बारा जिल्लाको रामपुर गा.वि.स लक्ष्मीपुर विर्ता हाल (कोल्हवी नगरपालिका) मा पिता मेदिनीदेव खरेल र माता दुर्गादेवी खरेलको कोखबाट बि.सं २०२३ साल कात्तिक १५ गते जन्मिएकी उमा मिश्रा रौतहटको माध्यमिक विद्यालय दुदिहवा बाट एस.एल.सी उत्तीर्ण गरी ठाकुरराम बहुमुखी क्याम्पसबाट स्नातक र काठमाण्डौ स्थित पद्मकन्या क्याम्पसबाट स्नातोकोत्तर तहको अध्ययन पुरा गरेका छन् । २०५३ सालमा परिवारकै अनुमतिमा अन्र्तजातिय प्रेम विवाह गरेकी उनले २०५४ साल देखि औपचारीक रुपमा वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यापन गराउन सुरु गरिन हाल वीरगंज स्थिति ठाकुरराम बहुमुखी क्याम्पसकोे उपप्राध्यापक पदमा कार्यरत छिन । उनै उपप्रध्यापक मिश्रा संग हालको क्याम्पस तहको शैक्षिक अवस्था र सुधार्नु पर्ने पक्षको बारेमा मध्य नेपालका लागी गरिएको कुराकानी : —
१) पर्सा जिल्लाको क्याम्पस तहको शैक्षिक अवस्था कस्तो छ ?
त्रि.वि ले जुन उद्देश्य राखेर विभिन्न आँङ्गिक क्याम्पसहरुलाई सम्बोधन गरेको छ । समयको परिवर्तन संगसंगै त्यो उद्देश्य अनुरुप शिक्षकहरुले शिक्षण गर्नु पर्छ र विद्यार्थीले पनि विश्वविद्यालयको त्यो स्प्रिटलाई आत्मसात गर्दै हिड्नु पर्नेमा हिजोआज विद्यार्थीहरु परीक्षामा मात्रै सामेल हुने, नियमित कक्षामा उपस्थित नहुने स्थिति देखिएको छ । शिक्षकहरुले अध्ययन गरेर आफ्नो पाठ योजना अनुरुप तयार भएर जानुपर्ने हुन्छ र जान्छन् पनि । त्यसरी शिक्षकहरु जोसका साथ जादा कक्षामा एक दुई जना मात्र विद्यार्थी हुँदा शिक्षकहरु एकदमै निराश हुन्छन् । शिक्षकहरुको पनि जोस मेरेर जान्छ बिस्तारै बिस्तारै पढ्ने बानी छुट्दै जान्छ । वीरगंजको परिपेक्षमा भन्ने हो भने शिक्षक वा विद्यार्थीहरुको शैक्षिक स्तर उकास्ने कुनैपनि क्रियाकलापहरु भएका छैनन् । प्रध्यापक वा शिक्षक आफैले स्वअध्ययन गरेर समय अनुकुल आफ्नो शैक्षिक अवस्थालाई उकासेर गईरहेको अवस्था छ । विद्यार्थीहरु पढईलाई भन्दा पनि प्रमाण पत्रलाई मात्रै महत्व दिरहेका देखिन्छन् । केही विद्यार्थीहरु मात्रै छन् जो नियमित कक्षा उपस्थित छन् । उनीहरु उत्सुक पनि छन् र राम्रो गरेका छन् । संख्यात्म रुपमा विद्यार्थीको चाप कम नभए पनि गुणस्तरमा कमी देखिएको ले यहाँको शैक्षिक अवस्थालाई सबल भन्न मिल्दैन् ।
२) शैक्षिक गुणस्तरलाई उकास्ने उद्देश्यले लागु भएको सेमिस्टार प्रणाली कत्तिको प्रभावकारी भएको छ ?
