हेमराज ताम्राकार र माता बिना ताम्राकारका तिन सन्तान मध्यका पहिलो सन्तानको रुपमा बि.सं. २०३५ सालमा काठमाण्डौको थापाथली प्रसुति गृहमा जन्मिएकी रुबिना ताम्राकार गुरुङ्ग आज आफै डाक्टर छन् । उनका दुई भाइ छन् । बुवा विद्यालयका प्रबन्धक र आमा प्रधानाध्यापक रहेकोले शिक्षा आर्जनमा उनलाई कुनै कठिनाई नभएको हुनाले बि.सं. २०५१ सालमा जनकपुरको जानकी बोडिङ्ग स्कुलबाटबाट एस एल सी उतिर्ण भइन् । सानैदेखि बिरामीको सेवा गर्ने सोच भएको हुनाले डाक्टरी अध्ययनका लागि भारतको विजयवाडाबाट उच्च माविको अध्ययन गरी चाइनाको सिआङ्ग च्याउथोन विश्व विद्यालयबाट एम बि बि एस सम्मको अध्ययन पूरा गरि अध्ययनलाई निरनतरता दिदै फिलिपिन्सको फातिमा विश्वविद्यालय मेडिकल कलेजबाट एम डि सम्मको अध्ययन गरेकी छिन् डाक्टर रुविनाले । डा. गोविन्द गुरुङ्ग संग २०६३ सालमा वैवाहिक जीवनमा बाधिएकी ताम्राकारका दुई सन्तान पनि छन् । बि.स. २०६९ सालदेखि स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा सेवा दिदै आएकी ताम्राकार हाल नारायणी वयोदा अस्पतालमा कार्यरत छिन् । चिकित्सा क्षेत्रका विविध पक्षमा केन्द्रित रही डा. रुबिना ताम्राकारसंग गरिएको थप कुराकानी :
१) तराईका गर्भवती महिलाहरुमा चेतनास्तर कस्तो पाउनु भएको छ ?
अहिले पनि तराईका गर्भवती महिलाहरुमा गर्भावस्थाका बारेमा उनीहरुको चेतनास्तर न्यून छ । कतिपय महिलाहरु त आफू गर्भवती भएको सम्म थाहा नपाएको अवस्था छ । कति पय त डेलीभरी हुने समयमा आईपुगेको सम्म अवस्था छ । स्थानीय सरकार बनेपछि गाउँगाउँमा स्वास्थ्य केन्द्रहरुको सुविधा पनि पुगेको हुनाले पहिलाभन्दा आम मानिसको चेतना स्तरमा केही सुधार भएको छ । समय समयमा स्वास्थ्य परीक्षणका लागि जाने गरेको समेत पाइएको छ ।
गर्भवती महिलाले कम्तिमा ४ पटक स्वास्थ्य परिक्षण गराउनैँ पर्छ ।
२) बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ?
स्वस्थ बच्चा जन्माउनका लागि सबैभन्दा उपयुक्त उमेर भनेको २० देखि ३० वर्षसम्मको उमेर हो । त्यसपछि क्रमशः उमेर बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ । स्वास्थ्य अवस्थाका महिलाहरूले २० देखि ३५ वर्षसम्म राम्रोसँग बच्चा पाउन सक्छन् । तर २० वर्षभन्दा कम उमेरका महिलाले बच्चा पाउँदा जोखिम बढी हुन्छ । तर यहाँ कम उमेरमै विवाह हुने हुँदा सानै उमेरमा आमा बन्ने महिलाको संख्या धेरै नै छ । यसर्थ भन्नु पर्दा कमसेकम उमेरमा पनि सन्तान जन्माउनका लागि एक युवतिको उमेर २० वर्ष पूरा भएको हुनु पर्छ ।
३) गर्भावस्थामा गर्भवती महिलाले कति पटक सम्म स्वास्थ्य परीक्षण गर्नु पर्छ ?
गर्भावस्था आफैमा एउटा जटिल अनि विशेष अवस्था हो । गर्भावस्थामा धेरै समस्याहरु देखिन्छन् । पहिलो तीन महिनामा भएको सानो समस्याले पनि गर्भ तुहिने सम्भावना रहन्छ । एउटी महिलाले गर्भ रहेदेखि बच्चा नपाए सम्म कम्तिमा ४ पटक नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउनु पर्छ । जाँच गराउँदा गर्भवती महिलाको स्वास्थ्यको अवस्था र पाठेघरमा हुर्कंदै गरेको शिशुको अवस्थाबारे जानकारी प्राप्त हुन्छ । कम्तीमा चारपटक गर्भावस्थाको जाँच गराउनै पर्छ । पहिलो पटक गर्भवती भएको शंका लाग्ने बित्तिकै, दोस्रो पटक गर्भवती भएको ५ देखि ७ महिनामा, तेस्रो पटक गर्भवती भएको ८ महिनामा र अन्तिम पटक गर्भवती भएको ९ महिनाभित्र स्वास्थ्य परीक्षण गराउनै पर्छ । त्यसैले यस अवस्थामा नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नु पर्छ ।
४) गर्भावस्थामा के कस्ता औषधीकोे प्रयोग गर्नु पर्छ ?
