेवन, तनाव, थाइराइडको समस्या तथा शरीरमा भिटामिनको कमी हुँदा पनि डिमेन्सिया हुन सक्छ ।
५) नेपालमा यस रोगको अवस्था कस्तो देखिएको छ ?
यसको एकिन तथ्यांक त छैन । तर, यो समस्या धेरैमा रहेको अनुमान लगाउन सकिन्छ । नेपालमा यसको अध्ययन भने भएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक ३ मिनेटमा एक जनामा डिमेन्सियाको समस्या डाइग्नोस हुन्छ । यो आधारमा हेर्दा डिमेन्सियाको समस्या बढ्दै गएको भन्न सकिन्छ । डिमेन्सियाको संख्या बढी हुनु भनेको अल्जाइमर्स डिमेन्सियाको समस्या पनि बढी हुनु हो ।
विश्वमा ४७ मिलियन मानिसहरु अल्जाइमर्स डिमेन्सियाबाट ग्रस्त छन् । हरेक २० बर्ष यसको संख्या दोब्बर हुन्छ । सन् २०१५ को तथ्याङ् अनसुार नेपालमा पनि ७८ हजार मानिसहरुमा बिर्सिने समस्या रहेको छ । र यसको संख्या सन् २०३० मा दोब्बर बढ्ने अनुमान गरिएको छ । हामी नेपालीको औसत आयु ६८ वर्ष पुगेको छ । अल्जाइमर अथवा डिमेन्सिया ६० वर्षभन्दा बढीका व्यक्तिलाई लाग्ने भएको हुनाले समाजमा जति वृद्धावृद्धा हुन्छन त्यति नै यो रोग बढ्दै जाने हाम्रो अनुमान छ ।
५) यस रोगको रोकथाम र उपचार पद्धती कतिको सहज छ ?
डिमेन्सिया कुन तहमा छ भन्ने यकिन गरेर भन्न सकिन्न । यद्यपि शारीरिक परीक्षण, अगाडि गरिएका मेडिकल जाँच, ल्याब परीक्षण, सोचाइ र व्यवहारमा आइरहेको परिवर्तनका आधारमा चिकित्सकले डिमेन्सिया भए नभएको यकिन गर्छन । हरेक डिमेन्सियामा एकै खालका लक्षण देखिने भएकाले यसको उपचारमा पनि समस्या देखिन्छ । तनाव, थाइराइड, टाउकोमा पानी जमेर तथा भिटामिनको कमीका कारण हुने डिमेन्सियाको मात्रै उपचार गरेर निको पार्न सकिन्छ । अन्य डिमेन्सियालाई औषधिको सेवन गरेर नियन्त्रण गर्न सकिन्छ, तर पूर्ण रूपमा निको हँुदैन ।
६) योे रोग लाग्न नदिन के गर्न सकिएला ?
डिमेन्सियाबाट बच्न दिमागलाई सक्रिय राख्ने, खानपान र जीवनशैलीमा ध्यान दिने गर्नुपर्छ । सागपात तथा फलफूल सेवन, नियमित शारीरिक व्यायाम, स्नायु प्रणलीलाई सकृय बनाउने खेल खेल्ने गर्नुपर्छ । वृद्धवृद्धालाई घरमै बस्ने र परिवारका सदस्यहरुसंग घुलमिल हुने वातावरण मिलाउन सकिएमा पनि यस्ता समस्याबाट बच्न सकिन्छ ।
७) यो दिवस कहिलेबाट मनाउन सुरु गरिएको हो र विश्वले यस रोग नियन्त्रणबारे के कस्तो कामहरु गरिरहेको पाइन्छ ?
विश्व अल्जाईमर्स महिना भने सन २०१२ देखि मनाउन सुरु गरिएको हो । यस वर्षको मुल नारा ‘विस्मृति रोग बारे चर्चा गरौं ः हेय भावना अन्त्य गरौ’ रहेको थियो । विश्वमा मृत्युको कारणहरु मध्ये डिमेन्सिया सातौं कारण बनिसकेको छ । डिमेन्सियाबाट पिडित धेरैजसो व्यक्तिहरु निदान र सहयोगबाट बञ्चित हुने गरेका छन् । आजका दिन विश्वभर लगभग ५ करोड व्यक्तिहरु डिमेन्सियाबाट पिडित छन् । जुन प्रकारले विश्वमा ज्येष्ठ नागरिकहरुको संख्या बढ्दै गईरहेको छ, त्यसको आधारमा सन् २०५० सम्ममा डिमेन्सियाबाट पिडित ब्यक्तिहरुको संख्या लगभग १५ करोड २० लाख पुग्ने अनुमान गर्न सकिन्छ ।
सन् २०१८ मा मात्रै विश्वभरमा डिमेन्सियाबाट पिडित व्यक्तिहरुको उपचार तथा स्याहार गर्ने क्रममा लगभग दस खरब अमेरिकी डलर खर्च भएको अनुमान छ । विश्वमा प्रत्येक वर्ष डिमेन्सिंयाबाट पिडित व्यक्तिहरुको लागि अनौपचारिक रुपमा स्याहार गर्ने क्रममा मात्रै लगभग चार करोड व्यक्तिहरुको दैनिक श्रम समय खर्च हुने अनुमान गरिएको छ । संख्यामा असामान्य रुपले महिला स्याहार कर्ताहरुको संख्या बढि देखिन्छ ।