सानैदेखि डाक्टर बन्ने सपना बोकेकी लक्ष्मी थापा बिगत एक दशकदेखि नारायणी उप–क्षेत्रीय अस्पतालमा प्रसुती तथा स्त्री रोग बिशेषज्ञका रुपमा काम गर्थिन् । बुबाआमाको प्रेरणाले उनको डाक्टर बन्ने सपना पुरा भएको उनको अनुभव छ । डा.थापाको आफ्नै अगुवाईमा वीरगन्जमा शुभ ॐ क्लिनिक संचालित रहेकोमा हाल नाम चलेका विशेषज्ञ र उत्कृष्ट स्वास्थ्य सेवा सहितको प्रभु हस्पिटल सञ्चालनमा आएको छ । उनै डा. लक्ष्मी थापा गुप्तासंग निःसन्तानबारे गरिएको कुराकानीको संक्षिप्त अंश :
१) सन्तान प्राप्त नहुनुको प्रमुख कारण के हो ?
सन्तान प्राप्त नहुनुको कारण श्रीमान् श्रीमति दुबैको विभिन्न खालका समस्याले हो । यसको प्रमुख कारणहरु थुप्रै हुन्छन् । खानपान, हावापानी, प्रदुषण जत्स्ता कारणले विर्यमा खराबी, यौन दुर्वलता, विभिन्न खाले औषधीको सेवन लगायत यौनजन्य रोगहरु पनि कारक हुन सक्छन् । यसमा महिलाहरुमा अलिबढी समस्या हुने गर्दछ । जस्तो डिम्ब (अण्डा) ननिस्कने, अण्ड पास हुने नली जाम हुने, पाठेघरको समस्या, महिनवारीमा गडबड जस्ता समस्याले सन्तान प्राप्तिमा समस्या भईरहेको हुन्छ । दैनिक जिवनयापनका जिम्मेवारीले हुने भागदौडका कारण महिलाको अण्ड निस्कने समय र यौन सम्बन्धको समय नमिल्नाले पनि सन्तान उत्पादनमा समस्या हुने गर्छ । कहिले काही श्रीमान् श्रीमती दुवैको अवस्था समान्य हुँदाहुँदै पनि सन्तान नहुने गर्छ । यसलाई मेडिकल टर्ममा पिडियो इडियोपेथीक भन्ने गरिन्छ । यसबेला समस्या पता लाग्न सक्दैन । तर उपचारले सम्भव हुन्छ । त्यसबेला हामीले अण्डा निस्कने समयमा शुक्रकिटलाई प्यूरिफाई गरि सिरिन्जको माध्यमले पाठेघरमा राखेर समेत गर्भ गराउन सकिन्छ ।
२) विज्ञानले कस्ता महिला वा पुरुषले गर्दा सन्तान हुन नसक्ने भनेका छन् ?
विज्ञानले खासमा समस्या समाधानका लागि प्रविवधहरुको आविष्कार गर्छ । जस्ले गर्दा अहिले असम्भव के नै छैन ! महिलाहरुलाई महिनावारी नहुदाँ महिनावारी गराउने, अझ विदेशमा त ५० वर्ष उमेर पुगेर महिनावारी सुकेको अवस्थामा सन्तान चाहनेलाई पुनः महिनावारी गराएर आफ्ना दिदिबहीनीको डिम्ब (अण्डा) सापट मागेर समेत बच्चा सुख दिलाईन्छ । कोही पाठेघर विना जन्मेका महिला हुन्छन् । तिनलाई पाठेघर समेत ट्रान्सप्लान्ट गराएर बच्चा जन्माएका छन् । भनेपछि विज्ञानको जमानामा नयाँ नयाँ प्रविधिले लगभग सबैकुरा सम्भव बनाएको छ । तर कुनै अपवादहरु समेत छन् । त्यो सयमा सय प्रतिशत नै सम्भव त केहि पनि हुँदैन ।
३) तपाईको उपचार गराउन आएका कति महिलाहरुले सन्तान प्राप्त गरेको अनुभव छ ?
खासै हामीले रेकर्डहरु राख्ने गरेका त छैनौँ । तर धेरैजना लाभान्वित भएका छन् । आमा बन्ने आशा मारिसकेका लगभग १५ सयदेखि २ हजार सम्म महिलाहरुले बच्चाको मुख देख्न पाएको हुन सक्छ ।
४) एक अध्ययनका अनुसार सरदर १५ प्रतिशत महिलाले निःशन्तान भएर जीवन यापन गर्नुपरेको परिस्थति छ । हाम्रो परिवेशमा कस्तो प्रकृया अपनाए निःसन्तानले सन्तान पाउँन सक्छन् ?
सुरुमा हामीले दुबै पक्षलाई चेकजाँच गरेर समस्या कसमा छ ? त्यो पत्ता लगाउँछौँ । त्यसपछि काउन्सिलिंग गर्छांै । शुक्रकिट र अण्डा निस्कने प्रकृया बारे जानकारी गराएर समय कसरी मिलाउने त्यो सिकाउँछौं । यदि यी लगायतले सम्भव नभए हामीले पहिलो चरण भनेको आईयुआई उपचार पद्धति तर्फ जान्छौँ ।
५) बच्चा नहुने समस्या पुरुषहरुमा बढी छ कि महिलामा ?
यसमा गरिएको अध्ययनले देखाए अनुसार बच्चा नहुने समस्या महिलाको १ तिहाई, पुरुषको एक तिहाई र संयुक्त वा कारण पत्ता नलाग्नुलाई आधा जति हुने गरेको छ ।
६) खानपानले निःसन्तानमा कत्तिको असर गर्छ ?
यो शारिरिक प्रकृया अन्तर्गतले हुने हो । शारिरिक अवस्था ठिक भएको बेला असर गर्दैन । तर केही खानपान जस्तै मद्यपान, धुमपान, लागु औषध जस्ता वस्तुको सेवनले शुक्रकिट वा महिलाको डिम्ब (अण्डा) उत्पादनमा असर गर्छ । त्यो अवस्थामा खानपानले पनि असर गर्छ ।