नियमित परीक्षणसँगै फोलिक एसिड नामक औषधिको सेवन गर्ने, धनुष्टङ्कार विरुद्ध लगाइने टिटानस टक्सोइडको सुई लगाउने, आइरन, क्याल्सियम लगायतका औषधि नियमित रुपमा खाने गर्नुपर्छ । आइरन, क्याल्सियम औषधि सुत्केरी भएको ६ हप्ता सम्म नियमित सेवन गर्नुपर्छ । गर्भवती भएको ३ महिना पूरा भएपछि एक चोटी जुकाको औषधि पनि प्रयोग गर्नुपर्छ । चिकित्सकले दिएको औषधिहरु सहि तरिकाले सेवन गर्नु तथा दिएका निर्देशनहरु पुर्णरुपले पालना गर्नुपर्ने हुन्छ । गर्भवतीलाई धेरै भन्दा धेरै आराम र पौष्टिक खानेकुराको आवश्यकता पर्दछ । तर, चिकित्सकको सल्लाह अनुसार हलुका किसिमका व्यायाम गर्न सकिन्छ ।
५) कस्तो आहार बिहारको आवश्यकता पर्दछ ?
विशेषगरी शरीरलाई सुरक्षा दिने खानेकुराहरू, हरियो सागपात, पहेलो तथा रातो फलफूल, भिटामिन ए तथा सी युक्त खानेकुराले शरीरलाई रोगबाट बचाउने गर्छ । त्यस्ता खानेकुराको आवश्यकता अन्य समयमाभन्दा गर्भावस्थामा केही मात्रामा बढी हुन्छ । त्यसैगरी शरीरको वृद्धि–विकासमा सहयोग गर्ने खानेकुरा, जस्तै, दही, दूध, माछा, मासु, सबै प्रकारका गेडागुडी, दाल, तिल, माछा लगायत खानेकुरा अन्य समयमाभन्दा गर्भावस्थामा दैनिक रूपमा खानुपर्ने हुन्छ ।
६) गर्भावस्थामा परिवारको साथ कत्तिको आवश्यक पर्छ ? यस्तो समयमा अपनाउनु पर्ने सावधान के के हुन् ?
गर्भावस्था स्वास्थ्यको एक विशेष अवस्था हो । जुन बेला गर्भवती महिलालाई अरु बेलाभन्दा एकदमै स्याहारको खाँचो पर्छ । यो अवस्थामा हुने हेल्चेक्राइले आमा र बच्चा दुवैको ज्यान जोखिममा पार्ने गर्छ । स्वस्थ शिशु जन्माउनका लागि गर्भवती अवस्थामा स्वस्थ्य रहनु, सुरक्षित बानी–व्यवहार अपनाउनु, स्वस्थ आहार–बिहार गर्नु र परिवारको हर–हमेशा स्याहार चाहिने गर्छ । गर्भावस्थामा महिलाले बढी आराम गर्नुपर्छ । गर्भावस्थामा गह्रौं सामान बोक्नु हुँदैन । गर्भावस्थामा सकारात्मक सोच नितान्त आवश्यक छ । आपूmलाई पायक पर्ने स्वास्थ्य संस्थाको छनोट र पैसाको जोहो गर्न पनि बिर्सनु हुँदैन ।
७) सुत्केरी महिलाहरुमा आङ्ग खस्ने समस्या पनि देखिन्छ । के कारणले आङ्ग खस्छ ?
बच्चा पाएका महिलाहरु, महिनावारी सुक्ने बेला भएका महिला वा सुकेका महिलाहरुमा यो समस्या बढी मात्रामा देखापर्छ । जब महिनावारी सुक्न थाल्छ, त्यस बेलामा तन्तुहरुको आफ्नो समात्ने गुण बिस्तारै कमजोर हुदै जान्छ, त्यसले अझै तल आउन सहयोग गर्छ । त्यसमा पनि घरिघरि बच्चा पाएको, लामो समयसम्म खोकी लागेको, पेटमा पानी जमेको, ट्युमर पलाएको अथवा लामो समय कब्जियत भएको छ भने त्यसले पेटभित्रको चापलाई बढाउँछ । त्यो निस्कने मार्ग भनेको बच्चा निस्कने ठाउँ नै हो । पाठेघरलाई घचेट्दै पेटभित्रको चाप बाहिर आउने कोसिस गर्छ । यसको प्रमुख कारण भनेकै कम उमेरमा बच्चा जन्माउनु, जन्मान्तर नराख्नु, भारी बोक्नु, आराम नपुग्नु । सुत्केरी समयमा भारी काम गरेर वा कतिपयमा पाठेघर समात्ने तन्तुको जन्मजात रुपमा कमजोर भएर पनि यस्तो समस्या देखिन्छ ।
८) यसको मतलब वंशाणुगत रुपमा पनि पाठेघर खस्ने समस्या हुन्छ भन्न सकिन्छ ?
वंशाणुमा हुन सक्छ । तर त्यो नै प्रमुख कारण भने होइन । कतिपय अवस्थामा वंशाणुगत रुपमा पनि हुन सक्छ । तर यो निकै कममा मात्र हुन्छ ।