पहिला भन्दा सेमिस्टार प्रणाली लागु भईसकेपछि शिक्षामा त्यसको प्रभाव एकदमै सकारात्मक देखिएको छ । कक्षामा विद्यार्थीहरुको उपस्थिति राम्रो छ । शिक्षकहरुले आफूलाई नयाँ प्रविधि अनुरुप प्रशस्त तयारीका साथ कक्षामा गाएका छन् । शिक्षकहरुमा पनि मेहेनत देखिएको छ र विद्यार्थीहरुमा पनि उत्सुक्ता देखिएको छ । स्नातक तहमा सेमिस्टार लागु भएको छैन् । स्नातोकोत्तर तहमा मात्रै सेमेटर प्रणाली लागु छ । स्नातक तहमा पनि सेमिष्टार प्रणाली गर्ने निति छ तर हामी कहाँ त्यो व्यवस्था छैन् ।
३) शिक्षण पेसामा आबद्ध रहदाका चुनौतिहरु के छन् ?
शिक्षण क्षेत्रमा खासै चुनौति छैन् । पुरुष शिक्षकहरुलाई जत्तिकै सम्मान, आदर हामीलाई पनि दिएका छन् । त्यसमा कुनै कमी छैन् । तर कक्षाकोठा, घर परिवार, समाज र आफ्नो प्राङ्गिक उन्नयनको जुन दायित्व छ त्यो सबैको समन्वय मिलाउनलाई पुरुषको तुलनामा महिलालाई अलिकति गाह्रो छ । परिवार, सन्तान, श्रीमान्, समाज पनि हेर्नु पर्ने, आफ्नो प्राङ्गिक उन्नयनको लागि पठनपाठन पनि गर्नु पर्ने, कक्षामा पनि राम्रो सक्रियता देखाउनु पर्ने हुँदा कताकता महिलाहरु मानसिक तनावमा रहेको जस्तो अनुभव हुन्छ । त्यो बाहेकका अन्य राष्ट्रिय अन्तर्राट्रिय भूमिकाहरुमा महिलाहरुलाई सकेसम्म अगाडि आउन दिदैनन् । संघर्ष गरेर विभिन्न किसीमका आरोपप्रत्यारोप सहेर महिलाहरु अघि बढिरहेका छन् ।
४) ठाकुरराम बहुमुखी क्याम्पसमा अहिले राजनीतिको बढी प्रभाव (हस्तक्षेप) देखिन्छ नि । यसो गर्न क्यापसलेनै छुट दिएको हो ?
क्यामपसले अनियमितता गर्न छुट दिदैन । हामी कति वर्षदेखि संक्रमण कालमा थियौ । हुनत अहिले स्थायी सरकार आईसकेको छ । एउटा व्यवस्थाले स्थायीत्व लिईसकेको छ त्यसै अनुरुप कार्यान्वयनको पक्षमा धेरै राम्रा कामहरु भईरहेका छन् । तर अहिले पनि थुप्रै संक्रमणका लक्षणहरु छन् । त्यसकारण राजनीतिक दलको प्रभावले होस् वा आफ्नो स्वाथको प्रभावले वा अन्य विभिन्न प्रभावले गर्दा होस् वीरगंजमा मात्रै नभई पुरै देशमा नै यस्ता अनियमितताहरु देखिएका छन् । यहाँका क्याम्पस स्तरका विद्यार्थीहरु पनि राजनीतिमा संलग्न छन् । विद्यार्थी राजनीति राजनीतिक दलहरुका भातृसंगठनहरु हुन । राजनीतिज्ञहरुले ती भातृसंगठनहरुलाई नियन्त्रण गर्न नसकेको कारणले गर्दा कलेज तथा क्याम्पसहरुमा यस्ता अनियमितता देखिएको हो । विद्यार्थीहरुलाई उनीहरुको राजनीतिक दलले राम्रो स्कुलिङ्ग गरिरहेको छैन् । त्यसले गर्दा क्यामपसमा अनुसाशनहिनताका थुप्रै गतिविधिहरु देखिरहेका छन् । यदि राजनीतिक दलले आफ्ना कार्यकर्तालाई, भातृसंगठनका सदस्यहरुलाई अनुशासीत बनाएर लिएर हिड्यो भने यस्ता समस्याहरु उत्पन्न हुदैनन् र कलेजमै त सिक्ने हो राजनीति । कलेज ज्ञान लिने स्थान हो । ज्ञान पाएपछि चेतना हुन्छ । चेतना आएपछि राजनीति भईहाल्छ नि । चेतनानै त राजनीतिको सुरुवात हो । क्यामपसमा राजनीति हुनु कुनै नौलो कुरा होईन तर व्यवस्थित हुनुपर्छ ।
५) पहिला भन्दा अहिले क्याम्पसको शैक्षिक गुणस्तर खस्किएको बिज्ञहरुको भनाई छ । यसको कारण के हो ?
