नेपाली चलचित्र निर्माणको ५३ बर्ष प्रवेश गरेको अवसरमा पहिलो पटक स्वर्णिम महोत्सवका रुपमा प्रदेश नं. २ को आर्थिक राजधानी वीरगंजमा सम्पन्न भएको स्वार्णिम चालचित्र महोत्सव कार्यक्रमसंग सम्बन्धित रहेर कार्यक्रम संयोजक एवं नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष विमल पौडलसँग गरिएको बिशेष कुराकानी :
१) चलचित्र स्वार्णिम महोत्सवको लागि प्रदेश न. २ को आर्थिक राजधानी वीरगंजलाई छनौट गर्नुको कारण के हो ?
जहाँ ठूलो आवादी छ, त्यहाँ नेपाली चलचित्र नपुगेको नहोस् भनी हामी त्यही ठाउँमा पुग्नु पर्छ भनी प्रदेश नं. २ को वीरगन्जलाई उपयुक्त ठान्यौं । यो प्रस्ताव साथीहरु समक्ष राख्दा जहाँ नेपाली चलचित्र पुग्दैन हामी त्यहाँ किन जाने भन्ने विचारहरु आए । तर मैले नै जहाँ पुगिएको छैन, त्यही पुग्नु पर्छ भनी ठूलो आवादी भएको ठाउँमा त्यो पनि आफ्नै माटोमा स्वर्णिम महोत्सवको गर्ने भनी वीरगंज रोजियो ।
२) यहाँका स्थानीय कलाकारहरुलाई बेवास्ता गरिएको जनगुणसो छ नि ?
हामीले यहाँ ११ वटा उपकमिटिनै गठन गरेका थियौँ । जसमा सबै स्थानीय कलाकार, मिडिया र रंगमन्चका साथीहरु नै हुनुहुन्थ्यो । हामीले यहाँका कलाकारहरुको प्रस्तुति के : कसरी सम्मान गर्ने ? यहाँको प्रतिभालाई कसरी मंचमा उत्तार्ने भन्ने बारेमा पहिल्यै नै योजना गरिसकेका थियौ । यो योजना हामीले यहाँ बनाउनु पर्नेमा काठमाण्डौमा बनायौं त्यो मात्र त्रुटी भयो । हामीले यो योजना बनाउँदा यताका ठूलो पर्वहरु दिपावल र छठ परेको उता बसेर बनाउँदा त्यस्तो फिल भएको होला । तर हामीले यहाँका कलाकारहरुलाई मिनिमाइज गर्ने कुनै सोच राखेर त्यसो भएको होइन ।
३) उद्देश्य अनुसारको प्रतिफल कत्तिको पाउँनु भयो ?
पूर्णरुपमा सन्तुष्ट कतै पनि हुँदैन । यति ठूलो कार्यक्रमको आयोजना सम्पन्न भइसकेको अवस्थामा केही त्रुटीहरु नभएका होइनन् । तर हामीले यहिबाट पाठ सिकेका छौं । आगामी दिनमा यस्ता कार्यक्रम गर्दा सुधार गर्ने छौं । हामीले सोचेजतिकै सफलता पायौं । यसमा यहाँको चलचित्र क्षेत्र लगायत सबै साथीहरुको महत्वपूर्ण सहयोगको सम्मान गछौं ।
४) यस कार्यक्रमका सहयोगी हातहरु को को हुन् ?
यो कार्यक्रम सफल बनाउन १ करोड २० लाखभन्दा बढि खर्च भएको छ । यसको लागि वीरगंजका उद्योग, उद्योगपतिहरु, यो क्षेत्र, प्रदेश नं.२ सरकार, वी.म.न.पा, वीरगंज उद्योग वाणिज्य संघ, चलचित्र विकास बोर्ड, प्रदेश नं. २ को पर्यटन प्रबद्र्धन समिति र राज्यको पनि ठूलो सहयोग रहेको छ ।
५) कार्यक्रम संचालन गर्ने क्रममा के कस्ता चुनौतिहरुको सामना गर्नु प¥यो ?
लगभग दुई महिना बसेर कार्यक्रम सम्पन्न गरियो । यो अवधिमा पहिलो चरणमा कुन व्यक्तिसंग कुरा गर्ने ? कसलाई लिनुपर्ने हो भनेर छनौट गर्नलाई साह्रै गाह्रो भयो । राजनीतिक दलहरुलाई कसरी भेट्ने, कोसंग भेट्ने भन्नेमा हामी अलमल रह्यौं । तर पछिल्लो अवस्थामा हामीले सबैलाई जोड्दै गयांै । पहिला नबुझेर असन्तुष्टि जनाउनु भएका व्यक्तित्वहरुलाई कार्यक्रम बारे प्रष्ट पारेपछि उहाँहरु पनि सकारात्मक हुनु भयो । पछि सबैको साथ सहयोग पायौं र सफल पनि भयौं ।
६) विदेशी कलाकार जत्तिको क्रेज नेपाली कलाकारहरुले नपाएको जस्तो देखियो नि ?
