करण जौहरले आफ्नो आत्मकथा ‘एन अनसुइटेबल बोय’ मा उनको पहिलो फिल्म ‘कुछ कुछ होता है’ बनाउँदाको अवस्था विस्तारमा लेखेका छन् ।
फिल्म बनाउँदा उनलाई सबैभन्दा ठूलो चुनौती होचो कद र बढी वजनकी रानी मुखर्जीलाई ‘हट’ देखाउनु थियो । तर रानीले यति राम्रो अभिनय गरिदिइन् कि ‘कुछ कुछ होता है’ की पात्र टिना सबैको मनमा बस्न पुगिन् ।
अहिले पनि रानी मुखर्जीको अभिनय उस्तै छ । सन् २०१४ मा रिलिज भएको ‘मर्दानी’ मा डीएसपी शिवानी शिवाजी रावको भूमिका निर्वाह गरेर सबैलाई चकित पारेकी रानीले अहिले ‘मर्दानी २’ मा पनि प्रहरी अधिकारीको भूमिकामा छन् । उनको यो भूमिकाले लाग्छ, उनी बिना यो फिल्म सायद सम्भव हुँदैनथ्यो । फिल्ममा रानी मुखर्जीका कैयौं दृश्य निकै प्रभावशाली लाग्छन् । एउटा असल प्रहरी बन्नका लागि गह्रुँगो आवाज र अग्लो कदमात्रै आवश्यक होइन भन्ने रानीको अभिनयले पुष्टि गर्छ ।
फिल्ममा तेज–तर्रार र सौम्यको मिश्रण बनेकी रानी मुखर्जीका कारण दर्शकको ध्यान लगातार फिल्मले तानिराख्छ । बाँकी सुन्दर त उनी छन् नै । फिल्मको कथा स्त्रीद्वेषको भावना अर्थात् महिलाप्रतिको दुर्भावना र त्यसका कारण हुने शारीरिक र मानसिक हिंसामा आधारित छ ।
‘मर्दानी २’ को पहिलो भागमा बलात्कार पीडितहरु र शिवानी शिवाजी रावका माध्यमबाट समाजमा महत्त्वाकांक्षी र सीधा कुरा गर्ने, नडग्ने महिलाहरुलाई कसरी कठघरामा उभ्याइन्छ भन्ने देखाइएको छ । यो व्यथाको वर्णन गर्ने रानी मुखर्जीको ‘मोनोलग’ पनि फिल्ममा राखिएको छ । तर, अझै कुशलतापूर्वक लेखिएको भए यो मोनोलग बढी प्रभावशाली हुन सक्थ्यो । फिल्मको अर्को भाग यी महिलाले समान हैसियत प्राप्तिका लागि गरेको संघर्ष देखाइएको छ । यो सुन्दर विचार नै पटकथाका सानातिना कमजोरीलाई बेवास्ता गरिने कारण बन्छ ।
‘मर्दानी २’ को अर्को विशेषता यसको बलियो र दुर्दान्त खलनायक हो । निर्दोष अनुहार र खैरो आँखा भएको २१–२२ वर्षको एक युवा सनी फिल्मको खलनायक हो । सुरुमै स्क्रिनमा भारतमा अपराधको आधिकारिक तथ्यांक राखेर फिल्ममा यती सानो उमेरको खलनायक राखिनुलाई पुष्टि गरिएको छ । भारतमा हुने गरेका बलात्कारका कुल घटनामध्ये आधामा आरोपितको उमेर १८ वर्षभन्दा कम छ ।
फिल्ममा वास्तविक तथ्यांकहरुलाई मात्र आधार बनाइएको छैन, घटनाहरुको सिक्वेन्सिङ र हुने तरिका पनि वास्तविकताकै वरिपरि छ । खलनायक बनेका विशाल जेठवाको अभिनय ‘ब्रेकिङ द फोर्थ वाल’ टेक्निकको प्रयोगबाट दर्शकसँग सीधा संवाद गर्न पुग्छ । जेठवाले केही दृश्यमा जब आफ्नो अनुहारको भाव निकै सादा र सपाट राख्छन् तब दर्शकमा अचम्मको प्रभाव पर्छ । यसको ठिक अघि यही खलनायकले डर र विभत्स दृश्यमा गजबको अभिनय देखाइसकेका हुन्छन् र तुरुन्तै बदलिएको उनको अनुहारको भावले बेग्लै छाप पार्छ ।
यसै कारण यो चरित्रप्रति हदैसम्मको घृणा गर्नबाट दर्शकले आफूलाई रोक्न सक्दैनन् । बितेका चारपाँच वर्षयता टेलिभिजनमा परिचित अनुहार जेठवा यो फिल्मबाट बलिउडमा बलियो पाइला राख्दै गरेका देखिन्छन् । उत्कृष्ट पटकथा र अभिनयबाहेक ‘मर्दानी २’ को प्रशंसा यसकारण पनि गरिनुपर्छ– यो परम्पराभन्दा फरक नायिका प्रधान फिल्म हो । बलिउड फिल्ममा कुनै नायिका अर्को नायक वा सहायक पुरुषको सहयोग बिना नै यति हिंस्रक खलनायकको सामना गरेको देखाइएको थिएन ।
आवश्यकताभन्दा बढी जानकारी दिन खोज्दा फिल्मको संवाद कतै कतै चिप्लेको छ । तर कम अवधिको र तीव्र गतिको यो फिल्मको ब्याकग्राउन्ड स्कोर पनि सहज र सटिक छ । फिल्ममा कुनै गीत छैन । गोपी पुथरण निर्देशित ‘मर्दानी २’ धेरै सस्पेन्स र रोमाञ्च भरिएको फिल्म बनेको छ । साथै यो फिल्मले जोडदार नारा लगाएको छ ‘स्त्रीद्वेष मुर्दावाद!’
*****
लेखक–निर्देशक: गोपी पुथरण
कलाकार : रानी मुखर्जी, विशाल जेठवा, श्रुति बापना, दीपिका अमिन