विगत १८ वर्षदेखि माइती नेपाल वीरगन्जमा रही मानव बेचबिखन विरुद्ध काम गर्दै आएकी शाखा प्रमुख संगिता पुरी अब वीरगन्जवासीका लागि खासै नयाँ नाम होइन । उनले यो लामो समयमा विभिन्न किसिमले नेपालका चेलिबेटी बेचबिखन हुने गरेको भेटाएकी छन् । पहिले र अहिले मानव बेचविखनमा शैली फेरिए फेरिएनन् ? लगायत मानव बेचबिखन र यसका चुनौति लगायतका विषयमा केन्द्रित रही उनै संगिता पुरीसँग गरिएको बिशेष कुराकानी :
१) आर्थिक वर्ष २०७६–०७७ को लागि माइती नेपाल पर्साले कस्ता योजनाहरु पारित गरेको छ ?
यो आर्थिक वर्षमा हामीले नेपालका विभिन्न ४० जिल्लाका महिला दिदीबहिनीहरु सीमा वारपार गर्ने गरेको भेटेका छौं । नेपाली दिदीबहिनी विभिन्न बहानामा भारत प्रवेश गर्ने गरेको भेटाएका छौ । अहिलेको अवस्थामा वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या पनि बढेको छ । भारतको विहार पटना लगायतका शहरहरुमा नेटर्वकिङ्ग व्यवसाय संचालन गरेर नेपालका युवायुवतिहरुलाई कम समयमा धेरै लाभ हुने, हप्ता दिनको तालिम दिने भनी ३० देखि ४० हजार सम्म नगद दिई तालिम दिने घर पठाउने उनीहरुको विश्वास जित्ने र लगायताका प्रलोभन देखाएर भारत लैजाने र त्यहाँ आर्थिक मात्रै नभई यौन हिंसामा समेत लगाउने गरेको हामीले पाएका छौ । महिला मानव बेचबिखन विरुद्ध कार्य गर्ने संस्था भएकोले हाम्रो पहिलो प्राथमिक्ता भनेकै चेलिबेटी बेचबिखन विरुद्धको अभियान हो । आर्थिक वर्ष २०७६–०७७ मा हामीले सिमा क्षेत्रमा निगरानी गर्ने हरेक समुदायमा रहेका व्यक्तिहरु विद्यालयका विद्यार्थीहरु, प्रहरी प्रशासन, र स्थानीय सवारी चालकहरु संग अन्तरक्रियाका कार्यक्रमको योजना बनाएका छौ र यो संचालन भइराखेको छ ।
२) माइती नेपाल पर्सामा आश्रय स्थलको व्यवस्था छ कि छैन ?
हामी कहाँ आश्रय स्थल छ । तर बेचबिखनमा परेका वा त्यसबाट जोगाएका दिदीबहिनीहरुका लागि मात्रै । तीन महिनाको लागि हामीले त्यस्ता बेचबिखबाट जोगाएका चेलीबेटीहरुलाई यहाँ राखेर उहाँहरु घर फर्कने अवस्था नभएसम्म घर फर्काउने प्रबन्ध मिलाउँछौ । यदि त्यो सम्भव छैन भने हामी उहाँहरुलाई हाम्रो अन्य शाखाहरुमा पठाउँछौ । हाम्रो अन्य शाखामा तालिम केन्द्रहरु संचालन छन् । हामीले उहाँहरुको ईच्छा अनुसारको सिप दिएर उहाँहरुको जीवनयापनमा सहयोग पु¥याउने काम गर्छौ ।
सुरुमा अन्जान भएर चिनजान गर्ने पछि मायाँ प्रेममा पर्दै फस्ने
३) पर्सा जिल्लामा स्थायी रुपमा बसोबास गर्ने आश्रय स्थानको व्यवस्था गर्न नसक्नुको कारण के हो ?