शैक्षिक गुणस्तर खस्किनुको एकमात्र कारण विद्यार्थीको नियमित उपस्तिथि नहुनु हो । यदि विद्यार्थी सम्पूर्ण रुपमा उपस्थि हुने हो भने प्रशासन पनि डराउँछ, । क्यामपस प्रमुख देखि शिक्षक,र प्रशासन सबै व्यवस्थित विद्यार्थीहरु नआएको कारणले नै यस्तो भएको हो ।
६) क्यामपसका चुनौतिहरु के के हुन् ?
ठाकुरराम बहुमुखी क्याम्पस प्रदेश नं २ कै जेठो र गौरव बढाउने क्याम्पस हो । यसको महत्वलाई हामी सबैले बुझ्नुपर्छ । क्याम्पसको विकासलाई आफ्नो उद्देश्य ठान्ने, निस्वार्थ भावनाले सबैलाई समेटेर क्याम्पसको उतरोत्तर प्रगतिको लागि अघि बढ्ने खालको क्याम्पस प्रमुखको आवश्यकता छ । त्यसलाई अझ अगाडी बढाउँनु पर्छ भन्ने सोचको विकास हुन जरुरी छ । केन्द्रले पनि शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्यक्रमहरु दिनुपर्छ र भएका कार्यक्रमहरुलाई पनि व्यवस्थित किसिमले संचालन गरेर हिड्नु पर्छ । यति भयो भने र राजनीतिक दलले यो क्याम्पस प्रति सकारात्मक भावना राखेर यहाँका विकृतिहरुलाई क्याम्पससंग सम्बन्धीत निकायहरुले संस्थालाई सुर्धानु पर्छ भनि मन, बचन, कर्मले लागि प¥यो भने कुनै पनि चुनौति छैनन् ।
७) तपाईको प्रेरणाको स्रोत को हुनुहुन्छ ?
प्रबिणता र स्नातक पढ्दा शोभा बनर्जी म्यामले हामीलाई पढाउनु हुन्थ्यो । उहाँको व्यक्तित्व यति प्रभावशाली थियो । उहाँले पढाएको, उहाँको हिडाई, डुलाई, लगाई सबै देखेर म पनि पढेर यस्तै कलेजमा पढाउँछु भन्ने अठोट मैले त्यसै समयमा गरे र आज त्यही अठोटले म सफल पनि भए । उहाँँ नै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ ।
८) शिक्षण पेशामा तपाई सफल व्यक्तित्व हुनुहुन्छ ? यहाँसम्म आईपुग्दा घरपरिवार र श्रीमान्को साथ सहयोग कत्तिको पाउनु भयो ?
मैले स्नात्तोकोतर सम्मको अध्ययन सकेर नै विवाह गरेकी हु । हामी पाँच दिदी बहिनी र १ भाई गरि छ सन्तान थियौं । बुवा खेती किसानी गर्नु हुन्थ्यो । तर उहाँले हामी सबैलाई राम्रो शिक्षा दिनु भयो । हामी सबै स्नातोकोत्तर सम्म पढेका छौ । माईतीमा हुँदा आमा वुवाको साथ सहयोगले अध्ययनलाई पुरा गरे । विवाह भएपछि पनि श्रीमान्को साथ सहयोग पाए । मैले प्रेम विवाह गरेपनि श्रीमान्को सोचाई सकारात्मक छ । उहाँको साथ, विश्वासले म यो स्थान सम्म आईपुगे । मेरो दृढ संकल्प, सक्छु भन्ने आत्मविश्वास, घरपरिवार र श्रीमानको साथ सहयोगले नै म सफल भएकी हुँ ।