हाम्रा कलाकारलाई यहाँका दर्शकहरुले माया गरेनन्, हुटिङ्ग गरेनन्, वाह—वाह गरेनन् भन्ने कुराहरुलाई म मान्यता दिन । नेपाली चलचित्रले मधेशलाई कहाँ सम्बोधन गरेको छ ? यहाँको कला संस्कृतिलाई स्पष्ट रुपमा कहाँ उतारेको छ ? भन्ने कुरामा पनि ध्यान दिनु पर्छ । मधेश नेपाली चलचित्रमा छुटेकै भएर हामीले यो कार्यक्रमको आयोजना मधेशमा नै गरेका हौ । दर्शकले पर्दामा हेर्न जाँदा यहाँका पात्र, कथा, व्यथा, भाव कला संस्कृति केही समेटिएको पाइदैन । त्यस्ता चलचित्र हेर्न दर्शक बाध्य हुँदैनन् । किनभने अपनत्व नै हुँदैन । यस्तो अवस्थामा नेपाली चलचित्र वा कलाकारलाई माया गरेनन् भनेर हुन्छ र ? यो जटिल कुरा हो तर हाम्रा चलचित्र निर्देशकदेखि कलाकारसम्मले हामी यो स्थान सम्म पुग्न सकेका छैनौ । हामीलाई चिन्दैनन् भन्ने कुरालाई स्वीकार्नु पर्छ र आफ्नो ठाउँ बनाउनु पर्छ ।
७) यो कार्यक्रमबाट वीरगंजलाई के फाईदा भयो ?
वीरगंज एउटा औद्योगिक नगरी भए पनि चलचित्र क्षेत्रलाई यहाँका उद्योगी व्यवसायीहरुले नजिकबाट बुझ्ने अवसर पाए । यो बुझाइलाई व्यवसायमा उतार्न सकिएको खण्डमा आगामी दिनमा वीरगंज पनि चलचित्र हबको रुपमा विकास हुन्छ । यहाँका कलाकारहरुले आफ्नो प्रतिभालाई नेपाली कलाकार र दर्शक माझ प्रस्तुति गर्ने मौका पाउँछन् । अझ त्यो भन्दा पनि काठमाण्डौ भित्र रहेका कलाकारहरुको बिचमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रह्यो । यसबाट एकदमै सन्तुष्ट महसुश भएको छ । अवसरका बाटाहरु खुलेका छन् । स्थानीय र मेधेशका कलाकारहरुले पनि नेपाली चलचित्रमा कुनै पनि भूमिकामा उपस्थित हुने बाटो खुल्यो । आन्तरिक तथा बाह्य पर्यटकको विकासका सम्भावनाहरु देखिएका छन् । वीरगंजलाई देशले चिन्यो । आम नेपालीले हिजो वीरगंजलाई नाकाबन्दीको ठाउँ भनेर मात्र चिन्थ्यो । त्यो मानसिक्तालाई चिर्ने काम यस महोत्सवले गरेको छ ।
८) यसबाट चलचित्र जगतलाई के फाइदा हुन्छ त ?
हामीले अहिले एउटा सतहमा बसेर सिनेमा निमार्ण गरिरहेका छौ । हत्तारमा सिनेमा बनाउँछौ अनि चलेन भनेर रुन्छौ । सिनेमा किन चलेन भन्ने कुरालाई बुझ्न जरुरी छ । यदि नेपाली चलचित्र जगतमा तराईको कला, संस्कृति, कथा र कलाकारलाई समेट्दै गएमा भविष्यमा सिनेमाको स्तरीयता वृद्धि हुनुको साथै मधेशमा पनि नेपाली चलचित्रले स्थान पाउने कुरामा कुनै दुईमत छैन ।
९) अन्त्यमा तपाई के भन्न चाहनु हुन्छ ?
यो महोत्सवले राष्ट्रियतालाई जोडेको छ । काठमाण्डौले वीरगंजलाई र वीरगंजले काठमाण्डौलाई हेर्ने दृष्टिकोणमा थोरै भए पनि सकारात्मकता भएको हुनुपर्छ । यो कार्यक्रमले पुलको काम गरेको छ । हुनत यो विषयलाई केही मिडियाले तिरस्कारका रुपमा लिएका थिए । मैले टिकटको विषयमा त कहिले स्थानीय कलाकारहरुको विषयमा केही तिक्तता भयो । तर हामीले त्यसलाई सुझावका रुपमा लिएका छौ र आगामी दिनहरुमा सुधार्ने छौ । यति ठूलो महोत्सवलाई सम्पन्न गर्न चलचित्र निर्माता संघले मात्रै सम्भव थिएन ।
यसमा वीरगंजबासी, संघ, संस्था, मिडियाकर्मी, प्रहरी प्रशासन, उद्योग, महानगर लगायत सबैको महत्वपूर्ण भूमिका थियो । स्वर्णिम चलचित्र महोत्सवलाई अपनत्व नदिएको भए हामी सफल हुने थिएनौं ।
यसका लागि हाम्रा कमिटिका साथीहरुले शसक्त रुपमा लाग्नु भयो । सबैलाई म लगायत आयोजक टिमको तर्फबाट धन्यवाद दिन चाहन्छु ।