हामी कहाँ बजेटको अभाव छ । हामीले आश्रय स्थलको व्यवस्था गर्न सक्ने अवस्था छैन । महिनामा धेरैमा ३० जना थोरैमा २२ जना सम्म हिंसा पीडित महिलाहरु आउँछन् । उहाँहरुको भरण पोषण गर्न हाम्रो बजेटले पुग्दैन । पर्सा जिल्लामा हिंसा पिडित महिलाको लागी आश्रय स्थल नहुनु एकदमै जटिल अवस्था हो । अहिले स्थानीय सरकारले पनि स्थानीय ठाउँमा हिंसा पिडित महिलालाई आश्रय स्थल सेवा प्रभावकारी, विश्वसनीय, न्याय हुने किसिमको बाताबरण बनाउनु पर्ने हो । तर आज सम्म पनि पहल हुन नसक्नु र नबन्नु एकदमै दुखदायी कुरा हो ।
४) हिंसा पीडित महिलाहरुलाई दिने सेवा कत्तिको प्रभावकारी छ ?
पहिला धेरै गाह्रो थियो । तर अहिले प्रहरी कार्यालयले महिला तथा वालवालिका सेवा केन्द्रको व्यवस्था गरेको छ । त्यहाँ हिंसा पीडितलाई राखेर सोधपुछ गरिन्छ । जसले गर्दा हिंसा पीडित महिलालाई न्याय दिन सहज भएको छ । विभिन्न संघसंस्था अभियन्ता, अधिकारकर्मीहरुले पनि पीडितको पक्षमा आवाज उठाएकै छन् । प्रहरी र प्रशासनबाट पनि राम्रो साथ सहयोग देखिएको छ । समग्रमा भन्नु पर्दा हिंसा पीडित महिलालाई दिने सेवा प्रभावकारी छ ।
५) यसका चुनौतिहरु के के छन् ?
हामीले सिमा क्षेत्रमा बढी निगरानी राख्ने हुँदा नेपालबाट भारत तर्फ जाने हरेक यात्रुलाई सोधपुछ गर्दा सही जवाफ नदिने, झर्किने गर्छन् । त्यसमा पनि लाने र जाने व्यक्ति संगसंगै भएको पाईदैन । अलग अलग साधनहरु प्रयोग गरेर जाने प्रवृद्धि बढेको हुनाले हामीलाई एकदमै चुनौति छ ।
६) कसको साथ सहयोगको आवश्यक्ता छ ?
हाम्रो काममा प्रहरी प्रशासनको एकदमै ठूलो भूमिका रहन्छ । प्रहरी प्रशासन विना हामीले काम गर्न सक्दैनौ । उहाँहरुलाई साथ सहयोग गर्ने काम प्रहरी प्रशासनले नै गर्ने हो । यसमा नागरिक समाज, सामाजिक अगुवा विभिन्न संघसंस्था,संचार माध्यम, स्थानीय सरकार लगायत सबैको साथ र सहकार्यको हामीलाई आवश्यक्ता छ । अर्को कुरा मानव वेचविखन नियन्त्रणमा मुख्य चुनौति भनेको समाजिक सञ्जाल हो, ईमो, फेसबुक, भाईबर र ह्वाटसएप लगायतले भर्खरै सिक्न लागेको महिलाहरुलाई माया जालमा फसाउने र बेच्ने गरेको पाएका छौँ । अहिले प्राय केसमा यस्तै भईरहेको छ सुरुमा अन्जान भएर चिनजान गर्ने पछि मायाँ प्रेममा पर्दै फस्ने गरेको छ ।
७) अन्त्यमा के भन्न चाहनु हुन्छ ?
नेटवर्किङ्गमा काम लगाइ दिने र राम्रो तलब दिने आश्वासन र प्रलोभन देखाई नेपाली दिदीबहिनी तथा दाजुभाइबाट रकम असुली गर्ने कार्य बढेको छ । पहिला र अहिले धेरै नै फरक छ । पहिला लाने र जाने व्यक्ति संगै हुने गर्दथे भने अहिले अलग अलग जाने क्रम बढेको छ । यसबारे सबै सचेत हुन जरुरी छ । कसैले केही प्रलोभन देखाउदै छ भने पहिला त्यसको बारेमा राम्ररी बझ्नु पर्दछ ।
समाजिक सञ्जालले मानव बेचविखनको बढावा दिएको छ : संगिता पुरी